|

सिन्धुपाल्चोक : जिल्लाका सुनकोशी, इन्द्रावतीलगायतका नदीहरू नदीजन्य पदार्थ उत्खनन् खुला गरिएको छ। यही असोज १ गतेबाट सिन्धुपाल्चोकका सुनकोसी र इन्द्रवती नदीहरूबाट नदीजन्य पदार्थ उत्खनन् गर्न खुला गरिएको हो। 

वर्षालाई लक्षित गरेर असार १ गतेबाट नदीजन्य पदार्थ उत्खननमा रोक थियो। जिल्ला अनुगमन तथा समन्वय समितिको बैठकले असोज १ गतेबाट नदी उत्खनन् खुला गरिएको जिल्ला समन्वय समितिको प्रमुख कृष्णगोपाल तामाङले जानकारी दिए। 

'वर्षामा नदीमा बाढी आउने समयमा स्काभेटरको प्रयोग गरी व्यापक उत्खनन् हुने भएकाले वर्षामा नदी उत्खननमा रोक लगाएका थियौँ', प्रमुख तामाङले थाहाखबरसँगको कुराकानीमा भने, ‘तीन महिनापछि हामीले नदि उत्खनन् खुलाएका छौँ। अव स्थानीय तहमार्फत कसरी उत्पादन गर्न दिने निर्णय उसैलाई जिम्मा दिएका छौँ।’

वर्षायामको स्थानीय तहले नदी उत्खननमा रोक लगायको भए पनि दिनरात स्काभेटर लगाएर नदीजन्य पदार्थ उत्खनन् भइरहेको थियो। गतवर्ष वर्षामा पनि जिससले नदी उत्खननमा रोक लगाएको थियो। तर, तस्करहरूले दिउँसो काम नगर्ने र रात परेपछि नदिमा स्काभेटरको प्रयोगबाटै नदी दोहन गर्ने गरेका थिए। सोही प्रक्रिया यसवर्ष पनि दोहोरिएको हो।

जिससले स्थानीय तहलाई जिम्मा लगाएको हुनाले स्थानीय तहले ठक्का प्रक्रियामार्फत नदी उत्खनन् खुलाएका छन्। अहिले सिन्धुपाल्चोकका स्थानीय तहले नदीउत्खननका लागि ठेक्का प्रक्रिया खुला गरिसकेको जिसस प्रमुख तामाङको भनाई छ। 

नदीजन्य पदार्थ निकाल्न प्रदेश र स्थानीय सरकारको मापदण्डमा रहेर मात्रै उत्खननको जिम्मा दिइएको चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख अमानसिं तामाङले जानकारी दिए। मापदण्ड र कार्यविधिभित्र रहेर मात्रै नदि उत्खनन् गर्न दिइएको उनको भनाई छ। 

सिन्धुपाल्चोकका मेलम्ची, चौतारा साँगाचोकगढी, बाह्रविसे नगरपालिका, इन्द्रावती, बलेफी, जुगल र सुनकोसी गाउँपालिकाको मख्य आन्तरिक आम्दानीको स्रोत नै नदीजन्य पदार्थलाई लिइएको छन्। स्थानीय तहले मुख्य आम्दानीको स्रोतका रुपमा नदीजन्य पदार्थलाई लिँदा नदी उत्खनन् व्यापक रुपमा बढेको हो।

आम्दानीको मुख्य स्रोत भएकाले जिल्लाका स्थानीय तह आफैँले मापदण्ड विपरित नदि दोहन ठेक्का दिने गरेको स्रोतको दावी छ। नियमविपरित स्थानीय तहले आफू खुसी ठेक्का आह्वान गरेर नदी दोहनको स्वीकृति दिँदा सिन्धुपाल्चोकका नदीको धार नै परिर्वतन भएको हो। मनलाग्दी रुपमा नदी उत्खनन् गर्दा सिन्धुपाल्चोकका अधिकांश नदीको धार नै परिर्वतन भएको हो। 

नदीजन्य सामग्री उत्खनन गर्नको लागि प्रारम्भिक वातावरणीय परीक्षण (आइइइ) को समेत ख्याल नगर्ने गरेको पाइएको छ। स्थानीय तहले अवैध रुपले नदी दोहनको प्रमाणपत्र ठेक्कामा दिदाँ वातावरणीय संरक्षण असर पारेको छ।

मापदण्डविपरित अवैध रूपमा क्रसर वा अन्य क्षेत्रबाट सिन्धुपाल्चोकको सुनकोशी, इन्द्रावतीलगायतका नदीहरूमा दोहन हुँदै आइरहेको छ। नदी उत्खनन्मा उच्च तहको देखि तल्लो तहका नेता कार्यकर्ता, व्यापारी, जनप्रतिनिधि, पुलीस, प्रशासनलगायतको जिम्मेवार निकाय संग्नता रहदै आएको छ। सबै तवरबाट अवैध उत्खननको छुटपुर्जी दिएपछि सिन्धुपाल्चोकमा व्यापक रुपमा नदी दोहन मौलाएको पाइन्छ। 

सुनकोशी, इन्द्रावतीलगायतको अन्य साना खोलानालाहरुबाट स्काभेटरको प्रयोग गरेर बालुवा, गिट्टी, रोड, ढुङ्गालगायतको नदिजन्य पदार्थ उत्खनन् भैरहेका छन्। नदीमा अबैध रुपमा स्काभेटरको प्रयोग गरिरहेका जो कोहीले पनि प्रत्यक्ष रुपमा देख्न सकिन्छ। यस्तो अवस्था देख्दा समेत सम्बन्धित निकाय आँखामा पट्टी बाँधेर बसेको स्थानीयको आरोप छ। 

नदीको अन्दाधुन्दा उत्खननले नदीमा रहेको जलचर प्राणीलाई समेत असर पारेको छ। उत्खननका कारणले सुनकोशी नदीमा हुने गरेको र्‍याफ्टिङ व्यवसाय संकटको अवस्थामा पुगेको व्यवसायी बताउँदै आएका छन्। सरकारले २०२० मा मनाउन लागको पर्यटन वर्षलाई समेत नदीको कुरुपताले धक्का पुग्ने स्थानीयको भनाई छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.