समाज

दशैंमा घुम्‍न नछुटाऔँ मुगुका यी धार्मिक तथा पर्यटकीय स्थल
SHARES

असोज १९, २०७६

    मुगु : कर्णाली प्रदेशको १० जिल्ला मध्ये एक जिल्ला हो मुगु जिल्ला। यस जिल्ला धार्मिक तथा पर्यटकीय स्थलले भरिपूर्ण छ। तर प्रचारप्रसारको अभाव भौगोलिक विकटताले यहाँ रहेका धार्मिक ता पर्यटकीय स्थल गुमनाम जस्तै छन्।

    मुगु जिल्लामा नेपालको सबै भन्दा ठूलो ताल, बिश्वका चारधाम मध्यको जेठो धाम छायाँनाथ धाम, एक रुपैयाँको नोटमा अवस्थित चंखेली हिमाल, कान्जिरोवा हिमाल, चावाचुली हिमाल, कर्णाली प्रदेशको कुल देवताको जेठो भाई  थार्प मष्टा, खेस्ममालिका, क्रणमोक्ष,कालीकामालिका मन्दिर,पर्यटकीय स्थल अर्पर मुगु, सोरु तातापानीलगायत धेरै धार्मिक तथा पर्यटकीयस्थल छन्। तर प्रचार प्रसार नहुँदा ओझलमा छन्।

    नेपाल सरकारले भ्रमण वर्ष २०२० मनाइरहँदा यस्ता धार्मिक तथा पर्यटकीय स्थलको भ्रमण गर्ने प्रेरित गरे गुम्नाम भएका यस्ता पर्यटकीय स्थलको प्रचारप्रसार हुने र पर्यटक भित्राउन सजिलो हुने देखिन्छ। जस्का लागि पहिलो प्रथामिकता स्थानीय सरकारले गुरुयोजना बनाई, प्रदेशमा जानकारी गराउने र प्रदेशले सघीय सरकारमा घच्चघचाई गुरयोजना निमार्ण गरे समृद्ध नेपला सुखी नेपालीको परिकल्पनाले सार्थकता पर्यटन ब्याबसायी बताउँछन्।

    दशैंको मुखमा धेरै लाई फुर्सद हुन्छ र फुर्सदको समय घुम्न जाने इच्छा भएका हरुका लागि मुगु विकट छ। तर मुगु पुगिसके पछि घुम्ने लायकका स्थान धेरै छन्।

    रारा ताल 

    समुन्द्री सतहबाट २ हजार ९७२ मिटर उचाइमा रहेको राराले दिनमा निकै चोटी रङ्ग फेर्छ। कहिले निलो, कहिले बैजनी, कहिले सिम्रिक जस्तो अनि कहिले खैरो। मौसम अनुसार दिनमै चार पाँच चोटी फेरिने राराको पानीको रङ्गमा मिसिन आइपुग्छ सिन्जे र कान्जिरोवा हिमालको छाँया। अनि रारा साँच्चिकै धर्तीको स्वर्ग, स्वर्गको अप्सरा देखिन्छ। काठमाडौंबाट पहिलो चोटी रारा ताल घुम्न आएका बिशाल हमालले पनि यस्तै अनुभव गरे।

    मुगु सदरमुकाम गमगडीको पश्चिमपट्टि १० किमी लम्बाई र ३ किमी चौडाइमा फैलिएको १६७ मिटर गहिरो रारा हेर्ने पर्यटक बढेका छन् अचेल। २०६९ साल पुस १ गते सडक उद्घाटन भई सदरमुकाम गमगडीसँग जोडिएको रारामा  यसको एकवर्ष पछि नियमित रुपमा गाडी चल्न थाल्यो। त्यसयता रारा आउनेलाई सजिलो भयो। ‘रारा पुग्नेहरु सदरमुकाम गमगढी पनि झर्छन्। 

    रारामा लेकाली वनस्पति तथा जीवजन्तुहरु प्रशस्त पाइन्छन्। हिउँदमा तालको किनारा हिउँले सेताम्मे देखिन्छ भने साउनदेखि असोजसम्म विभिन्न जातका रंगीचंगी लेकाली फूल र वनस्पतिले बुट्टेदार गलैंचा बिछ्याएजस्तो देख्न पाइन्छ। चैत्रको अन्तिम सातादेखि जेठको मध्यसम्म लालीगुराँस तथा चिमालोको रातो र सेतो फूलले रारा हेर्न जाने जो कोही पनि थकाइको प्रवाह नगरी मन्त्रमुग्ध हुन्छन्।

    कुल १०६ वर्ग किलोमिटरमा फैलिएको राराले छिनछिनमा रंग बदलेको अनौठो दृश्य देख्न पाइन्छ। १६७ मिटर गहिरो यो तालमा लेकाली जातको असला माछा पाइन्छ।

    ताल किनाराको जंगलमा कालिज, डाँफे, ढुकुरलगायतका थुप्रै लेकाली चरा एवं पानीहाँसले राराको सुन्दरता झनै बढाएका छन्। यहाँ पाइने जंगली जन्तुहरूमा कस्तुरी मृग, रतुवा, झारल, बँदेल, मलसाप्रोदेखि वन्यजन्तु रेडपाण्डा समेत भेटिने गर्छ। रारालाई प्रकृतिको ऐनाभन्दा फरक नपर्ला। किनभने आकास र ताल वरिपरिको दृश्य एकैचोटि छर्लंग देख्न सकिन्छ। 

    छायाँनाथ धाम

    कर्णाली अञ्चलको मुगु जिल्लाको पूर्वी क्षेत्र डोल्फु गाविसमा पर्ने छायानाथ धाम पुस्तौदेखि नै दुई धर्मालम्बीको संगमस्थल बनेको छ। छायानाथको स्थापना, त्यसको धार्मिक तथा पौराणिक महत्वका विषयमा बौद्ध धर्म र हिन्दु धर्मका धर्मालम्वीले आ आफनै विश्लेषण  र तर्क गरिरहेका छन्। मुगु जिल्लाको सदरमुकाम गमगढीदेखि तीन दिनको पैदल यात्रा पछि पुगिने छायानाथ धाम समुन्द्री सतहदेखि पाँच हजार मिटर माथिको उचाइमा अवस्थित छ।

    केदार नाथ,बद्रिनाथ, पशुपति नाथ भन्दा छायानाथलाई जेठो धामका रुपमा मानिन्छ भने यसको अर्को स्वरुप मानसरोवर पनि हो। छायानाथबाट रारा ताल हेर्न सकिन्छ भने कान्जिरोवा लगायतका हिमालहरूको समेत दृश्यावलोकन गर्न सकिन्छ। महादेवले शतिदेवीको शव बोकेर राराको बाटो हुँदै छायानाथ गएकाले  छायानाथ धाम र हिमालको प्रतिविम्व रारामा पर्ने भएकाले कतिपयले रारालाई समेत तीर्थ स्थलका रुपमा मान्ने गर्दछन्।

    हरेक १२ वर्षमा बाँदर वर्षका रुपमा बौद्ध धर्मालम्वीले छायानाथको जन्म वर्ष मनाउने गर्दछन्। यो वेला परम्परागत पहिरन लगाएर बुढा पाकादेखि बाल बच्चा सबै छायानाथ जाने गर्दछन्। छायानाथमा पुगेर नाचगान पुजा पाठ गर्ने पनि गर्दछन्। यता हिन्दु धर्मालम्बीले पनि जनै पूर्णिमाका बेला नै छायानाथमा पुगेर,शिव, महादेवको रुप मानेर पुजा पाठ गर्ने, आ आफ्ना कुल देवताका मूर्तिहरू नुहाएर शुद्ध पार्ने काम समेत गर्दछन्।

    छायानाथको पानीलाई शुद्ध तथा जल मानेर ल्याउने र फलफूलका रुखमा छर्ने, छायानाथ पुग्न नसकेककाहरूलाई जल दिने गर्दछन्। देवी देवताका मूर्तिहरू छायानाथबाट शुद्ध पारेर ल्याए पछि जनै पूर्णिमाको विहान आफ्नो गाउँमा पुगेर देवी देवताको पूजापाठ र धामी नाच्ने बैदिक परम्परा छ।

    धार्मिक ग्रन्थ किवंदन्ती अनुसार महादेवले शति देवीको मृत शरीरलाई बोकेर डुल्दै जाने क्रममा शति देवीको अन्तिम शेष पतन भएको स्थान नै छायानाथ धाम हुन पुगेकाले हिन्दुको पवित्र धाम मानिएको विश्वास गरिदै आएको छ। छायानाथ दर्शन गर्दा मनले सोचेको कुरा पुरा हुने, देवी देवता पाइने र पुण्य कमाउने भन्दै हजारौं तीर्थ यात्री छायानाथ पुग्ने गर्दछन्।

    भारतको काशी जानु पहिले छायानाथको दर्शन गर्नु पर्ने हिन्दुहरूको मान्यता छ। कासी दर्शन गर्न जाँदा त्यहाका पण्डितले छायानाथ गएको छ की छैन भनेर सोध्ने र नगएको भए बालुवाको थुप्रोले छायानाथको प्रतिक बनाएर दर्शन गराएपछि मात्र कासीको दर्शन गराउने गरेको ब्राह्माणको भनाई छ।

    ऋणमोक्ष माई 

    समुन्द्री सतहदेखि  ४ हजार ३ सय मिटरको उचाइमा रहेको प्रशिद्ध तीर्थस्थल ऋणमोक्ष पनि धार्मिक तथा पर्यटकीयस्थल भरिपूर्ण छ। जिल्लाको छायानाथ रारा नगरपालिका १२‚ मा पर्ने ऋणमोक्ष मन्दिरमा जनै पूर्णिमाको अवसरमा पूजा तथा विभिन्न संस्कार गर्न पुजारीसहित हजारौं भक्तजनहरू ऋणमोक्ष पुग्ने गर्दछन्।

    आफ्नो मनोकांक्षा पूरा गर्न बर्षेनी त्यहाँ जाने गरेको पाइन्छ। धर्मकुण्ड‚ अन्नपूर्णेश्वरी‚ गौकुण्ड‚ रक्तकुण्ड र तारा दह नामका पाँच वटा कुण्ड  भएको ऋणमोक्ष तीर्थस्थलमा कुल देवता शुद्ध पार्न‚ वर माग्न, ब्रतवन्ध गर्न‚ मृतकको अस्तु सेलाउन तथा पिण्ड प्रदान गर्न र चौपाया हत्याको पाप कट्टा गर्न भक्तजनहरू ऋणमोक्ष पुग्ने बिश्वास छ। 

    चंखेली हिमाल

    साविककै रुगा गाविसमा तथा छायाँनाथ रारा नगरपालिका १४ मा अवस्थित चंखेली हिमाल छ। नेपाली १ रुपैयाँको नोटमा अंकित चंखेली हिमाल समुद्री सतहबाट २९ सय मिटरको उचाइमा रहेको छ। हुम्ला र मुगु जिल्लाको दोशाँधमा रहेको उक्त चंखेली हिमाल साविकको कर्णाली अञ्चलकै ठूलो हिमालका रूपमा लिइन्छ। २०३५ सालमा तत्कालीन राजा वीरेन्द्रले २ दिनसम्म शिकार गरेर रमाएका थिए।

    सदरमुकाम आसपासमा रहेका पर्यटकीयस्थान रारा, चंखेली र छायानाथ तीर्थस्थल मुगुका मौलिक एवं प्राकृतिक गहनाका रूपमा रहेको चंखेली हिमालको बेवास्ताका कारण पर्यटकीयस्थान भएर पनि पर्यटकका लागि अपरिचित भएको मुुगु नागरिक सञ्जालका अध्यक्ष चित्रबहादुर मल्ल बताउँछन्।

    चंखेली हिमाल हेर्नमा मात्र आकर्षण छैन। त्यस आसपासका बाम गाउँ, फाइपाटालगायतका गाउँ र चिर कालिज, कस्तुरी मृग, गुराँस, भोजपत्रका रुखलगायतका वनस्पति र गोदेगाड खोला पनि मुख्य आकर्षकस्थल बनेका छन्। सदरमुकाम गमगढीबाट ३ घण्टाको पैदल दूरीमा रहेको उक्त चंखेली हिमाल पुग्न सकिन्छ। 

    कान्जिरोवा हिमाल

    कान्जीरोवा हिमाल मुगुमकामरोगँ गाउँपालिकमामा पर्दछ। यो हिमालले मुगु र डोल्पाको सीमामा अवस्थित छ। यस्ता मनै लोभाउने अरु हिमाल पनि नामाकरण भएका छैनन् । यो हिमाल पनि समुन्द्र सतहदेखि ५ हजार फिटको उचाइमा अवस्थित छ। मुगु यस्ता हिमाल तालतलैया धेरै छन्। तर यस्ता हिमाल ताल तलैयाको खोजी भएका छैनन्। संरक्षण भएको छैन। कान्जीरोवा हिमालको छायाँ रारा तालमा पनी पर्छ। 

    कोइकी हिमाल 

    कोइकी हिमाल नेपालको परिवेशमा के हो थाहा छैन। तर बिदेशीको नजरमा के छ थाहा छैन। तर बिदेशी पर्यटक कोइकी हिमाल वर्षेनी खोज्दै आउने र कोइकी हिमाल चढ्ने गरेका मुगुमकामरोगं गाउँपालिका २ का स्थानीय छेतुङ लामा बताउछन्। उनका अनुसार जापानी, फ्रान्सेली अमेरिकनलगायत बिभिन्न देशका बिदेशी पर्यटक आउछन्। कोइकी हिमाल चढ्न खोज्छन्। तर आजसम्म चढ्न नसेका उनी बताउछन्।

    सदरमुकाम गमगढीबाट झण्डै तीन दिन हिड्यो भने कोइकी हिमाल पुगिन्छ। कोइकी हिमालबाट चीनको केही दृश्य, डोल्पा र मुगुका विभिन्न क्षेत्रको अवलोकन गर्न सकिन्छ। समुन्द्री सतहबाट झण्डै सात आठ हजार मिटरको उचाइमा पर्ने हिमालभित्र पनि कोइकी हिमाल पर्छ। तर हामीले पर्यटकीय सम्भावनालाई चिन्न सकेका छैनौं।

    थार्प मस्टो 

    कर्णाली प्रदेशका जिल्लामा कुल देवताको रुपमा मस्टोलाई पुर्जा गर्ने चलन छ। कणाली प्रदेशका सबै जिल्लामा मस्टोको मन्दिर (थान) छन्। तर सबै भन्दा जेठो भाइ मुगुको छायाँनाथ रारा नगरपालिका १३ थार्प गाउँमा रहेको मस्टो लाई मानिदै आएको जानकारहरू बताउँछन्। ९ पुस्ता अगाडि १३ सय सालमा भारतको पिथौरागडबाट मस्टो देवता आई थार्प गाउँको रुख मुनि बसेको बृद्धहरूको भनाई छ।

    थार्प मस्टाको मेला बैशाख पूर्णिमा, साउन पूर्णिमा, जुहारे पूर्णिमा, कार्तिक पूर्णिमा, माघ पूर्णिमा र भैल्या पूर्णिमा गरी वर्षमा ६ पटक भब्य रुपमा मेला लाग्ने गर्दछ। मस्टोको दर्शन गरेमा आफूले चाहेको वर पूरा हुने भएकाले धार्मिक बिश्वासका कारण प्रत्यक वर्ष तीर्थालु भक्तजन थार्प आउने गर्दछन्। थार्प मस्टाले भविष्यमा हुने नहुने के छ सबै ठोक्कुवाका साथ भन्ने गरेको र भने बमोजिम लागू पनि हुँदै आाएको छ।

    छोरा नभएका मान्छे छोरा दिने, चुनावमा बिजय प्राप्त हुने नहुने अग्रिम जानकारी दिने, श्रीमती नपाएकालाई श्रीमती ल्याउन सहयोग गर्ने जस्ता बिशेष महत्वका भबिष्यवाणी गर्ने भएकाले पनि थार्प मस्टोको बिशेष महत्व हुनुका साथै बाहिरी जिल्लाका तीर्थालु भक्तजन दर्शन गर्न आउने स्थानीय दलसिंह बोहोराले बताए। यसै मुगुमा सोरु तातापानी, खेस्ममालिका, कालीका मालीका मन्दिर क्रणमोक्ष माई, लगायत थुप्रै धार्मिकतथा पर्यटकीयस्थल छन्। 

नन्दबहादुर रोकाया

रोकाया थाहा खबरका मुगु समाचारदाता हुन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]