|

बाँके : प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेलले उद्घाटन गरेपछि अत्याधुनिक नेपालगन्ज बसपार्क संचालनमा आएको छ।

नेपालगन्ज उपमहानगरपालिकाले निर्माण गरेको बसपार्क उद्घाटन गर्दै मुख्यमन्त्री पोख्रेलले विकासको दृष्टिले नेपालगन्ज प्रदेश ५ को मुख्य शहर मध्ये एक भएको बताए। उनले संरचना निर्माण भएरमात्र नहुने बताउँदै निर्माण भएका संरचनाको संचालन र संरक्षण महत्वपूर्ण भएको जिकिर गरे। उनले नेपालगन्ज सम्भावना बोकेको पुरानो शहर भएको बताए। 'नेपालगन्ज प्रदेश ५ को मात्र नभई कर्णाली र सुदूरपश्चिम प्रदेशको पनि ब्यापारिक केन्द्र हो’, उनले भने। 

नेपालगन्जमा रहेका सरकारी तथा गैरसरकारी कार्यालय अन्यत्र सर्दैमा नेपालगन्जको विकासमा कुनै असर नपर्ने धारणा राखे। मुख्यमन्त्री पोख्रेलले प्रदेश ५ को औद्योगिक शहरका रुपमा नेपालगन्जलाई विकास गर्न प्रदेश सरकारले योजना बनाएको बताए। 'केही सरकारी कार्यालयहरु विस्थापन हुँदैमा नेपालगन्जको विकासको गतीलाई कसैले रोकेर रोकिने वाला छैन’, उनले भने।

मुख्यमन्त्री पोख्रेलले उपमहानगरपालिकाले संचालनमा ल्याएको नगर बसको समेत उद्घाटन गरे। उपमहानगरले कोहलपुर-नेपालगन्ज रुटमा संचालनका लागि सात वटा बस खरिद गरेको छ। उद्घाटनपछि औपचारिक रुपमा बस संचालनमा आएको उपमहानगरले जनाएको छ। 

उद्घाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री पोख्रेलले नेपालगन्ज विमानस्थल स्तरोन्नतिको प्रक्रियामा रहेको दावी गरे। कोहलपुर-बुटवल र कोहलपुर–सुर्खेत चारलेनको प्रक्रिया शुरु भइसकेको बताए। दुई वर्षभित्र पूर्व-पश्चिम रेलमार्गको काम द्रुतगतीमा भइरहेको उनको भनाई छ। सय विघा जग्गा प्राप्त भएमा नेपालगन्जमा विश्वविद्यालय बनाउने प्रतिबद्धता जनाए।

नेपालगन्जमा स्थापना भएको बसपार्क काठमाडौँ पछि कै आधुनिक र भव्य संरचना सहितको भएको नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा.धवलशमशेर राणाले दावी गरे। उनले दीगोपनाका लागि बसपार्क संचालनका लागि कार्यविधि बनाएर अगाडि बढ्ने धारणा राखे। प्रमुख राणाले नेपालगन्जको विकासका लागि महानगर आवश्यक रहेको बताए। 

एक महिनापछि बसपार्क संचालनका लागि निजी क्षेत्रलाई दिने तयारी भइरहेको बताउँदै उनले निर्माण भएका संरचनाको संरक्षणमा जोड दिइने बताए। उक्त बसपार्क चार विघा १० कठ्ठा जग्गामा फैलिएको छ। बसपार्क निर्माणमा १६ करोड १६ लाख रुपैयाँ खर्च भएको नेपालगन्ज उपमहानगरपालिकाका उपप्रमुख उमा थापा मगरले जानकारी दिइन्।

बसपार्कमा एक सय २३ वटा ठूला र ५६ वटा साना बस राख्न सकिने क्षमता रहेको कार्यकारी प्रशासकीय अधिकृत हरि प्याकुरेलले बताए। बसपार्कमा स्तनपान कक्ष, आपतकालीन स्वास्थ्य सेवाका साथै यात्रु सहायता कक्षको समेत ब्यवस्था गरिएको छ। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.