|
नेत्रविक्रम चन्द विप्लव

सर्लाही : नेत्र विक्रम चन्द विप्लव समूहका महोत्तरी जिल्ला इन्चार्जसहित दुई जनाले जिल्ला प्रशासन कार्यालय सर्लाहीमा आत्मसमर्पण गरेका छन्।

आत्मसमर्पण गर्नेमा विप्लव समूहका जिल्ला इन्चार्ज बर्दिबास नगरपालिका–२ का ३८ वर्षीय रूपेश भन्ने रुकबहादुर कार्की र जिल्ला सेक्रेटरी गौशाला नगरपालिका–८ कुशमारी बैलवासका ४६ वर्षीय भीमबहादुर आलेले शुक्रवार साँझ जिल्ला प्रशासन कार्यालय सर्लाहीमा आत्मसर्पण गरेका हुन्।

चन्द समूहले गर्दै आएको क्रियाकलापमा हामीलाई चित नबुझेको भन्दै आजकै मितिदेखि उक्त समूह परित्याग गरी जिल्ला प्रशासन कार्यालय सर्लाही मार्फत नेपाल सरकारसमक्ष आत्मसमर्पण गरेको प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले बताए।

अब उप्रान्त हामीले नेपालको संविधान र प्रचलित कानूनविपरीतका कुनै पनि कार्य गर्ने गराउने छैनौँ र त्यस्तो कार्य गरे गराएको पाइएमा प्रचलित कानूनबमोजिम सजाय भोग्न तयार रहेको भन्दै लिखित रूपमा दुवै जनाले कागजातसमेत बनाएको प्रमुख जिल्ला अधिकारी जिसीले जानकारी दिए।

आत्मसमर्पण गरेका दुवै जना गएको असोज १० गतेका दिन सर्लाही सदरमुकाम मलङ्गवाको शिवसागर चौकबाट पक्राउ परेको थियो। प्रहरी हिरासतमै दुवैजनाले विप्लव समूह प्रत्याग गरी आत्मसर्मपण गरेपछि जिल्ला प्रशासन कार्यालय सर्लाहीमार्फत कानुनी प्रक्रिया पूरा गरेर छाडिएको सर्लाहीका प्रहरी उपरीक्षक गोपाल चन्द्र भट्टराईले जानकारी दिए।

चन्द समूह परित्याग गरेका दुवै जना शुक्रबार साँझ नै सरकारको नेतृत्व गरिरहेको नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन्। दुवैजनालाई नेपाल कम्युनिष्ट पार्टीका सर्लाही जिल्ला अध्यक्ष रेवती पन्तले पार्टी प्रवेश गराएका हुन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.