विचार

नेपाललाई चाहियो सत्यको पक्षमा उभिने गान्धी

अन्तर्राष्ट्रिय अहिंसा दिवस-गान्धी जयन्ती

असोज १५, २०७६

    भारतका राष्ट्रपिता मोहनदास करम चन्द गान्धीको सम्झनामा र सम्मानमा संयुक्त राष्ट्रसङ्घले केही वर्षदेखि अक्टोबर २ लाई विश्व अहिंसा दिवसको रूपमा मनाउन थालेको छ। जब जब हामी हिंसाबाट प्रताडित हुन्छौँ, तब तब हामी अहिंसाका पुजारी महात्मा बुद्धको याद गर्दछौँ।

    पछिल्लो पटक अहिंसाका लागि आफ्नो ज्यान नै विसर्जन गरेका भारतका राष्ट्रपिता महात्मा गान्धीको याद गर्दछौँ। नेपालको प्रजातन्त्र प्राप्तिका  लागि पनि उहाँ एक प्रेरणाका श्रोत हुनुहुन्थ्यो, जसले आमरण अनसन बस्ने बाध्यतामा रहनु भएका विपी कोइरालालाई राणाको काराबासबाट निकाल्न कडा शब्दमा राणाको प्रतिरोध गरेर पत्र लेख्नुभएको थियो भनिन्छ। 

    नेपालमा आज एउटा निस्वार्थ अहिंसाका लागि सहायता दिन पनि पछि नपर्ने तर सत्यका पक्षमा अडिग रहने गान्धीको आवश्यकता परिरहेको छ। राजतन्त्रको अन्त्यपछि र गणतन्त्रको स्थापनापछि नेपालको राजनीतिले के के न कोल्टे फेर्ला र आमूल परिवर्तनको मेवा खान पाइएला भनेको त स्थिति पहिलेको भन्दा पनि झन् झन् बिग्रँदै गएको आभाष हुन्छ। झन् शान्ति प्रक्रियाका सहयात्रीहरूमै अद्भुत प्रकारको विभाजन पैदा भएको छ।

    हिजो सँगै बसेर र लडेर शान्ति प्रक्रियामा  लाग्नेहरूमा नयाँ विभाजन देखिएको छ। एउटै शान्तिप्रक्रियालाई हेर्ने दृष्टिकोणमा फरक फरक प्रक्रिया र परिणामको अनुमान गर्नेहरू एउटै डुङ्गामा सवार भएका छन्। एउटाको पूर्व अर्कोका लागि पश्चिम भएको छ र एउटाको शान्तिको आधारभूत तत्त्व अर्कोका लागि अशान्तिको आधार भूमि मानिँदै छ। सबैमा अविश्वास र विश्वासको सङ्कट देखा परेको छ। एक अर्काका बिचमा विश्वासको सङ्कट यसरी गहिरिएको छ कि त्यसको पूर्वानुमान लगाउन पनि मुस्किल परिरहेको छ। मुलुक एउटा अव्यक्त दलदलमा फसेको अनुभूत भइरहेको छ। 

    सबैमा अविश्वास र विश्वासको सङ्कट देखा परेको छ। एक अर्काका बिचमा विश्वासको सङ्कट यसरी गहिरिएको छ कि त्यसको पूर्वानुमान लगाउन पनि मुस्किल परिरहेको छ। मुलुक एउटा अव्यक्त दलदलमा फसेको अनुभूत भइरहेको छ। 

    स्वर्गीय मोहनदास करमचन्द गान्धी हाम्रो छिमेकी देश भारतका राष्ट्रपिता हुनुहुन्छ। उहाँ भारतको राष्ट्रपति पनि बन्नुभएन,प्रधानमन्त्री पनि बन्नुभएन, गभर्नर जनरल पनि हुनुभएन तर भारतलाई औपनिवेशिक जन्जिरबाट स्वतन्त्र गराउन सक्षम गर्नुभएकाले उहाँलाई कृतज्ञ भारतीयहरूले राष्ट्रपिता मान्दछन्। महान् भारतीय जनतालाई औपनिवेशिकताको कठोर कारावासबाट उन्मुक्ति दिन गान्धीले अहिंसाको अत्यन्त धारिलो हतियार प्रयोग गर्नुभयो।  हजारौँ ट्याङ्क, लाखौँ बन्दुक र करोडौँ गोलीसँग लड्न उहाँले सत्य र अहिंसाको दुई धारे हतियार प्रयोग गर्नुभयो।

    जुन उदारता र महानताका साथ अफ्रिका र भारतलाई र अझ भनौँ शान्तिपूर्ण समाज स्थापनाका लागि विश्वभरमा गान्धीले नेतृत्व गर्नुभयो। त्यसैले पोरबन्दरमा १८६९ अक्टोबरमा जन्मिएको एउटा बालक महान् भारतको महात्मा गान्धी बन्‍नुभयो, विशाल अफ्रिकाका उद्धारक बन्‍नुभयो ,भूगोलको सीमा चिरेर संसारका उत्पीडित तथा स्वतन्त्रता चाहनेका लागि नै स्वाभिमानी, स्वतन्त्रता प्रेमी, लोकतान्त्रिक मूल्य र मान्यताको धरोहर र अहिंसाको ज्वलन्त द्योतक भएर  विश्व समुदायमा अनुप्राणित हुनपुग्नुभयो। 

    महात्मा गान्धी नरम स्वरमा बोल्ने कडा मानिसको रूपमा चिनिनु भयो। नम्र वाणीले र नरम व्यवहारले नै कहिल्यै घाम नअस्ताउने बेलायती साम्राज्यलाई आफैँ भारतबाट गुन्टा बोकेर हिँड्न बाध्य बनाउनु भयो। त्यसैले त भनिन्छ, गान्धी जी बाणीविहीनको वाणी बन्‍नुभयो। करोडौँ-अरबौँ दुःखी-घरबारविहीन तर स्वतन्त्रता प्रेमी उन्नायकहरूका लागि ज्युँदो ईश्वरका रूपमा प्रेरणाका श्रोत बन्‍नुभयो।

    उहाँ सत्य र अहिंसालाई जीवनको महत्त्वपूर्ण आयाम मान्नुहुन्थ्यो र सत्यका बारेमा  भन्‍नुहुन्थ्यो- सत्य र सदाचारभन्दा ठूलो कुनै धर्म छैन। अनि हिंसा र अहिंसाका बारेमा भन्नुहुन्थ्यो-मलाई विश्वास छ, हिंसाको तुलनामा अहिंसा अनन्तरूपले माथि हुन्छ, दण्डको तुलनामा क्षमा नै धेरै मानवोचित वा मान्छेप्रति न्याय गर्ने एउटा सबल आधार हुन्छ। ...मैले संसारलाई सिकाउनु पर्ने कुनै नयाँ कुरा छैन, सत्य र अहिंसा पर्वत जत्ति नै पुराना कुरा हुन्। ..सत्य एक विशाल वृक्ष हो जसमा जति धेरै गोडमेल गर्‍यो त्यति धेरै फल लाग्दछ। सत्यको खोजीमा जति गहिरो खनियो, त्यति धेरै त्यहाँ गाडिएका मणिरत्नहरु फेला पर्न सक्छन्, अझ धेरै प्रकारका सेवाका लागि त्यो प्रवेशद्वार खुल्दछ। 

    ..सत्य एक विशाल वृक्ष हो जसमा जति धेरै गोडमेल गर्‍यो त्यति धेरै फल लाग्दछ। सत्यको खोजीमा जति गहिरो खनियो, त्यति धेरै त्यहाँ गाडिएका मणिरत्नहरु फेला पर्न सक्छन्, अझ धेरै प्रकारका सेवाका लागि त्यो प्रवेशद्वार खुल्दछ। 

    अहिले विश्वभर हिंसात्मक द्वन्द्वले अनावश्यक महत्त्व पाएको छ। हिंसा र द्वन्द्वका सहारामा विश्व जित्ने, राष्ट्र जित्ने, व्यक्ति तथा समुदायहरूलाई आतङ्कित बनाई आफ्नो अभिष्टता पूरा गर्ने लहर चलेको छ। त्यो लहर दक्षिण अमेरिकामा छ, उत्तर अमेरिकामा छ, अफ्रिका -युरोप र एसियामा देखिएको छ। शान्त भूभाग, दक्षिण पूर्वी संसार पनि त्यसबाट अछुतो छैन।

    हाम्रो दक्षिण एसिया एक प्रकारले आतङ्कवादद्वारा आक्रान्त छ। स्वयम् गान्धीको देश भारत हिंसा-द्वन्द्व-आतङ्कबाट यत्ति प्रभावित छ कि त्यसबाट हुने क्षतिको पूर्ति हुनै सक्दैन। पाकिस्तान हिंसाबाट आक्रान्त छ। अफगानिस्तान क्षतविक्षत भएको छ। श्रीलङ्का दशकौँ देखि हिंसामा पिल्सिएको थियो र भर्खरै मात्र त्यसबाट मुक्ति पाएको देखिन्छ। बङ्गलादेश अस्तव्यस्त छ। भुटानमा झन्डै एकचौथाइ नागरिकहरू राज्य हिंसाबाट पीडित छन्। शरणार्थी भएर नेपालमा रहेका भुटानीहरू दोहोरो हिंसाको मारमा छन् र समुद्रपारको कुनै देशमा पुनः शरणार्थी हुन मानसिकरूपले र भौतिकरुपले बाध्य पारिएका छन्।  नेपाल अझै सशस्त्र द्वन्द्वको घाउमा मलम लगाउनका लागि प्रतीक्षारत छ। बेपत्ता पारिएका परिवारको अझै घाउमा मलम लाग्न सकेको छैन। 

    सशस्त्र युद्धको धङधङीबाट पूर्व विद्रोही, हालको सत्ताधारी तथा संसदको प्रमुख दल नेकपाको मनोविज्ञान अहिंसात्मक उचाईमा पुग्न सकेको छैन। माओवादी जनसेना समायोजित  भएर पनि संविधान निर्माण भएर पुरानो माओवादी नेकपाको रूपमा परिवर्तन भएर सत्तामा आए पनि त्यसबाट टुक्रेको नेकपा माओवादी विप्लवका नाममा सानातिना सशस्त्र विद्रोह र हतियार धारीहरूबाट हत्या हिंसा रोकिएको छैन। त्यसैले हिंसाको राजनीति शान्तिपूर्ण निष्कर्षमा पुग्‍न बाँकी छ भनेर सबैले भन्दै आएका छन्। यसबेला नेपालका शान्ति र अहिंसाको महत्त्व झन् बढेको छ। कोही पनि अब सशस्त्र हिंसाको बाटोमा हिँड्नु नपरोस् भनेर नै शान्तिप्रक्रियाले एउटा बाटो लिएको हो जतिसुकै अप्रिय भए पनि, जतिसुकै खर्चिलो भए पनि। 

    अहिले विश्वभर गान्धीको सम्झना सबैलाई आउन थालेको छ। विश्व समुदायको प्रतिनिधि संस्था संयुक्त राष्ट्रसङ्घले पनि अन्तर्राष्ट्रिय अहिंसालाई संस्थागत संस्कृतिको स्वरूपमा आत्मसात् गर्न अक्टोबर २ लाई गान्धी दिवस अथवा अहिंसा दिवस मनाउने निर्णय गरेको छ। यसले पनि अहिंसालाई विश्व समुदायले महत्त्वपूर्ण हेरेको प्रमाणित हुन्छ। यो अहिंसाको महत्त्व बढेको नै आजको हिंसात्मक प्रवृत्तिको विस्तारका कारणले हो। आज विश्वभर सामाजिक न्याय प्राप्तगर्नका लागि अहिंसाले मात्र सम्भव छ र अहिंसाबाट प्राप्त उपलब्धि कहिल्यै गुम्दैन भन्‍ने विश्वास बढ्न थालेको छ। यो विश्वास गान्धीको देन हो र एक्काइसौँ शताब्दीका लागि यो गान्धीको उपहार पनि हो। उत्तर आधुनिककालका बुद्धको एउटा अवतारका रूपमा गान्धीलाई नै लिन सकिन्छ।

    अब मोहन दास करम चन्द गान्धी-महात्मा गान्धी भारतको मात्र नेता , राष्ट्रपिता वा दार्शनिक रहनु भएन , उहाँ नेल्सन मन्डेलाका पनि प्रेरक व्यक्तित्व हुनुहुन्छ , जोन एफ. केनेकी ,मार्टिन लुथर किङ् जुनियर, डाक्टर ओस्कार आरियस सान्चेज, विपी कोइराला, गणेशमान सिंह, गिरिजाप्रसाद कोइराला, डिल्लीरमण रेग्मी, जवाहरलाल नेहरु, बिली ब्रान्ट,आङ साङ सुकी आदि अहिंसावादी हजारौँ-लाखौँ नेताहरूको, भोकले पीडित, द्वन्द्व पीडित, हिंसापीडित, रङ्गपीडितहरूको दुःख खप्ने प्रेरणाका स्रोत हुनुहुन्छ। 

    विश्वका करोडौँ शोषित-पीडित-घरबारविहीन सर्वहाराहरूलाई मान्छे भएर बाँच्न सिकाउनु भयो-सत्य र अहिंसाको उच्च मूल्याङ्कन गर्ने प्रक्रिया सिकाएर जानुभयो। स्वाभिमानका साथ जीवन बाँच्ने अहिंसाको पाठ पढाएर जानुभयो, जीवनको स्वतन्त्रता भन्दा ठूलो अर्को सत्य छैन भन्ने जीवन दर्शन घोकाएर जानुभयो। 

    गान्धीको जनताप्रति अगाध आस्था र प्रेम थियो , सत्य र अहिंसाप्रतिको अविचल आस्थाले बरु सहिद हुन रुचाउनु भयो, तर कसैसँग असत्यको पक्षमा घुँडा टेक्नु भएन। आफ्नो आस्था विरुद्धमा। उहाँलाई एउटा ज्योतिर्मय अन्तर्दृष्टि भएछ -सहायता प्राप्त गर्नुभन्दा दुई दिन अघिमात्र भन्‍नुभएथ्यो-मलाई कसैले गोली हानेर मार्छ भने पनि म उसलाई छेक्ने पनि छैन, म उसलाई दण्डको भागी गराउन सिफारिस पनि गर्दिन र ऐया पनि भन्दिन। यो भनाई २८ जनबरी १९४८को थियो। ३० जनवरी १९४८मा जब उहाँलाई नत्थुराम गोड्सेले गोली हान्दा-मात्र उहाँका मुखबाट अन्तिम शब्द 'हे राम!! हे राम!! हे राम!!!' मात्र निस्कियो। यो नै एउटा महात्माको महानिर्वाण थियो र गोलीको बदला क्षमा थियो। 

    सुन्दा कुनै रोमाञ्चकारी दन्त्यकथा जस्तो लागे पनि यस्ता महापुरुष हाम्रै छिमेकमा अवतरित हुनुहुन्थ्यो र नेपालको प्रजातान्त्रिक आन्दोलनका लागि पनि उहाँ एउटा प्रेरक व्यक्तित्व हुनुहुन्थ्यो भन्दा हामीलाई झन् उहाँप्रति श्रद्धा जागेर आउँछ। यसैलाई भन्‍नुपर्ने हुन्छ कि अहिंसाको महाबलले जुन  ऊर्जा प्राप्त हुन्छ, त्यो ऊर्जाको श्रोत भनेको क्षमा र प्रार्थना हो भन्ने प्रमाणित हुन्छ गान्धीको जीवनबाट। 

    एउटा महात्मा गान्धीले  अफ्रिकालाई दासताबाट मुक्त गर्ने साहसको बीजारोपण गर्नुभयो, भारतलाई स्वतन्त्र बनाउन सक्नुभयो, विश्वका करोडौँ शोषित-पीडित-घरबारविहीन सर्वहाराहरूलाई मान्छे भएर बाँच्न सिकाउनु भयो-सत्य र अहिंसाको उच्च मूल्याङ्कन गर्ने प्रक्रिया सिकाएर जानुभयो। स्वाभिमानका साथ जीवन बाँच्ने अहिंसाको पाठ पढाएर जानुभयो, जीवनको स्वतन्त्रता भन्दा ठूलो अर्को सत्य छैन भन्ने जीवन दर्शन घोकाएर जानुभयो। 

    आज हामीले पनि अशोकबाट सिक्नुपर्ने भएको छ- जुन दिन उनले रक्त रञ्जित खुँडा क्षिप्रा नदीमा पखालेर जनतासँग क्षमा याचना गरे, र लुम्बिनीमा आएर पीडितसँग क्षमा माग्दै, फेरि कहिल्यै कुनै प्रकारको हत्या हिंसामा संलग्‍न नहुने प्रतिज्ञा गर्दै बुद्धको जन्मस्थलमा शान्ति स्तम्भ स्थापना गरेर योगी बने, अनि मात्र अशोक जन समुदायका महान् सम्राट अशोक बने र आज पनि हामी उनको नाम आदरसाथ लिन्छौँ। अब हामीले पनि गान्धीबाट सिक्ने कुरा के हो भने द्वन्द्व, शस्त्रास्त्र भनेका फगत वर्तमानलाई आतङ्कित पारेर, राज्यसत्ता कब्जा गर्न सकिने क्षणिक प्रवृत्ति मात्र हुन्, असल शान्तिको आधार भनेको त सत्यलाई स्वीकार गर्ने अहिंसा मात्रै हो। सम्राट् अशोकबाट पनि हामीले सिक्ने भनेको हत्या र हिंसाबाट शान्ति कायम गर्न कहिल्यै सकिँदैन, तर अन्तरात्माबाट महसुस गरिएको प्रायश्चित र त्यसबाट प्राप्त क्षमा र अनि सत्यका लागि गरिएको प्रार्थनाबाट अतीतको कालो धब्बा धुन र पुछ्न सकिन्छ। 

    जुन दिन उनले रक्त रञ्जित खुँडा क्षिप्रा नदीमा पखालेर जनतासँग क्षमा याचना गरे, र लुम्बिनीमा आएर पीडितसँग क्षमा माग्दै, फेरि कहिल्यै कुनै प्रकारको हत्या हिंसामा संलग्‍न नहुने प्रतिज्ञा गर्दै बुद्धको जन्मस्थलमा शान्ति स्तम्भ स्थापना गरेर योगी बने, अनि मात्र अशोक जन समुदायका महान् सम्राट अशोक बने र आज पनि हामी उनको नाम आदरसाथ लिन्छौँ।

    हाम्रा मित्र देश भारतका राष्ट्रपिताप्रति हामीले यस कारणले पनि नतमस्तक भएर अहिंसाको पाठ सिक्नु पर्दछ कि कुनै पनि राज्यको जनताका आधारभूत आवश्यकताहरू अहिंसा र शान्तिबाट मात्र पूरा हुन सक्दछन् जसलाई  आधुनिक राजनीतिमा शान्ति र अहिंसाका लागि जनताको मनोबल बढाउने संयन्त्रका रूपमा लिइन्छ।

    महामानव महात्मा गान्धीको आत्माले शान्ति पाइरहोस् र संसारभर संयुक्त राष्ट्रसंघमार्फत् अहिंसाको सुवास फैलिरहोस् , यस अन्तर्राष्ट्रिय अहिंसा दिवसले नेपालका लागि पनि विप्लव माओवादीमा अन्तरात्माबाट निःशस्त्र हुने भावना पलाओस् र यसलाई सबैले क्षमाको रूपमा लिन सकुन्। नेपालको दिगो शान्ति भनेको अहिंसामा नै जोडिएको छ। गान्धीजीबाट हामीले सिक्ने पाठ भनेको अहिंसामार्फत् शान्तिको दिगो स्थापना र व्यक्तिको स्वायत्तताभित्रको सामाजिक न्यायको प्राप्ति नै हो। गान्धी विचार भनेको गाउँलेको विचार हो र सबैमा रहेको शान्तिको धारणाको मूर्तरूप हो।  

हरिविनोद अधिकारी

पत्रकार अधिकारी समसामयिक विषयमा कलम चलाउँछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]