कञ्चनपुर ः कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ३ पिपलाडीका थारु समुदायका महिलाले सांस्कृतिक तथा मांगलिक समारोहमा लगाउने परम्परागत पोशाक लेहँगा चोलीको कारोवार हुन थालेको छ। बुढापाकाबाट परम्परागत सीप सिकेर थारु महिलाहरुले कलात्मक लेहँगा चोली बनाउदै आएका छन।
बाँके, बर्दिया र कपिलवस्तुसम्म यस क्षेत्रमा महिलाले बनाएका पोशाकको माग छ। यस बर्ष मात्रै पचास जोर लेहँगा चोली बिक्री गरेर महिलाहरुले आम्दानी हात पारेका छन। जागरुक महिलालाई नगरपालिका ३ ले बुढापाकाको सहायताले तालिम दिएर पोशक निर्माण गर्नमा निपूर्ण बनाएपछि महिला व्यवसायीक बनेका छन्।
अन्य क्षेत्रका थारु समुदायका महिलाले भन्दा यस क्षेत्रका महिलाले सांस्कृति समारोहमा लगाउने पोशाक आकर्षक र बढी बुट्टेदार भएकाले ग्राहकले रुचाउन थालेका हुन्। एक जोर लेहँगा चोली बनाउनका लागि एक हप्ताकै समय लाग्छ सावित्री चौधरीले बताइन्। उनले भनिन् ‘माग धेरै छ। खाना खानका लागि पनि फुर्सद छैन।’
पहिरन बनाउनका लागि कपडाको चयन गर्ने, बुट्टा भर्ने, सितारा जडान गर्ने, हातैले सियोको मद्दतले सिउने, नाप अनुसारको पहिरन तयार गर्ने कार्य गर्नु पर्ने भएकाले समय बढी लाग्ने महिलाले बताएका छन्। परम्परात पहिरन हातैले बनाउनु पर्ने भएकाले समय बढी लागे पनि थारु समुदायलाई चिनाउने पहिलो पहिचानका रुपमा पहिरन रहेकाले यसको प्रचारकै लागि पनि बिक्री गर्न थालेको प्रमिला चौधरीले बताइन्।
परम्परागत पहिरनका लागि कपडा बाह्य क्षेत्र बाट मगाउनु पर्ने र त्यसमा हातैले बुट्टा भर्ने, सितारा लगाउने फुन्ना लगाउने र कटौती काटने लगायतका कार्य गर्दा धेरै समय लाग्ने गरेको उनले बताइन्।
‘दशैंका लागि लेहँगा चोलीको अधिक माग आएको छ। पोशाक बनाउन सिकेका थोरै छाैं। दिनको १२ घण्टा पोशक बनाउन मै हुन्छौं’ उनले भनिन्। महिलाले बनाएका चोली तीन हजार ५०० र लेहँगा पाँच हजारमा बिक्री भइरहेको छ। एक जोर लेहँगा चोली बनाएपछि महिलाले सबै खर्च कटाएर दुई हजार देखि तीन हजार सम्म नाफा हात पार्ने गरेका छन्।
मिहिनेत धेरै भए पनि त्यसको तुलनामा नाफा थोरै रहेको जेनिशा चौधरीले बताइन्। उनका अनुसार परम्परागत पोशक बनाउनका हाल पाँच जना महिला मात्रै व्यवसायिक रुपमा लागेका छन्। बजार बिस्तार भए परम्परागत पोशाक बनाएर नै धेरै जनालाई रोजगारी दिन सकिने वडा अध्यक्ष नरेन्द्रप्रसाद चौधरीले बताए।
विस्तारै थारु समुदायका महिलाले लगाउने परम्परागत पहिरनको माग आउन थालेको छ। यसलाई लघु उद्यमका रुपमा अगाडि बढाउनका लागि योजना बनाउनेतर्फ लागेका छौं' उनले भने, ‘विदेशी पर्यटकले समेत यस पोशाकलाई रुचाउन थालेकाले प्रचार प्रसारमा हाम्रो अहिले जोड छ।’ उनका अनुसार हाल निर्माण हुने टेलिश्रृंखला, चलचित्र र म्युजिक भिडियो निर्माणकर्ताले समेत थारु महिलाको पहिरनको माग गर्न थालेका छन्।
थारु समुदायका महिलाले बुट्टेदार आर्कषक कलात्मक पहिरन दशैंका बेला नाचिने विशेष नृत्य सखिया, माघमा नाचिने मघौटा लगायतमा लगाउने गर्दछन्। अन्य सांस्कृतिक र मांगलिक कार्यमा समेत परम्परागत पोशाक महिलाले प्रयोग गर्दछन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।