|

सल्यान : किसानलाई फलफूल र नगदेबालीमा आत्मनिर्भर बनाउन जिल्लाको कुमाख गाउँपालिकाले विशेष कार्यक्रम सञ्चालन गरेको छ। गाउँपालिका भित्रका ठाउँ अनुसार फलफूल र नगदेबालीको पकेट क्षेत्रका रुपमा विकास गरे विशेष कार्यक्रम सञ्चालनमा ल्याएको गाउँपालिकाले जनाएको छ। 

गाउँपालिका १ स्विकोटमा सुन्तला पकेट क्षेत्र, वडा नं ६ वडागाउँको थापाचौरमा आँप र भुई कटर पकेट क्षेत्र बनाएर कार्यक्रम भई रहेको गाउँपालिका अध्यक्ष दिलमाया बुढाले बताइन। यस्तै वडा नं १ र ४  बदाम पकेट क्षेत्र, अदुवा बेसारको पकेट क्षेत्र, वडा न ७ टिमुर पकेट क्षेत्र, वडा नं ५ को कौक्षे मौसमी तथा बेमौसमी तरकारी पकेट क्षेत्र, वडा नं ६ बडागाउँ अलैची पकेट क्षेत्र निर्धारण गरिएको अध्यक्ष बुढाको भनाई छ। 

पकेट क्षेत्रलाई व्यवस्थित गर्न ७० लाख बजेट विनियोजन गरिएको उनको भनाई छ। ठुलो मात्रामा फलफूल र नगदे बालीमा लागेका किसानलाई लक्षित गरी अनुदानको समेत व्यवस्था गरिएको बुढाले बताइन्। किसानलाई अनुदान दिन गाउँपालिकाले अनुगमन गर्ने र त्यसपछि मात्रै अनुदान दिइने उनको भनाई छ।

किसानको जीवन स्तरमा उकास्न नसक्दासम्म गाउँपालिकाको समृद्धि सम्भव नभएकाले कृषिलाई गाउँपालिकाले पहिलो प्राथमिकतामा राखेको उनको भनाई छ। उनले भनिन् ' जवसम्म कृषि छ। तवसम्म जीवन रहन्छ। उचित प्रविधिको प्रयोग गर्न सकियो भने कृषिले औद्योगिकलाई पनि मात खुवाउन सक्छ।' 

कृषि पेशालाई हरेक किसानको आशाको केन्द्रको रुपमा लिदै आए पनि कृषि व्यवसायलाई उचित अवसर र मूल्यांकन यसले आशातित प्रतिफल दिन नसकेको उनले बताइन्। कृषिलाई केवल कागजी नीति नियममा सीमित राख्ने भन्दा कृषकलाई कृषिमा जीवन छ भन्ने देखाउनका लागि पनि पकेट क्षेत्र निर्धारण गरी अघि बढेको गाउँपालिका उपाध्यक्ष डिल्लीराज जैशीले बताए।

कृषि पेशालाई सम्मानित पेशा बनाउन पनि पकेट क्षेत्र कार्यक्रम प्रभावकारी हुने उनको विश्वास छ। कृषि पेशालाई हालसम्म सम्मानित पेशा बनाउन सकिएको छैन। हामी नेपालीलाई विदेशीको गुलामी गर्न मञ्जुर छ तर स्वदेशमै बसी कृषिकर्म गर्न स्वीकार्य छैन। उनले भने,' विदेशमा पसिना बगाउन तयार हामी नेपालमै कृषि व्यवसाय गर्न इज्जत र प्रतिष्ठा गुमेको महसुुस गर्छाै। कृषि पेशालाई प्राथमिकता दिन विशेष कार्यक्रम ल्याएका छौं।' 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.