|

तपाईंको शौचालय कस्तो छ? अनि तपाईं शौच गर्दा कसरी बस्नुहुन्छ? तपाईंलाई यस्तो पनि सोध्‍ने प्रश्‍न हो भन्‍ने पनि लाग्‍न सक्छ। तर यो निक्कै महत्त्वपूर्ण र छलफल गरिनुपर्ने विषय हो। कतिपय मानिस त 'शौचालयमै बसेर पत्रपत्रिका पढ्ने बानी छ' भन्छन्।

अब तपाईं यो लेख पनि तपाईं शौचालयमै बसेर पढिरहनुभएको त छैन? यसमै अल्झिएर तपाईंलाई झन् धेरै समय लाग्‍न सक्छ। सब बिर्सिनुहोस् र तपाईं ठीक पोजिसनमा बस्‍नुहोस्।

यो विषय पहिलो पटक तपाईंलाई हास्यास्पद लाग्‍न सक्छ तर यो सानो कुरा होइन। औषतमा एउटा मानिसले आफ्नो जीवनको ६ महिनाभन्दा धेरै समय शौच गर्न शौचालयमा बिताउने गर्छन्। अनि एक व्यक्तिले हरेक वर्ष करिब १ सय ४५ किलो दिसा गर्ने अध्ययनको निष्कर्ष छ। अर्थात् एउटा मान्छेले हरेक वर्ष आफ्नो शरीरको भारको दुई गुणा बढी शौच गर्छ।

आशा छ, अब भने तपाईंले यो विषय हाम्रो लागि कति महत्वपूर्ण रहेको छ भन्‍ने बुझिसक्नुभयो। त्यसो भए, शौचालयमा बस्‍ने सही तरीका के हो भन्‍ने तपाईंलाई थाहा छ?

अवश्य पनि सबै मानिस शौचालयमा सही ढंगले बस्दैनन्। २० औं शताब्दिको मध्यमा युरोपेली चिकित्सकहरूको एउटा टोलीले अफ्रिकाको ग्रामीण क्षेत्रमा खटिएको थियो। चिकित्सकहरूको त्यो टोली त्यहाँका स्थानीय मानिसहरूको पाचन र पेटसँग सम्बन्धीत समस्या निक्कै न्यून, अझ नभए बराबरको देखेर अचम्ममा पर्‍यो।

विश्वका अन्य कैयौँ विकासशिल देशहरूमा पनि यस्तो पाइएको थियो। चिकित्सकहरूले खानामा भिन्‍नताका कारण मात्र उनीहरूमा पाचन र पेटसम्बन्धी समस्या न्यून देखिएको नभई त्यहाँका मानिसहरूको शौचालय प्रयोग गर्ने तरिका र दिसापिशाब गर्दा बस्‍ने 'पोजिशन'मा कारण भएको भेटाएका थिए।

पश्चिमा देशहरूमा मानिस एकपटक शौचालय जाँदा औषत ११४ देखि १३० सेकेन्ड बिताउने गरेका पाइएको छ। यसको ठीक उल्टो नेपाल, भारतसहित केही विकासशील देशमा भने मानिसहरू शौचालयमा निहुरिएर दिशा गर्दछन्। उनीहरू औषत करिब करिब ५१ सेकेन्ड जतिमै शौच गरेर भ्याउँछन्।

विकासशील देशहरूको शौचालयको डिजाइन पनि निहुरिएर बस्‍नु पर्ने खालको हुन्छ। तर, यो नराम्रो अवश्य होइन। विशेषज्ञहरू शौच गर्दा निहुरिएर बस्ने तरिका नै उत्तम भएको मान्दछन्।

के हुन्छ ?

जब हामी शौचालयको 'सिट'मा बस्छौँ, त्यसबेला मलद्वार ९० अंश डिग्रीको कोणमा हुन्छ जसले हाम्रो मांशपेशीहरूमा दबाब सिर्जना हुन्छ। यसै कारण हामीमध्ये केही मानिसलाई शौचालयमा बस्दा निक्कै समस्या हुने गर्दछ। शौच गर्दाको तनावकै कारण कैयौँ मानिसमा बेहोस हुने, कब्जियतलगायतका समस्या हुने गर्दछ। त्यसो हो भने हामी फेरि पश्चिमाशैलीका शौचालय किन प्रयोग गर्छौ त?

पहिलोपटक साधारण खालको शौचालय सबैभन्दा पहिले करिब ६ हजार वर्षअघि मेसोपोटियामा भेटिएको थियो। सन् १३५ सम्म रोममा १४४ वटा सार्वजनिक शौचालय थिए र बाथरुम जानु सामाजिक चलन जस्तै भएको थियो। पहिलोपटक फल्स गर्ने खालको शौचालय (ट्‍वाइलेट) १५९२ सालमा बेलायतका जोन ह्यारिङ्गटनले बनाएका थिए। उनले त्यसलाई 'द एजेक्स' नाम दिएका थिए।

यसपछि १८८० मा थोमस क्र्यापरले यू बेन्ड को आविष्कार गरे र यो आविष्कारसँगै धेरै कुराहरू बदलियो। यू बेन्डले सिधै ट्वाइलेट तलबाट दिसा निकालिदिन्थ्यो र यसबाट दुर्गन्ध आउन पाउँदैनथ्यो। यस प्रकार पाश्चात्यशैलीको शौचालय युरोपेली सभ्यताको प्रतीक बन्यो। तर, यसले केही समस्या पनि निम्ताएको छ।

स्वास्थ्यमा खतरा

हामीमध्ये धेरै मानिस शौचालयको सीटमा बसेर रिसले यसरी दाँत किट्छौँ र यति धेरै बल लगाउँछौँ कि हाम्रो नसा फुल्छ र मुटुको धडकन पनि बढ्छ। यस्तो कब्जियत, अपच वा पेटको अन्य समस्याको कारण पनि हुन सक्छ। तर, केही विशेषज्ञहरू युरोपियनशैलीको शौचालयका कारण पनि यस्तो भएको हो भन्ने ठान्दछन्। 

सन् १९६० को मध्यतिर कोर्नेल युनिभर्सिटीका प्रोफेसर एलेक्जेन्डर किराले युरापियनशैलीको शौचालयलाई सबैभन्दा नराम्रो डिजाइनमा बनाइएको वस्तु भनेका   थिए। चर्चित अमेरिकी कलाकार एल्भिस प्रेस्लीका चिकित्सकका अनुसार शौचालयमा धेरै बल लगाएकै कारण एल्भिसलाई ह्रदयघात भएको र उनको मृत्यु भएको थियो।

कसरी बस्‍ने

यति ठूला-ठूला समस्याहरूको निक्कै सजिलो समाधान छ। यदि तपाईं युरोपेली शैलीको शौचालय मा बस्नुहुन्छ भने आफ्नो घुँडालाई ९० डिग्रीको सट्ठा ३५ डिग्रीको कोडामा मोड्नुस्। यसबाट तपाईंको पेट र मलद्वारमा कम बल पर्छ र तपाईंलाई शौच गर्न सजिलो हुन्छ।

यसका लागि तपाईं शौचालयमा एउटा सानो पिर्का जस्तो राख्न सक्नुहुन्छ र आफ्नो खुट्ठालाई त्यसमा टेकाउन सक्नुहुन्छ। यदी तपाईं हतारमा वा बाहिर नभई घरमै शौच गर्दै हुनुहुन्छ भने यो पोजिसनमा तपाईं किताब, पत्रपत्रिका जे राखेर पढेपनि समस्या हुँदैन।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.