के-के चाहिन्छन् कागजात?

|

काठमाडौंः वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका व्यक्तिका हकवालालाई स्थानीय तहबाटै आर्थिक सहायता प्रदान गरिने भएको छ। वैदेशिक रोजगार बोर्डले बुधबार सूचना जारी गरेर आर्थिक सहायताका लागि स्थानीय तहमार्फत निवेदन दिन सकिने व्यवस्था गरिएको जानकारी गराएको हो।

आर्थिक सहायताका लागि ७ प्रकारका प्रमाणित कागजात आवश्यक पर्ने बोर्डले जनाएको छ। मृतकका हकवालाको बैंक खाता बोर्डमा प्राप्त भएपछि उक्त खातामा रकम जम्मा गरिदिने व्यवस्था गरिएको छ। त्यसैगरि स्थानीय तहको रोहवरमा रकम मृतक परिवारलाई प्रदान गरिने व्यवस्था मिलाइएको छ।

वैदेशिक रोजगार नियमावलीअनुसार वैदेशिक रोजगारमा गएका कामदारहरूको करार अवधि भित्र वा करार अवधि सकिएको एक वर्षभित्र कुनै कारणले मृत्यु भएमा मृत्यु भएको मितिको एक वर्षभित्र आर्थिक सहायताका लागि वैदेशिक रोजगार बोर्डको सचिवालयमा निवेदन दिएमा मृतकका हकवालाले ७ लाख रुपैयाँ पाउने व्यवस्था छ।

आवश्यक कागजात

राहदानीमा गन्तव्य मुलुकमा पुगेको प्रमाणित हुने छाप भएको पृष्ठ र राहदानी बाहकको राहदानी नम्बर, नाम र फोटो भएको पृष्ठको प्रतिलिपि, विदेशस्थित रोजगारदाता कम्पनी, नियोग र अस्पतालको मृत्युको प्रमाण र शव ल्याउँदाको प्रज्ञापनपत्रको प्रतिलिपि पेश गर्नुपर्ने छ ।

यस्तै नेपालमा मृत्यु भएकाको हकमा वैदेशिक रोजगारीबाट फर्केको आगमनको छाप लागेको पृष्ठको प्रतिलिपि, स्थानीय तहले गरेको मृत्युदर्ताको प्रमाणपत्रको प्रतिलिपि, हकवालाको नागरिकता, नाता प्रमाणित र अविवाहित भएकाको हकमा स्थानीय तहबाट आविवाहिताको सिफारिस पत्र आवश्यक पर्ने छ।

स्थानीय तहबाट खुलेको फोटो र बैंकको नाम, शाखा र बैंक खाता नम्बर रुजुसहितको बैंकको पत्र, नजिकको हकवालाको पासपोर्ट साइजको एक प्रति फोटो आवश्यकपर्ने बोर्डले जारी गरेको सूचनामा उल्लेख छ । कागजातहरु सम्बन्धित नगरपालिका र गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतबाट सिफारिस भएको हुनुपर्ने व्यवस्था गरिएको छ । 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.