|

काठमाडौं :  औषधि व्यवस्था विभागले अत्यावश्यक औषधिको मौज्दात राख्न औषधि व्यवसायीलाई आग्रह गरेको छ । विभागले क्यान्सर रोगको उपचारका लागि अति आवश्यक औषधिको अभाव हुन नदिन विभिन्न प्रकारका औषधि मौज्दात राख्ने निर्णय गरेको हो ।  

भिनक्रिस्टाइन, भिनब्लस्टाइन र सिप्प्लाटिन, एफभी नामक औषधि बजारमा  अभाव हुन नदिने र मौज्दात राख्न औषधि व्यवसायीलाई विभागले आग्रह गरेको छ । चाडपर्वका समयमा विशेष गरी क्यान्सर उपचारसम्बन्धी औषधिको बजारमा अभाव हुने गर्दछ ।

औषधि आयातकर्तासित भएको छलफलमा विभागले क्यान्सर, मिर्गाैला, मुटुलगायत रोगसित सम्बन्धित औषधिको मौज्दातका बारेमा विभागलाई जानकारी दिन आयातकर्तालाई निर्देशन दिएको विभागका सूचना अधिकारी सन्तोष केसीले जानकारी दिए। अत्यावश्यक औषधिको विभागले निर्धारण गरेको मूल्यभन्दा बढी मूल्य नलिन पनि विभागले आयातकर्तासित आग्रह गरेको छ ।

यसैबीच, नेपाल रेडक्रस सोसाइटीले प्रदान गर्ने सेवा दशैँका बिदाको दिन पनि निरन्तर सञ्चालनमा आउने भएका छन् । योे अवधिमा विपद्को घटनाको व्यवस्थापन गर्न केन्द्रीयस्तरमा विपद् व्यवस्थापन विभागका उपनिर्देशक हरि मोहन श्रेष्ठको संयोजकत्वमा टोली सक्रिय रहने रेडक्रसले जनाएको छ ।

रक्तसञ्चार सेवा पनि नियमित रूपमै सञ्चालनमा आउनेछ । रक्त सञ्चार केन्द्रमा दैनिक छ जनाले ‘ड्यूटी’ गर्ने व्यवस्था मिलाइएको केन्द्रले जनाएको छ । रक्त सञ्चार केन्द्रमा एक हजार २०० यूनिट रगत मौज्दात राखिएको रेडक्रसका सञ्चार निर्देशक दिव्यराज पौडेलले जानकारी दिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.