|

पर्वत : गर्मी मौसम सकिएर विस्तारै जाडो मौसम सुरु हुनै लाग्दा पर्वत जिल्लामा मौसम परिवर्तनका कारण हुने सिजनल भाइरल फ्लूबाट संक्रमित हुनेहरूको संख्या उच्च बनेको छ।

जिल्ला अस्पताल पर्वतका मेडिकल सुपरिटेन्डेन्ट डा. शिशिर देवकोटाका अनुसार सामान्य अवस्थामा अस्पतालको ओपिडी कक्षमा दैनिक २० जनासम्म बिरामी आउने गरेको भए पनि पछिल्ला केही दिनयता एक सयभन्दा बढी बिरामी स्वास्थ्य परीक्षणको लागि आइरहेका छन्। घाम लागेको बेलमा वर्षा वा वर्षा भइरहेको बेलामा लाग्ने घामका कारण सिजन परिवर्तन हुने बेलामा सिजनल फ्लूको संक्रमण बढ्ने गरेको उनको भनाइ छ।

भाइरलको संक्रमण हुन लागेका वा भइसकेकाहरूमा उच्च ज्वरो आउने तथा धेरै दिनसम्म पनि कमी नहुन सक्ने, रुघा खोकी लाग्ने, टाउको दुख्ने, मांसपेशी दुख्ने, जोर्नी दुख्ने, घाँटी दुख्ने जस्ता लक्षणहरू देखा पर्ने डा. देवकोटाले बताए। अघिपछि पनि भाइरलको संक्रमण हुने गरेको भए पनि मौसम परिवर्तन हुने बेलामा भने संक्रमण उच्च हुने उनको भनाई छ।

‘सामान्य मौसम भएको अवस्थामा पनि भाइरलको संक्रमण भएको हुन्छ तर त्यो न्यून हुन्छ।’ उनले भने, ‘मौसम परिवर्तनको बेलामा यसका भाइरस बढी सक्रिय हुने गर्छन् र यसको प्रभावमा धेरै सर्वसाधारणहरू परिरहेका हुन्छन्।’  

सिजनल भाइरल फ्लूबाट संक्रमण भएको महसुस भएमा आराम गर्नुका साथै स्वस्थ जीवनशैली अपनाउनुपर्ने चिकित्सिकहरुको सुझाव छ। कतिपय बिरामीहरूले चिकित्सकको सल्लाह बिना नै एन्टीबायोटिक औषधिहरूको सेवन गरेको समेत पाइएको बताउँदै डा. देवकोटाले भाइरलको संक्रमण हुँदासाथ एन्टिबायोटिक औषधिको सेवन गर्नु उपयुक्त नहुने बताए।

‘सामान्य रुघा खोकी लागेकै अवस्थामा एन्टीबायोटीक खाएको पनि पाउने गरिएको छ। आफूखुसी औषधि सेवन गर्ने बानी नै नराम्रो हो’ उनले भने, ‘त्यसमा पनि भाइरलको संक्रमण हुँदा एन्टिबायोटिक नै खानुपर्छ भन्ने छैन। अरू उपायले पनि यसको प्रभावलाई विस्तारै कम गर्दै लैजान सकिन्छ।’

डा. देवकोटाका अनुसार भाइरल फ्लुको संक्रमण भएको बेलामा सकेसम्म झोलिलो खानेकुराहरू खाँदै धेरै आराम गर्नु उपयुक्त हुन्छ। जिल्ला अस्पताल पर्वतमा अघिल्ला वर्षहरूमा भाइरल फ्लुबाट प्रभावित भएकाहरूको भीड लाग्ने गरेको थियो। तर यस वर्ष देखिएको बिरामीको चाप अघिल्ला वर्षहरूको तुलनामा भने झनै बढी रहेको छ। यस वर्ष लामखुट्टेको टोकाइबाट हुने डेंगु रोगको शंका लागेकाहरूले पनि तुरुन्तै स्वास्थ्य परीक्षण गर्न आएका कारण बिरामीको चाप अघिल्लो वर्षको तुलनामा झनै बढेको हो।

‘डेंगु र सिजनल भाइरल फ्लुका लक्षण मिल्दाजुल्दा छन्, केहीमा मात्र फरक छ’ मेडिकल सुपरिटेन्डेन्ट डा. देवकोटाले भने, ‘सामान्य ज्वरो आउँदा पनि डेंगु लाग्यो की? भन्ने शंका मान्दै स्वास्थ्य परीक्षणका लागि बिरामीहरू आउनुभएको छ। पहिले पहिले ३/४ दिनसम्म पनि ज्वरो सहेर बस्ने बिरामी यस वर्ष ज्वरो आएको एक दिनमै स्वास्थ्य परीक्षणको लागि आउनुभएको छ।’

अस्पताल स्रोतका अनुसार भाइरलबाट प्रभावित भएको सुरुकै अवस्थामा आएका बिरामीलाई औषधि सेवनको सिफारिस गरेर घर फर्काइएको भए पनि कतिपय बिरामीलाई भर्ना गरेर इन्जेक्सनको माध्यमबाट औषधि आपूर्ति गर्नु परेको छ। गाउँपालिका र नगरपालिकामा रहेका स्वास्थ्य चौकीहरूमा पनि भाइरलका बिरामीहरूको चाप उच्च रहेको स्थानीय पालिकाका स्वास्थ्य संयोजकहरूले बताएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.