|
फाइल फोटो

दमक : दशैं, तिहार तथा छठ लगायतका मुख्य पर्व नजकिएसँगै विभिन्न नाम र बहानामा मेला–महोत्सवको समय पनि शुरु भएको छ। विभिन्न व्यावसायिक तथा सामाजिक संघ संस्थाले सांस्कृतिक प्रवर्द्धन तथा सहयोग संकलनको उद्देश्य राख्दै यस्ता मेला आयोजना गर्ने गरेका छन्।

प्रशासनमा विभिन्न व्यक्ति र निकायमार्फत समेत भनसुन गर्न लगाएर पनि यस्ता मेला र महोत्सवको स्वीकृति लिने गरिएको छ। तर, स्वीकृति लिए पनि बहानाबाजी गर्दै अनुमति लिएको अवधीभन्दा बढी समय पनि मेला सञ्चालन गर्ने गरिन्छ।

नवरात्र शुरु हुनु अगावै प्रशासनमा यस्ता मेला महोत्सवका लागि अनुमति लिन जानेको घुइँचो लागेको थियो। प्रशासनले बर्जीत गरेका खेल नखेलाउने र आर्थिक श्रोत जुटाई विभिन्न सामाजिक काम लगाउने भनिए पनि प्रशासन यस प्रति विश्वस्त हुन सकेको छैन। जस कारण यस वर्ष यस्ता मेला महोत्सव आयोजनाका लागि स्वीकृति दिन कडाई गरिएको जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ।

चाड पर्वको बेला रमाइलोका लागि यस्ता मेला विभिन्न ठाउँमा लगाउन अनुमतिका लागि टोलीहरु आउने क्रम बढेको झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगरले बताए। तर सकेसम्म यस्ता मेलाका लागि प्रशासनबाट अनुमति नदिइएको उनले जनाए। अघिल्लो साता मात्र झापामा सरुवा भई आएका उनले आफू आउनुभन्दा अघि कसैले अनुमति लिएको भए पनि अब प्रशासनबाट त्यस्तो अनुमति नदिइने उनको भनाइ छ।

‘म आउनु अघि कसैले अनुमति लिएको हुन सक्ला’ उनले भने–‘तिनलाई आधार बनाएर अरु पनि धेरै समूह मेला लगाउने अनुमतिका लागि आई रहेका छन् तर अब प्रशासनले यो काम गर्दैन।’ यसरी मेला लगाउन अनुमति लिन आउनेहरूलाई पहिले सम्बन्धित स्थानीय तहको अनुमति लिएर आउन भनिएको र अधिकांश स्थानीय तहबाट वास्तविकता अध्ययन गरेर मात्र अनुमति दिने र नदिने काम हुने भएकाले गलत समूह र व्यक्ति त्यस्तो अनुमति नपाउनेमा आफू ढुक्क रहेको उनको भनाइ छ।

मेला र रमाईलोका नाममा कानूनले बर्जीत गरेका कतिपय खेलहरु खेलाइने, चाडपर्वको समयमा सर्वसाधारण आर्थिक रूपमा झनै समस्यामा पर्ने, राति अबेरसम्म पनि होहल्ला हुने, चर्को आवाजमा माईक बजाएर ध्वनि प्रदूषण गर्ने र कतिपय ठाउँमा मदिरा बेचबिखन हुने र झैझगडा समेतहुने भएकाले यस्ता मेलाहरु सञ्चालनका लागि अनुमति दिन कडाई गरिएको प्रशासनको भनाइ छ। चाडपर्वको बेला शान्ति सुरक्षा दर्विलो बनाउन तथा मेला र रमाईलोको नाममा हुने गलत कार्य रोक्न सवै स्थानीय तह पनि चनाखो हुनु पर्ने प्रजिअ मगर बताउँछन् ।

दमक नगरपालिकाले भने यस वर्ष यस्ता मेला तथा खेलाहरु सञ्चालनका लागि अनुमति नदिएको जनाएको छ। अघिल्ला वर्षमा दमक तथा आसपासमा बिभिन्न व्यक्ति र समूहले विभिन्न प्रकारका मेला लगाउने, खेल खेलाउने जस्ता कार्य गर्दा आधा रातसम्म सहर कोलाहलपूर्ण हुने गरेको थियो। तर यस वर्ष कुनै पनि रमाइलो मेला, मिनी मेला, हाउजी लगायतका खेल तमासाहरू यस पटक सञ्चालनका लागि अनुमति नदिएको नगरपालिकाले जनाएको हो।

रमाइलो मेला, मिनी मेला, हाउजी लगायतका खेल तमासाहरु खेलाउन वा देखाउन सकैले अनुमति वा सिफारिस मागेमा त्यस्तो कार्यका लागि अनुमति नदिने निर्णय भएको नगरपालिकाले जनाएको हो। भदौ २४ गतेको कार्यपालिकाको बैठकबाटनै यस्ता मेला तथा खेला खेलाउन वा देखाउन अनुमति तथा सिफारिस नदिने निर्णय भएको अधिकृत दिनेशकुमार न्यौपानेले जनाएका छन्।

सडकमा कार्यक्रम निषेध

विभिन्न राजनीतिक, सामाजिक तथा व्यावसायिक समूहले सडक किनारामा गर्ने गरेका कार्यक्रम दमक नगरपालिकामा निषेध गरिएको छ। पूर्वपश्चिम राजमार्गलाई लक्षित गरि यस प्रकारका कार्यक्रम गर्न निषेध गरिएको हो। व्यस्त राजमार्ग किनारमानै विभिन्न प्रकारका कार्यक्रम गर्दा दुर्घटनाको जोखिम बढेकाले यस्ता कार्यक्रम गर्न रोक लगाइएको नगरपालिकाले जनाएको छ।

नगरपालिकाको ट्राफिक व्यवस्थापन तथा सहरी सुदृढिकरण समितिका संयोजक प्रजापति सापकोटाले राजमार्गको केन्द्रबाट दुवैतर्फ ८२/८२ फिटसम्म कुनै पनि कार्यक्रम गर्न नदिने निर्णय गरिएको बताए। वडा नं. २ का वडाध्यक्ष समेत रहेका उनले कुनै पनि उद्देश्य राखेर सडक किनारामा कार्यक्रम गर्न रोक लगाईएको बताए।

तर, नगरपालिकाले यस्तो निर्णय गरे पनि कतिपय कार्यक्रमहरु सडक किनारामानै हुने गरेका छन्। नगरको निर्णयबारे सबैलाई थाहा नभएर पनि यस प्रकारका कार्यक्रम हुने गरेको भन्दै सापकोटाले आगामी दिनमा नगरप्रहरी परिचालन गरेर भए पनि सडक किनारामा कुनै कार्यक्रम हुन नदिने बताएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.