यस्तो छ सजायको व्यवस्था

|

इटहरी : गत सोमबार राति इटहरीमा एक युवतीलाई पाँचजना युवाको समूहले सामूहिक बलात्कार गरे। कोसी राजमार्ग अन्तर्गत विराटनगर लाइनको साथी पेट्रोल पम्प नजिकै गाडीमा काम गर्ने युवाहरूले ती युवतीमाथि बलात्कार गरेका थिए।

बलात्कारमा परेकी पीडित युवतीले प्रहरीलाई जानकारी दिएपछि पाँचमध्ये तीनजना र एक सहयोगीलाई प्रहरीले पक्राउ गरिसकेको छ। पक्राउ पर्नेहरूमा सुन्दर हरैंचा नगरपालिका–१२ का चालक विकास कसाई, झापा सुरुङ्गा नगरपालिका–४ का सुरज थापा, सिराहा लहान नगरपालिका–४ का सुरेन्द्र भुजेल छन्।

बेलबारी नगरपालिका–७ का आशीष कार्कीलाई भने बलात्कारमा सहयोग गरेको कसुरमा प्रहरीले नियन्त्रणमा लिएको छ। उनीहरूलाई घटना भएको केही समयमै पक्राउ गरिएको इलाका प्रहरी कार्यालय इटहरीका प्रमुख धर्मराज भण्डारीले बताए।

घटनामा संलग्न मोरङ बेलबारीका नितेश घिमिरे र ताके भन्ने सुमन फरार छन्। प्रहरीले पक्राउ परेका सबैलाई फौजदारी अभियोगमा अनुसन्धान गर्नेछ। आफूलाई बलात्कार गरेको आरोप लगाएकी युवतीले प्रहरीमा जाहेरी दिई सकेकी छिन।

यस्तो छ सजाय 

मुलुकी अपराध संहिता, २०७४ अनुसार प्रहरीले अनुसन्धान अघि बढाएको छ। अपराध संहिताको परिच्छेद १८ मा करणी (बलात्कार) सम्बन्धी कसुरमा सजायको व्यवस्था गरेको छ। 

संहितामा जबरजस्ती करणीमा पीडितको उमेर हेरेर सजाय तोक्ने प्रावधान छ। दस वर्षभन्दा कम उमेरकी बालिका,  पूर्ण अशक्त, अपाङ्गता भएका वा सत्तरी वर्षभन्दा बढी उमेरका महिला भए पीडकलाई जन्मकैद सजाय हुने प्रावधान छ।

इटहरीको घटनामा पीडितको उमेर २२ वर्ष रहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार सामूहिक बलात्कारको सो घटनामा संहिताको दफा २१९ उपदफा ३ (ङ्ग) अनुसार कारबाही हुने छ। उपदफा ३ अनुसार अठार वर्ष वा १८  वर्षभन्दा बढी उमेरकी युवती वा महिला भए सात वर्षदेखि दस वर्षसम्म सजाय हुने व्यवस्था छ।
सामूहिक बलात्कारमा थप सजाय हुने ऐनको दफा २१९ उपदफा ७ ले स्पष्ट गरेको छ। सामूहिक रूपमा जबरजस्ती करणी गरेमा वा छ महिनाभन्दा बढीको

गर्भवती,अशक्त वा अपाङ्ग वा शारीरिक वा मानसिक रूपमा अस्वस्थ महिलालाई वा हातहतियार देखाई जबरजस्ती करणी गरेमा थप पाँच वर्षसम्म कैद सजाय हुने उल्लेख छ। इटहरीका प्रहरी प्रमुख भण्डारीका अनुसार अभियुक्तहरूलाई हालसम्मको अनुसन्धानबाट १५ वर्ष सम्मको जेल सजाय हुन सक्छ।

संहितामा १० वर्ष वा त्यसभन्दा बढी तथा १४ वर्षभन्दा कम उमेरकी बालिका भए १८ वर्षदेखि २० वर्षसम्म सजाय,चौध वर्ष वा त्यसभन्दा बढी १६ वर्षभन्दा कम उमेरकी बालिका भए बाह्रदेखि १४ वर्षसम्म, १६ वर्ष वा त्यसभन्दा बढी १८ वर्षभन्दा कम उमेरकी युवती भए १० देखि १२ वर्षसम्म र १८ वर्ष वा १८ वर्षभन्दा बढी उमेरकी युवती वा महिला भए सात वर्षदेखि १० वर्षसम्म सजाय हुने व्यवस्था छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.