सुरक्षाकर्मीलाई लत्ताकपडादेखि संचारसम्मको अभाव

|
तिंकरमा रहेको नेपाल प्रहरीको चौकी

दार्चुला : नेपाली सुरक्षाकर्मी सीमा रक्षाका लागि खटिन छोडेको छ। दार्चुलाको सामरिक महत्त्वको क्षेत्र तिंकरमा नेपाली सुरक्षाकर्मीको उपस्थिति शून्य छ। त्यहाँ भारतीय सेनाले नेपालको भूमिमा गस्ती गर्छ भने चीनको सुरक्षाकर्मी पनि आफ्नो सीमा जोगाउन वर्षै भरी तैनाथ रहने गरेको छ।

दार्चुलाको तिंकर क्षेत्र तीन देशको सीमाको नेपाली गाउँ हो। जहाँ चीन र भारत जोडिएको छ। त्यहाँ स्थलगत रिपोर्टिङका क्रममा जाँदा असोज पहिलो साता भारतीय सैनिकको गस्ती देखिएको थियो। तिंकर भन्ज्याङसम्म नेपाली सुरक्षा टोली लामो समययता समय नदेखिएको स्थानीयले बताएका छन्।

गृहयुद्धको अन्त्यपछि २०६४ सालमा पुनः स्थापना भएको छियालेक प्रहरी चौकी छमासे प्रहरी चौकीका रूपमा स्थापित भएको छ तर बन्दोबस्तीका समान अभावको कारण देखाएर नेपाल प्रहरीले सीमा क्षेत्रको सुरक्षामा जान नसकेको जनाएको छ।

खलंगा दार्चुला भएर तिंकर जाने घोरेटो बाटो

तिंकर भन्ज्याङ चार हजार २०० भन्दा उचाइमा छ भने छियालेक प्रहरी चौकी करिब तीन हजार ५०० मिटर उचाइको हाराहारीमा छ। आकाशमा बादल लाग्ने बित्तिकै यो क्षेत्रमा हिउँ पर्छ तर त्यहाँ सुरक्षाका लागि खटाइएका प्रहरीलाई हिउँ र उचाइमा लगाउने कपडासमेत उपलब्ध नगराइएको सुरक्षा स्रोतले जानकारी दियो।

चारैतिरबाट हिमाञ्छिद हावा चल्ने ठाउँमा जीर्ण भवनमा २३ प्रहरीको नेतृत्व गर्छन्, लोकेन्द्र पुजारा। ‘छ महिनाको रासन एकमुष्ट लिएर बसेका छौँ न जनतासँग सम्पर्क हुन्छ न अन्य निकायसँग’ उनको भनाइ छ। सीमा क्षेत्रमा प्रहरीको उपस्थिति भए पनि झन्डै ८ किलोमिटर उचाइको क्षेत्रमा गस्ती गर्न नसकिएको उनी बताउँछन्। ‘चौकीभित्र बस्ने अवस्था त सामान्य छैन, हिउँ पर्ने उच्च स्थानमा बिना बन्दो बस्ती कसरी जवान खटाउने?’ उनी प्रश्न गर्छन्। यो क्षेत्रमा संचार संयन्त्रको कुनै व्यवस्था छैन।

सदरमुकामसँग सम्पर्कविहीन

करिब तीन ५०० सयको उचाइमा रहेको प्रहरी चौकी मात्रै नभएर सोही उचाइमा रहेको तिंकर गाउँ र तीन हजार मिटरको उचाइमा रहेको छाङरु प्रहरी चौकी र छाङरु गाउँ पनि सदरमुकामसँग सम्पर्क विहीन छन्।

सदरमुकामबाट उक्त क्षेत्रसम्म पुग्ने बाटो नै नभएपछि चौकी र गाउँ सम्पर्क विहीन भएका हुन्। तिंकरसम्म पुग्ने बाटो नै नभएपछि सदरमुकाम सेना र सशस्त्र प्रहरीको गस्तीसमेत उक्त क्षेत्रसम्म तत्काल पठाउन नसकिएको प्रमुख जिल्ला अधिकारी शंकरबहादुर बिष्टले बताए।

जीर्ण बनेको नेपाल र भारतलाई जोड्ने सीता पुल

‘विगतमा छाङरुसम्म बाटो थियो, पैदल गस्ती पठाएका थियौँ तर यो वर्ष बाटो नै छैन कसरी छाङरु तिंकरसम्म गस्ती पठाउने?’ सशस्त्र सीमा सुरक्षा गुल्म ५० नम्बर हेक्काका गुल्मपती डम्मर बिष्ट प्रश्न गर्छन्। सेनाले खटाएको गस्ती सुन्सेरा पुगेर फर्किएको दुर्गा दल गुल्मका गुल्पपती थापाले बताए। उनले भने, ‘अन्तिम बस्ती पुग्ने बाटो नै छैन कसरी हतियार सहित गस्ती पठाउने?’

छाङरु र तिंकरसम्म पुग्ने स्थानीयले भारतीय प्रशासनबाट अनुमतिपत्र लिएर मात्रै उक्त क्षेत्रसम्म आउन जान पाउँछन्। प्रहरी र सेना बन्दोबस्तिको समान सहित आउन जान सक्दैन। छाङरु र तिंकर जोड्न सडक र बाटो नहुँदा यस्तो अवस्था आएको जिल्ला समन्वय समितिका प्रमुख करवीरबहादुर कार्की बताउँछन्।

बाटो बन्द

पञ्चायत कालमा भारतीयहरूले समेत प्रयोग गर्ने खलंगा तिंकर गोरेटो बाटो विगतको द्वन्द्वकालीन समयदेखि नै अवरुद्ध भएको हो।

‘संकटकालका बेलादेखि बाटो बिग्रन थाल्यो सरकारले मर्मतमा ध्यान दिएन, मर्मतका लागि आएको बजेट पनि सदुपयोग हुन सकेन’, ६७ वर्षीय स्थानीय देवीलाल बुढाथोकीले बताए।

पछिल्लो समय भारतले महाकाली नदी किनारमा निर्माण गर्न लागेको सडकका कारण बाटो पूर्ण रूपमा अवरोध भएको छ। महाकाली नदी किनारमा भारतले सडक निर्माण गर्दा नेपालतिरको बाटो भत्कने र महाकालीले कटान गर्ने गरेपछि यो व्याँस गाउँपालिका २ राप्लादेखि वडा नम्बर १ छाङरु जोड्ने करिब ८० किलोमिटर बाटो पूर्ण रूपमा बन्द भएको व्याँस गाउँपालिका वडा नम्बर १का वडा अध्यक्ष अशोकसिह बोहराले बताए।

अवरुद्ध नेपालको सडक निमार्ण

पञ्चायत कालमा भारतीयले समेत प्रयोग गर्ने बाटो बन्द भए पनि नेपाल सरकारले यो बाटो बनाउन ध्यान नदिएको प्रति व्याँस गाउँपालिका वडा नम्बर १ राकाङमा पसल गरी बस्ने ७६ वर्षीय ललित तोलगाईले खिन्नता व्यक्त गरे। ‘अन्य ठाउँमा सडक बाटो निर्माण हुन लागेको तर व्याँस क्षेत्र जोड्न बाटो नै बन्द भएको छ। सरकारले जनतालाई हेला गर्‍यो', करिब ३७ वर्षदेखि सो क्षेत्रमा व्यापार गर्दै आएका उनले भने।

सम्झनामा पञ्चायत काल

सौका समुदायबाट पहिलो पटक राष्ट्रिय पञ्चायत सदस्य भएर सहायकमन्त्री समेत भएका बहादुरसिंह ऐतवालको पालामा दार्चुला तिंकर घोरेटो बाटो बेनेको व्याँस गाउँपालिका वडा नम्बर १ छाङरुका स्थानीय ६५ वर्षीय जीतबहादुर बोहराले बताए।

सीमा स्तम्भ

देशमा बहुदल आएसँगै व्याँस जोड्ने बाटो भत्कन सुरु गरेको थियो। बाटो मर्मतका नाममा आउने रकम स्थानीय नेता कार्यकर्ताहरूले अपचलन गर्ने गरेको हुँदा पनि घोरेटो बाटो बिस्तारै प्रयोग विहीन हुन थालेको र अहिले भारतले नदी किनारमा सडक बनाउँदा नेपालको बाटो बन्द भएको उनले बताए।

‘पञ्चायत कालमा भारतीय व्यापारी, तीर्थ यात्रीसमेत नेपालको बाटो भएर आउँथे अहिले बाटो नै छैन’, व्याँस गाउँपालिका वडा नम्बर १ राकाङका स्थानीय ललित तोलगाले बताए।

(तिंकरबाट दार्चुलाको सदरमुकाम खलंगा फर्किएपछि तयार पारिएको सामाग्री)

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.