|

दमक, झापा : तयारी पोशाक चलाउने चलन बढेसँगै सिलाई व्यवासाय गर्नेहरूलाई भने समस्या परेको छ।

दशैंका बेला अघिल्ला वर्षहरूमा दमकका टेलर्सहरूमा कपडा सिलाउन भ्याई नभ्याई हुन्थ्यो। कमाई पनि मनग्ये हुन्थ्यो। तर यसपालिको दशैंमा दमक बजारका टेलर्सहरूमा सधैंजस्तो व्यापारको चहल-पहल नभएको टेलर्स व्यवसायी बताउँछन्। यस वर्ष दशैंको बेला पनि खासै व्यापार नभएको व्यवसायीको भनाई छ।

दमक ६ स्थित संगम टेलर्सका अनवर अन्सारी भन्छन्,'अहिले ग्राहकले सिलाएको लुगा भन्दा रेडिमेड लुगा नै बढी प्रयोग गर्न थालेका छन्। त्यसकारण पनि टेलरिङ व्यवसायमा भीड भाड नदेखिएको हो।’ अहिलेको युवा पुस्ता सजिलो  र फेशनेवल लुगा लाउन बढी मन पराउँछन्।

लुगाकपडा बढी प्रयोग गर्ने  र फेरिरहनेमा युवा पुस्ता नै हो। बाँकी प्रौढ र ज्येष्ठ नागरिकले त्यति धेरै लुगा प्रयोग गर्दैनन्। यसर्थ पनि सिलाइको काम कम भएको संगम टेलर्सका अन्सारीको तर्क छ। बालबालिका र लेडिजले पनि बढी जसो लुगा रेडिमेड नै प्रयोग गर्ने गर्दछन्। त्यसकारण पनि टेलरिङ व्यवसाय सँधै भन्दामाथि गएर फस्टाएको अवस्था नरहेको तीनै वटा टेलर्सका व्यवसायी प्रष्ट पार्छन्। अहिले बजारमा कस्मेटिक, जुत्ता चप्पल र रेडिमेड कपडाका पसलमा बढी भिडभाड हुने गरेको उनीहरुको भनाई छ।

शरणार्थी नहुँदाको प्रभाव

खासगरी धेरै लुगाकपडा लगाउनेमा युवा पुस्ता पर्दछन्। उनीहरू बजारमा आएका नयाँ नयाँ फेसनेवल लुगा लगाउन मन पराउँछन्। सिलाइको लुगामा युवा पुस्ताको खासै दिलचस्पी देखिँदैन। दमक ६ कै धरान टेलर्सका महमद आले भन्छन्,' विवाह र अन्य अवसरका पाटीमा मात्र युवा सिलाएको सुटको पहिरन लगाउने गर्दछन्।त्यस्तो पाटी सधैंभरि हुँदैन। त्यसैले सिलाईको काम घटेको हो।’

अर्कातर्फ दमकका भुटानी शरणार्थी रहेको अवस्थामा सिलाइको काम धेरै हुने गर्दथ्यो। तर अहिले धेरै शरणार्थी विदेश गएको र थोरै संख्यामा मात्र शरणार्थीहरू रहेकाले पनि व्यापार उल्लेख्य हुन नसकेको बताइन्छ। टेलर्स व्यवसायीहरू चडपर्वको समयमा भन्दा अघि पछिको समयमा पनि व्यापार उस्तै हुने गरेको धारणा राख्दछन्।

सर्ट पाइन्ट भनेको सँधैभरि लगाइरहने वस्त्र हो। त्यसैले चाडवाडमा भन्दा अन्य समयमा ग्राहक कपडा सिलाउन आउने गरेको दमक ६ कै धरान पशुपति टेलर्सका समिर अलिले बताए।

अहिले बजारमा रेडिमेड लुगाकपडाका पसल जताततै रहेका छन्। त्यसबाट पनि बजारमा रेडिमेड लुगा कपडाकै माग बढी रहेको र ती पसलमा कारोबार पनि बढी हुने गरेको बताइन्छ। कपडा किनेर सिलाउन दिँदा पर्ने दाम र रेडिमेड कपडाको मूल्य हेर्दा पनि रेडिमेड कपडा नै लगाउँदा सरल पर्ने कतिपय ग्राहक बताउँछन्।

बजारमा अहिले एउटा पाइन्ट सिलाउँदा प्रतिपाइन्ट ५५० देखि ६५० रुपैयाँ, सर्टको प्रति सर्ट ३ सयदेखि ४५० रुपैयाँ र पाटी सुट सिलाउँदा प्रति सेट ३००० देखि ३५ सय रुपैयाँसम्म पर्ने गरेको छ। त्यस्तै कपडा खरिद गर्दा प्रतिमिटर १००० देखि माथि नै पर्ने भएकाले पनि ग्राहकलाई सर्ट पाइन्ट सिलाउनु भन्दा रेडिमेड लुगा नै किन्न सरल पर्ने गरेको पाइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.