|

डडेल्धुरा : सुदुरपश्चिमको प्रसिद्ध शक्तिपीठ डडेल्धुराको उग्रतारा भगवती मन्दिरमा हरेक वर्ष अष्टमीको दिन लाग्ने मेला यस वर्ष पनि लागेको छ। आइतबार उग्रतारा भगवती मेलामा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ।

डडेल्धुरा सदरमुकामबाट चार किलोमिटरको दूरीमा अमरगढी नगरपालिका-८ को दशरथचन्द राजमार्गसँगै सुन्दर डाँडामा अवस्थित महाशक्ति पीठ उग्रतारा भगवतीको मन्दिरमा लागेको मेलामा हजारौ दर्शनार्थी पूजा आराधना गर्न पुगेका छन्।

मेलामा सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्ला तथा अन्य स्थानलगायत भारतका विभिन्न स्थानबाट श्रद्धालु भक्तजन मेला भर्न आउने गर्दछन्। विशेषगरी दशैको अवसर पारेर घरतिर आएका भक्तजन एवं धार्मिक आस्थावान नागरिक उग्रतारामन्दिर पुग्ने गरेका छन। उग्रतारा दर्शन गर्न आएका दर्शनार्थी दीपक पाठक भन्छन् ‘यहाँ आउने सबैले चिताएको मनोकामना पूर्ण हुने किंवदन्ती भएकाले धेरै भक्तजन आउँने गर्दछन्।’

अष्टमी मेला राँगा, बोका काटिने तथा व्यापार व्यवसाय एवं आफन्तजनसँगको भेटघाट हुने समय मौकाको रुपमा प्रख्यात रहेको छ। मेलामा अम्बा, ओखर, केरा, दाडीम लगायत स्थानीय स्तरमा उत्पादित विभिन्न चिजको राम्रो व्यापार हुन्छ।

किम्बदन्तीअनुसार २५ सय वर्ष पहिला हालको अमरगढी नगरपालिका लटाउली बस्ने साँकी जातिका स्थानीयले हलो जोत्दा हलोको फाली लागेर रगत बगेपछि देवी उत्पन्न भएर दर्शन दिएपछि त्यस दिनदेखि महागौरी दुर्गा र कालीको स्वरुपमा उग्रतारा भगवतीको पूजा गरिँदै आएको स्थानियको भनाई छ।

विजया दशमीको आठौ दिन भगवती गौरीमाताको उत्पन्न हुने दिन भएकोले हरेक वर्ष आजको दिन मेला लाग्ने पुजारी इश्वरी जोशीले बताए। ‘प्रत्येक साल  यसै दिन यहाँ पुजापाठ तथा बली दिइने चलन छ’ उनले भने ‘उग्रतारा माता नवदुर्गा मध्यकै शक्तिशाली भगवतीको रुप भएको हुनाले यहाँ सुदूरपश्चिमका सबै जिल्लाबाट भक्तजन आउने गर्दछन। आफूले मागेको मनोकामना पूरा हुने विश्वास भएकाले सुदूरपश्चिम बाहेक अन्य जिल्ला तथा भारतबाट समेत दर्शनार्थी आउने गरेको उनले बताए।

उग्रतारा देवीको मन्दिर पश्चिम नेपालकै एक महत्वपुर्ण शक्तिपीठका रुपमा रहेको छ। चैत अष्टमी, त्यसैगरी विजय दशमीको अष्टमीको दिन, विजया दशमीको दिन र  कार्तिक पुर्णीमाको दिन ‘देहिजाँत’ भन्ने ठूलो मेला लाग्ने उग्रतारा क्षेत्र विकास समितिले जनाएको छ।

 

 

 

 

 

 

 

 

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.