|

बर्दिया : बाघको आक्रमणबाट ज्यान गुमाएका पहरिया थारूको परिवारलाई राहत रकम हस्तान्तरण गरिएको छ। ठाकुरबाबा नगरपालिका १ भुरिगाउँका पहरीया थारूको परिवारलाई बर्दिया राष्ट्रिय निकुञ्जका तर्फबाट प्रदान गरिने राहत बापतको रकम १० लाख रुपैया मंगलबार हस्तान्तरण गरिएको हो।

बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बराल, ठाकुरबाबा नगरपालिकाका नगरप्रमुख घननारायण श्रेष्ठ, श्री राम नगर उपभोक्ता समितिका अध्यक्ष जनार्दन योगीलगायतको उपस्थितिमा मृतकका परिवारलाई राहत स्वरूप १० लाख रुपैयाँको चेक हस्तान्तरण गरिएको हो।

नेपाल सरकारले नै निकुञ्जका वन्यजन्तु गाउँ पसेर स्थानीयको ज्यान लिएमा १० लाख रुपैयाँ क्षतिपूर्ती प्रदान गर्दै आएको छ। राहत हस्तान्तरणका क्रममा बोल्दै बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले मध्यबर्ती श्रेत्रमा बसोबास गर्ने स्थानियहरु सचेत भएर बस्नुपर्ने बताए।

उनले निकुञ्जसंग सहकार्य गर्दै वन्यजन्तु संरक्षणमा हातेमालो गर्नसमेत आग्रह गरेका छन्। पछिल्लो समय मानव र वन्यजन्तु बीच बढ्दै गइरहेको द्वन्द्व न्यूनीकरणका लागि समेत निकुञ्ज तथा स्थानीय सरकारबाट विविध प्रयास गर्दै आइरहेको उनले बताए।

यस्तै, ठाकुरबाबा नगरपालिकाका नगरप्रमुख घननारायण श्रेष्ठले निकुञ्जसँग सहकार्य गरेर नगरपालिकाले वन्यजन्तुबाट हुने क्षति न्यूनीकरणको पहल थालिरहेको बताए। उनले नगरबाट बजेट विनियोजन गरेर वन्यजन्तुपीडित स्थानमा वन्यजन्तु जंगलबाहिर ननिस्किनका लागि पर्खाल लगाउने काम गरिरहेको समेत बताए।

निकुञ्ज, मध्यबर्ती क्षेत्रका बासिन्दा, स्थानीय सरकार नागरिक लगायतको सक्रिय प्रयासमा मात्रै दिगो संरक्षण सफल हुने बताइएको छ। यसअघि बाघको आक्रमणबाट मृत्यु भएका पहरिया थारूका परिवारलाई काजक्रियाका लागि निकुञ्ज प्रशासन, ठाकुरबाबा नगरपालिका र श्री राम नगर उपभोक्ता समितिबाट ७० हजार रुपैँया प्रदान गरिएको थियो।

गत भदौ ८ गते ठाकुरबाबा नगरपालिका १ भुरिगाउँ बजारको खानेपानी ट्यांकी नजिक करेसाबारीमा बंगुरलाई चारो राख्न गएका बेला ७० वर्षीय वृद्ध पहरिया थारूको पाटे बाघको आक्रमणबाट ज्यान गएको थियो।

घटनापश्चात बाघलाई डाटगन (लठ्याउने सुइ) मार्फत बेहोस बनाउने औषधि प्रयोग गरेर नियन्त्रणमा लिइएको थियो। उक्त घाइते बाघ बूढो तथा अशक्त भएका कारण निकुञ्जको उद्धार कक्षमा उपचारका क्रममै मरेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.