जेसिबी लगाएर पार गराइँदै गाडी

|

सिन्धुली : दशैं नजिकिदै जादा सिन्धुलीका ग्रामीण सडक वर्षाका कारण बिग्रिएर सवारी आवागमनमा समस्या भएको छ। गएको वर्षाका कारण भत्किएर बिग्रिएका सडकमा फेरि केही दिन अघिसम्म परेको पानीले थप बिग्रिँदा ग्रामीण भेगका सडकमा सवारी आवागमनमा समस्या भएको हो।

जिल्लाका विभिन्न स्थानीय तहको केन्द्रमा जाने मुख्य सडक नै हिलाम्मे हुँदा दशैंमा किनमेल गर्न सिन्धुलीमाढी बजार आउने र काठमाडौं लगायत अन्य ठाउँबाट दशैंका लागि घर फर्केका स्थानीय जोखिम मोलेरै यात्रा गर्न बाध्य रहेका छन।

सदरमुकाम सिन्धुलीमाढीबाट तीनपाटन गाउँपालिकाको केन्द्र लाम्पानटार जाने मुख्य सडक निर्माण हुने चरणमा रहेको र उक्त सडकमा नियमित वर्षाका कारण यातायात आवागमनमा समस्या भएको स्थानीय बताउँछन्। कमलामाई नगरपालिका-१२ को तिनतलेमा सवारी साधनलाई जेसिविले तानेर सडक पार गराउँदै आइरहेको छ।

प्रदेश सरकारको बजेटमा स्तरोन्नती गरिँदै गरेको उक्त सडकमा गाडी नै डुब्ने हिलो छ। यस्तै, घ्याङलेख गाउँपालिकाको केन्द्र वस्तीपुर जाने सडक पनि लामो समयदेखि अवरुद्ध छ। बाटो भत्किएर समस्या आउँदा सहज आवागमन हुन नसकेको गाउँपालिका उपप्रमुख दुर्गा सुनुवारले बताइन्। उनका अनुसार सदरमुकामदेखि पैदल हिँडेर त्यहाँका बासिन्दाले आवागमन गरेका छन्।

यस्तै, हरिहरपुरगढी, मरिण गाउँपालिकामा मदनभण्डारी राजमार्ग निर्माणको चरणमा भएकाले हिलाम्मे छ। सडक भत्किएका छन्। सवारी आवागमनमा समस्या छ। हरिहरपुरगढी गाउँपालिका र मरिण गाउँपालिकामा पनि दशैंको अवसरमा स्थानीयले सास्ती भोगेका छन्।

यता, पुष्पलाल मध्यपहाडी लोकमार्गको विभिन्न ठाउँमा पहिरो गएको छ। शनिबार गएको पहिरोका कारण अवरुद्ध भएको सडक एकघण्टामा खोलिएको प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले बताए। विपी राजमार्ग र मध्यपहाडी बाहेक सबै धेरै सडक अवरुद्ध भएको उनले बताए।

ठूला राजमार्गमा केन्द्र रहेका कमलामाई नगरपालिका, सुनकोशी गाउँपालिका, दुधौली नगरपालिका, गोलञ्जोर गाउँपालिका, फिक्कल गाउँपालिकाको केन्द्रमा सवारी साधन पुग्न सकेका छन् तर, तीनपाटन गाउँपालिका, मरिण गाउँपालिका, हरिहरपुरगढी गाउँपालिका र घयाङलेख गाउँपालिकाका केन्द्रमा यातायातको पहुँच पुग्न सकेको छैन।

केन्द्रमा यातायात पुगे पनि सबै ग्रामीण सडक भत्किएका कारण चाडपर्वको यात्रासमेत अवरुद्ध भएको छ। जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी चक्र बहादुर सिंहका अनुसार बाढी तथा पहिरोका कारण सडक अवरुद्धबाहेक अन्य घटना जिल्लामा भएका छैनन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.