बाँके : माघे सक्रान्तिलाई थारू समुदायले नयाँ वर्षको रूपमा मनाए पनि दशैंलाई पनि थारू समुदायले उल्लासमयका साथ मनाउने गर्दछन्। दशैंको धार्मिक तथा सांस्कृतिक मान्यता रहेको छ। दशैंमा आफ्नो कुल देवताका साथै गाउँको भुइँह्यारको पूजा धुमधामका साथ गर्ने प्रचलन थारू समुदायमा अहिले पनि विद्यमान छ।
थारू समुदायमा थरअनुसार फरक फरक तरिकाले दशैंमा पूजा गर्ने चलन छ। जमरा राखेको दिनदेखि दशैं सुरु भए पनि थारू समुदायमा तृतियादेखि दशैंको पूजा सुरु हुने गर्दछ। टेँर्रा थरका थारूले तृतियाका दिन आफ्ना पितृको पूजा गर्दछन्। यो थरका थारूले तृतियाका दिन आफ्ना पितृलाई जमरा चढाएर खानपिन गराउने प्रचलन छ। भने, दहित थरका थारूले पञ्चमीका दिन आफ्ना पितृको पूजा गर्दछन्। यसैदिन दहित थारूले दशैं मनाउँछन्।
पितृलाई के–के दिइन्छ?
थारू समुदायले पितृको सम्मानमा विभिन्न थरिका तरकारीसहित भात चढाउने गर्दछन्। पितृलाई माछा, मासको दाल, भात, तीन या पाँच प्रकारका तरकारी चढाउने प्रचलन रहेको थारू गुरुवा तथा थारू संस्कृतिका जानकार एकराज चौधरीले बताए।
थारू घरको सबैभन्दा पूर्व उत्तरको कोठामा देउथान हुन्छ। उक्त कोठालाई थारू समुदायले डेउह्रार कोन्टी भन्दछन्। डेह्रार कोठामा थारू समुदायको थर अनुसार फरक फरक देउता प्रतिष्ठापन गरिएका हुन्छन्। त्यहि डेउह्रार कोठाका देउतालाई थारू समुदायले पितृको रूपमा पूजा गर्दै आएका छन्।
दशैंमा पितृको पूजा महत्वपूर्ण मानिन्छ। त्यसैले महानवमीको विहान देउता बनाएका धेरैजसो थारूले आफ्नो पितृको पूजा गर्दछन्। यसलाई थारू समुदायले 'पिट्टर डेना' भन्दछन्। पितृलाई पिट्टर पाँच वटा टपरीमा दिइन्छ। 'पाँच वटा टपरीमा भात राखिन्छ भने तीन, पाँच या सात प्रकारका तरकारी पनि दिइन्छ। तरकारीमा माछा अनिवार्य हुनुपर्ने धार्मिक मान्यता छ,' एकराजले भने।
पिट्टर दिएको भात घरका पुरुष र कन्याले खाने प्रचलन छ। तर, पाँच वटा टपरीको भात मध्ये सबैभन्दा उत्तर तर्फ राखिएको भात खान मिल्दैन। उक्त भात पितृका लागि भएकोले खान नमिल्ने तर्क उनको छ। सबैभन्दा उत्तरतर्फ राखिएको भातमा सिंका पनि राखिएको हुन्छ। उक्त टपरीमा देव्रे हातले एक पटक मात्र पस्केर भात राखिन्छ। 'पितृले भोजन गरेपछि दाँत कोट्याउनको लागि सिंका राखिन्छ,' चौधरीले भने, 'पिट्टरको भात खाने बेला टपरीको भात एताउती सारेर खान मिल्दैन र खाई सकेपछि हात त्यहि टपरीमा चुटेर भात ढाकेको पातले फेरि ढाकेर उठ्नु पर्छ।'
पितृलाई पिट्टर दिएपछि डिउह्रार कोठालाई एकछिन सुनसान बनाउनु पर्छ। कोठा सुनसान बनाएपछि पितृहरू पिट्टर खान आउँछन् भन्ने धार्मिक मान्यता छ। 'पितृलाई भोजन गर्न सजिलो होवस् भन्ने मान्यताका साथ झ्याल, ढोका लगाएर एकछिन डिह्रार कोन्टी सुनसान बनाउनु पर्छ,' उनले भने।
पितृलाई दिएको पिट्टर खाइसकेपछि नजिकको ताल, नदी, सागर, खोला र कुलोमा विसर्जन गरिन्छ। महिलाले गीत गाउँदै पिट्टर विसर्जन गर्न ताल, नदी, खोला वा कुलोमा जाने गरेको उनले बताए। 'पिट्टर विसर्जन गर्न समूह बनाएर महिलाहरू ताल, नदी, खोला र कुलोमा जान्छन्,' एकराजले भने, पिट्टर विसर्जन गर्न गएका महिला नुहाएर घर फर्किन्छन्।'
ढिक्री, जमरा र बाबरी फूलले कुल देवताको पूजा
थारू समुदायले महाअष्टमीको बेलुकीपख आफ्नो कुल देवतालाई ढिक्री, बाबरी फूल र जमराले पूजा गर्दछन्। पूजा गर्ने बेला मादल बजाइन्छ। यसलाई थारू समुदायले 'झ्वाङ मर्ना' भन्दछन्। मादलको धुनसँगै ढिक्री, जमरा र बाबरी फूलले कुल देवताको पूजा गरेपछि जमरा लगाउन पाइन्छ।
अष्टमीको रात पछल्डङ्ग्या थरका थारूले आफ्ना कुल देवतालाई भाले, बोका र सुंगुर चढाउने गर्दछन्। तर, अन्य थरका थारूले भने महानवमीको विहान आफ्नो कुल देवतालाई भाले, बोका र सुंगुर चढाउँदै आएको थारू गुरुवा एकराजले बताए। महाअष्टमीको बेलुकीपख देवतालाई ढिक्री चढाउने बेला भलाको पातमा साना–साना ढिक्री राखेर घर र गोठका ढोकाको माथि राख्ने गरिन्छ। यसलाई थारू समुदायले 'पचुई गोस्ना' भन्दछन्। पचुईका लागि छुट्टै ढिक्री बनाइन्छ। 'घर र गोठमा रोगब्याधी आउन नपावस् भन्ने मान्यताले घर तथा गोठमा पचुई राख्ने मान्यता छ,' उनले भने।
महानवमीको विहान पछल्डङ्ग्या थर बाहेकका थारूले आफ्नो कुल देवतालाई कुखुरा, सुंगुर र बोका चढाउँछन्। तर, पछल्डङ्ग्या थरका थारूले घरको पूर्वतर्फ रहने भवानीलाई एउटा कुखुरा चढाउँदै आएको थारू गुरुवा मोहनलाल चौधरीले बताए।
दशैंमा देवतालाई चामलको सेतो टीकाको प्रसाद
महानवमीका दिन थारू समुदायले आफ्नो पितृलाई भोजन गराउने र गाउँको भूइँह्यार थानका देवताको पूजा गर्दै आएको बताए। भूइँह्यारको पूजा गरेपछि गाउँको मटावा (बरघर)सँग टीका लगाउने खुल्छ। थारू समुदायले घर र गाउँका देवतालाई चामलको सेतो टीका लगाउने परम्परा भएको उनले बताए। 'थारू समुदाय प्रकृति पूजक भएकोले देवतालाई सेतो चामलले पूजा गरिन्छ,' उनले भने।
मादलको झ्वाङ मारेर भूइँह्यार थानका देवताको पूजा गरिन्छ। 'भूइँह्यार थानका देवतालाई पनि कुल देवतालाई झैँ बाबरी फूल, मकैको जमरा र चामलको सेतो टीकाले पूजा गरिन्छ,' उनले भने। यसैदिन गाउँको मटावा (बरघर) को घरमा गएर टीका थाप्ने प्रचलन छ। बरघरले पनि गाउँलेलाई चामलको सेतो टीका, बाबरी फूल र मकैको जमरा लगाई दिन्छन्। पछिल्लो समय अन्य समुदायको देखासिकी गरेर थारू समुदायमा पनि रातो टीका लगाउन थालिएको छ। 'बास्तवमा भन्ने हो भने थारू समुदायको परम्परागत टीका सेतो हो, तर पछिल्लो समय रातो टीका लगाउनेको संख्या बढ्दै गएको छ,' मोहनलालले भने।
थारू समुदायको मुख्य दशैं महानवमी
थारू समुदायले महानवमीको दिन गाउँका बरघरसँग टीका लगाए पछि दशैं सकिन्छ। महानवमीलाई थारू समुदायले गाउँले टीका भन्दछन्। 'गाउँका मुली ब्यक्तिसँग टीका लगाउने भएकोले यो दिनलाई गाउँले (गवल्या) टीका भनिएको हो,' उनले भने।
विजयादशमीलाई थारू समुदायले त्यतिधेरै मान्यता दिएको पाइदैन। तर, यो दिन देशबन्ध्या गुर्वावाको घरमा गएर टीका थाप्ने गरिन्छ। गाउँमा रोगब्याधी नआवस्, अन्नवाली राम्रो होवस्, गाउँमा सुखशान्ति छावस् भन्ने हेतुले गाउँको भूइँह्यार थानका देवताको पूजा गर्ने गुर्वावालाई 'देशबन्ध्या गुर्वावा' भन्ने गरिन्छ। देशबन्ध्याको घरमा मकै, पात, रक्सी, जमरा र बाबरी फूल लिएर जान्छन्।
कुनै–कुनै गाउँका मानिस रुपैयाँ पनि लैजाने गरेको मोहलालले जानकारी दिए। 'गाउँका प्रत्येक घरले उठाएको मकै लिएर गाउँबाट दुई जना देशबन्ध्या गुर्वावाको घर जान्छन्। देशबन्ध्या गुर्वावाको घरमा पनि मादल बजाउँदै टीका थाप्ने र आशिर्वाद लिने गरिन्छ,' उनले भने। यसरी विजयादशीमका दिनसम्म थारू समुदायले धुमधामका साथ दशैं मनाउने गर्दछन्।
कुपिन्डोको भेँडाको बली दिने परम्परा
थारू समुदाय प्रकृति पूजक हो। प्रकृतिसँग नजिक रहेकोले यो समुदायले दशैंमा पनि प्रकृतिसँग सम्बन्धित बस्तु देवतालाई चढाउने र वली दिने परम्परा छ। दशैंको महानवमीको विहानीपख आफ्नो कुल देवतालाई बली दिन कुपिन्डोको भेडा बनाएर बली दिने प्रचलन रहेको थारू संस्कृतिका अन्वेषक अशोककुमार थारूले बताए। 'महाअष्टमीको विहान बनाएको कुपिन्डोको भेडा महानवमीको विहान कुलदेवताको अगाडी बली दिइन्छ,' उनले भने।
त्यसैगरि, बेलको हांगामा ढिक्री फलाउने प्रचलन पनि थारू समुदायमा छ। बेलमा फलाएको उक्त ढिक्री डिउह्रार कोठामा भएका कुल देवताको नजिकै राखिन्छ। यसलाई थारू भाषामा ढिक्री फरैना भनिन्छ।
दशैंमा थारू समुदायले आफ्नो कुल देवतालाई चामल चढाउने गरिन्छ। नयाँ चामल आफ्नो कुल देवतालाई चढाएर मात्र खाने परम्परा अनुसार दशैंमा कुल देवतालाई चढाउने गरिएको उनले बताए। 'कुल देवता कहाँ रहेको छिट्नीमा चामलको भण्डारा भरेर चढाएपछि मात्र खाने परम्परा थारू समुदायमा अहिले पनि विद्यमान छ,' उनले भने।
ढिक्री दशैंको मुख्य परिकार
दशैंमा ढिक्री मुख्य परिकारका रूपमा मानिन्छ। खाने र देवतालाई चढाउने ढिक्री फरक हुन्छ। खानका लागि गोलो र लाम्चो ढिक्री बनाइन्छ। भने, देउतालाई चढाउनका लागि अर्कै किसिमको ढिक्री बनाइन्छ।
देउतालाई छिट्वा, काठको भारी जस्तो बनाएको ब्वाझा, लट्ठा, पौवा र लागुबासु ढिक्री चढाउने गरिएको थारू महिला कृष्णी चौधरीले बताइन्। ढिक्री घरकी मुली महिलाले बनाउने गर्दछन्। 'विहानै नुहाई धुवाई गरेर निराहार ब्रत बसेकी महिलाले देउतालाई पूजा गर्ने ढिक्री बनाउने प्रचलन छ,' उनले भनिन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।