|

जनकपुरधाम : तराई/मधेसको गाउँदेखि शहरसम्म झिझियाको रौनक बढाएको छ। तराई/मधेसमा दशैं सुरु भएसँगै झिझिया सुरु हुन्छ। अहिले साँझ पर्ने बित्तिकै गाउँघरमा झिझिया गीत घन्किन थाल्छ। महिलाहरू ‘झिझिया नृत्य’ गर्दै दुर्गा शक्तिपीठमा पुग्छन् र घण्टौँसम्म नृत्य गरेर मनोरञ्जन गर्छन्।

झिझिया लोकनृत्य हो। झिझिया नृत्यका लागि महिलाले माटोको घैँटामा मसिना मसिना प्वाल पार्छन्। ती घैँटामा दियो बालेर बीचमा राख्छन्। टाउकोमा कपडा बेरेर बनाएको गेरुलीमाथि राखेर नाच्दै हिँड्ने गर्छन् र अन्य महिलाहरू पनि त्यसरी नै घैँटो टाउँकोमा लिएरसँगै नाच्छन्। यसैलाई झिझिया नृत्य भनि। यो नृत्य हेर्न शक्तिपीठहरूमा घुइँचो लाग्ने गरको छ।

हुन त विगतभन्दा अहिले झिझिया नाच्नेहरू घटेको बुढापाकाहरू बताउँछन्। विगतमा झिझिया नृत्यको शैली र अहिलेको शैली पनि फरक देखिन्छ। पहिले आफैँले झिझिया लोकगीत गाएर महिला तथा किशोरीहरू नाच्ने गर्थे। तर, पछिल्लो समय डिजेको विकास भएपछि पुराना शैली हराउन थालेको हो। अब डिजेमै गीत बनाएर झिझिया नृत्य प्रदर्शन गर्ने गरिएको जनकपुरका समाजसेवी रवीन्द्र अरगरिया बताउँछन्।

झिझिया नाचको सबैभन्दा रोचक पक्ष भनेको टाउकोमा घैँटा बोकेर घण्टौँसम्म नाच्ने कला नै हो। घैँटाहरूमा प्रज्जवलीत दियोले नाचलाई मनोरम बनाउँछ। झिझिया बोकेकी महिलाहरू टाउँको हल्लाइ रहन्छिन्। परम्परादेखि नै के विश्वास फैलाइएको छ भने बोक्सीले घैँटामा बनाइएको सानो सानो प्वालहरू गन्न सक्यो भने झिझिया बोकेकी महिलाको मृत्यु हुन्छ। त्यसैले झिझियामा अनगिन्ती प्वाल पारिएको हुन्छ।

दशैंको १० दिनसम्म झिझिया खेलिन्छ। दशैंमा धामी, झाँक्री र बोक्सीहरू मन्त्र सिद्ध गर्छन् र बोक्सीले कुनै अनिष्ट नगरोस् भनेर झिझियाको आयोजना गरिने गरेको पनि संस्कृतविदहरू बताउँछन्। कथित बोक्सी प्रथाबाट यसको प्रारम्भ भएको मानिन्छ।

दन्त्य कथाका अनुसार एउटा राजाका भाञ्जाले उनकी रानी अर्थात् माइजूलाई प्रेम गर्न थालेका थिए। रानीले पनि भाञ्जालाई प्रेम गर्थिन्। राजाले जब दुवैको सम्बन्धबारे थाहा पाए, अनि उनले भान्जालाई खतरनाक जंगलमा लगेर छोडिदिए। उक्त जंगलमा बस्थिन् एउटी बोक्सी। जसले राजाको भाञ्जालाई जीवन दिइन्। पछि राजालाई मारेर उक्त देशको राजा उनको भाञ्जालाई बनाइदिइन्। त्यसपछि त्यो राज्यमा ती बोक्सीलाई गाली गर्न थाल्यो र यही दन्त्य कथाको आधारमा झिझिया नृत्यको सुरुवात भयो। त्यसैले झिझिया नृत्यमा बोक्सीलाई गाली गर्ने चलन छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.