थाहा संवाद

‘पूर्वाधार विकास सरकारले गरोस्, पर्यटन प्रवर्द्धन हामी गर्छौं’
SHARES

असोज १९, २०७६

    नेपाल भ्रमण वर्ष २०२० नजिकिएसँगै बिभिन्न तहका सरकारसँगै निजी क्षेत्र समेत यसको तयारीमा जुटेको छ। बिभिन्न पर्यटकीय सम्भावनायुक्त गन्तव्यहरूको प्रवर्द्धन अहिले प्राथमिकतामा जुटेका छन्। मेची अञ्चलका पर्यटन व्यवसायीसमेत अहिले यही क्रममा लागेका छन्। उनीहरूले मेची पर्यटन करिडोर गठन गरी मेची अञ्चलका ताप्लेजुङ, पाँचथर, इलाम तथा झापाको पर्यटन प्रवर्द्धनका लागि सहकार्य पनि अघि बढाएका छन्। करिडोरको नेतृत्व (अध्यक्ष) भ्रमण वर्ष कार्यान्वयनका लागि प्रदेश सरकारद्वारा गठिन प्रदेशस्तरीय समितिका सदस्य राजेन्द्र दंगाल (राजन) ले पाएका छन्। प्रस्तुत छ भ्रमण वर्ष तथा मेची करिडोरको औचित्यका बारेमा होटल व्यवसायी संघ दमकका अध्यक्ष समेत रहेका दंगालसँग गोपाल झापालीले गरेको कुराकानीकाे अंश:

    केही दिन अघि मात्र मेची पर्यटन करिडोर गठन गर्नु भएको छ, यसको औचित्य के?

    मेची अञ्चलका पर्यटन व्यवसायी पहिलेदेखि नै कुनै न कुनै रुपमा जोडिन चाहेका थियाैं। तर त्यो अवसर जुरी रहेको थिएन। अहिले नेपाल भ्रमण वर्षको संघार पारेर हामी जोडिएका छौं। मेची अञ्चलका तमाम् पर्यटकीय गन्तव्यहरू नेपालको सवै भन्दा होचो ठाउँ केचनादेखि कञ्चनजंघा हिमाल सम्मको एकीकृत प्रवर्द्धनका लागि निजी क्षेत्र एक ठाउँमा आएको हो। 

    यो करिडोर तथा समिति पर्यटन वर्षका लागि मात्रै हो की, यसलाई निरन्तरता दिने लक्ष्य छ? 

    यो सन् २०२० को पर्यटन वर्षका लागि मात्रै गठन गरिएको होइन। सन्दर्भ मात्र यसको संघारमा परेको हो। अब यो समितिलाई थप सशक्त बनाउँदै चारै जिल्लाका गन्तव्यहरूको प्रवर्द्धन, आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणका लागि पूर्वाधार विकास, प्याकेज निर्माण, अनुभव आदान-प्रदान लगायतका काम गर्ने लक्ष्य बनाइएको छ। 

    मेची अञ्चलका प्रमुख पर्यटकीय आधारहरू चाहिँ के के हुन् त? 

    वास्तवमा भन्ने हो भने मेची अञ्चलमा अथाह सम्भावना छन्। प्रवर्द्धन र कनेक्सन मात्र हुन नसकेको। सगरमाथा अग्लो भएकै कारण संसारले चिनेको छ। तर नेपालको होचो ठाउँ अझै धेरै नेपालीलाई चिनाउन सकिएको छैन। झापा र इलामको चिया क्षेत्र फोटा खिच्ने र पिकनिक ठाउँमा मात्र सीमित राख्नु भएन। यी ठाउँलाई चिया अध्ययन अनुसन्धानको केन्द्रको रुपमा विकास गरियो भने अनुसन्धान र पर्यटन एकसाथ विकास गर्न सकिन्छ। सन्दकपुर, श्रीअन्तु, तिम्बू पोखरी, तिवाभञ्ज्याङ, लारुम्बा जस्ता ठाउँहरू छन्। यी ठाउँमा कम्तिमा हामीले आन्तरिक पर्यटक समेत पुर्‍याउन सकिएको छैन। कञ्चनजंघा हिमाल तथा आधार क्षेत्रसम्म बाह्य तथा साहशिक पर्यटक पुर्‍याउन सकिन्छ। यी ठाउँहरूमा हामीले टाढाका पर्यटक खोज्नै पर्दैन। नजिकै रहेको भारतका पश्चिम बंगाल, सिक्किम, आसाम राज्यहरूबाट मात्र भारतीय पर्यटकलाई तान्न सकियो भने यहाँ बाह्रै महिना पर्यटकको लस्कर लाग्छ। पाथीभरा जस्तो शक्तिपीठ देवीप्रति अगाद आस्था राख्ने पश्चिम वंगाली पर्यटकलाई चिनाउन सकेकै छैनौं। त्यसैले यहाँ सम्भावना र गन्तव्य अपार छन्। मात्र खाँचो पूर्वाधार र प्रवर्द्धनको मात्र हो। 

    अहिलेसम्म यी क्षेत्रको प्रवर्द्धन गर्न के ले रोकेको थियो त ?

    केले रोकेको थियो भन्दा पनि हरेक कुराको समय आउँछ। अहिले सवैतिर पर्यटन प्रवर्द्धनको माहोल छ। तीनै तहका सरकारले पनि प्राथमिकता दिएका छन्। झन अहिले त भ्रमण वर्षको पनि सन्दर्भ छ। त्यसैले हामीले छुटाई रहेका विषय वस्तुहरू उठेका हुन्। अहिलेसम्म पनि केही हुँदै नभएको त भन्न मिल्दैन। निजी क्षेत्रले सक्ने सम्मको प्रयास गरिसकेको छ। तर सम्भाव्य गन्तव्यहरूसम्म पुग्नका लागि पूर्वाधार विकासमा त निजी क्षेत्रले लगानी गर्न सम्भव छैन नि त। हामीले भनिरहेका छौं। पूर्वाधार विकास सरकारले गरोस्, पर्यटन प्रवर्द्धन हामी गछौं। एउटा उदाहरण हेर्नु न, झापाबाट नजिकै रहेका इलामको चुलाचुलीमा ऐतिहासिक अन्धाराजा अन्धारानी क्षेत्र छ। दमकबाट एक/दुई दिनको ट्र्याक रुट बनाएर पर्यटकलाई त्यो स्थानसम्म पुर्‍याउन पनि सकिन्छ। तर अब हामी व्यवसायीले बाटौ नै बनाउन त सक्दैनौं नि। अनि कञ्चनजंघा बेस क्याम्प वा हिमालनै आरोहण गर्न चाहने पर्यटकका लागि उचित पदमार्गको विकास, सञ्चार सेवाको विस्तार राज्यले गर्‍यो भने ती स्थानमा सुविधा सम्पन्न होटलहरूमा लगानी बढि हाल्छ नि। त्यसैले पूर्वाधार विकासमा राज्यले ध्यान दिनु पर्‍यो। बाँकी काम निजी क्षेत्रले गर्छ। 

    तपाइँ भ्रमण वर्ष कार्यान्वयन समितिको प्रदेश समितिमा पनि हुनुहुन्छ। तर यहाँका सगरमाथा लगायतका अग्ला हिमाल आरोहणमा आउने पर्यटक, तिनको प्रवर्द्धन लगायतका काममा त यहाँको निजी क्षेत्रको भूमिका देखिदैन नि ?

    यो हामीलाई पनि खड्किएको बिषय हो। सगरमाथाकै कुरा गरौं न, हिमाल छ यहाँ यसलाई बेच्छन् काठमाडौं वा बिदेशकै व्यवसायीले। यस्ता गन्तव्यको प्याकेज मोफसलबाट बनाएर सम्भव पनि छैन। काठमाडौं आएको बिदेशी पर्यटक सिधै त्यहाँबाट लुक्ला जान्छ। उसलाई बसयात्रा गरेर लुक्ला वा सगरमाथा बेसक्याम्प पुग्न त सम्भव छैन। यसको कारण भनेको बिराटनगर बिमानस्थलको स्तरोन्नति नगरिनु हो। यदि बिदेशी पाउन बिराटनगर बिमानस्थलमा अवतरण हुन पाउँथे भने पो यहाँका पर्यटन व्यवसायीले पनि प्याकेज बनाउने, उनीहरूलाई गाईड गर्ने अवसर पाउँथे त। यो सम्भव छैन। फेरि बिराटनगरबाट हिमाली क्षेत्रमा उडान पनि छैन। केही गरी बिराटनगर वा प्रदेश १ मा आएको पर्यटक हिमाल हेर्न काठमाडौं नै पुगेर फेरि प्रदेश १ आउनु पर्छ। कारण यहाँका बिमानस्थल र हिमाली क्षेत्रका बिमानस्थलबीच सम्पर्क नभएर हो। त्यसैले पहिलो कुरा त, पर्यटनबाट बढी लाभ लिने हो भने बिराटनगर बिमान स्थललाई अन्तर्राष्ट्रिय बिमानस्थल बनाउनैपर्छ र यहाँबाट पहाडी तथा हिमाली क्षेत्रको उडान नियमित र व्यवस्थित पारिनुपर्छ। 

    त्यसो भए प्रदेश १ का पर्यटन व्यवसायीले चाहिँ भ्रमण वर्षमा पर्यटकलाई देखाउने बिषय के के हुन् त ?

    हिमाली पर्यटनमा त प्रदेश १ बाट दर्विलो पहुँच स्थापित गर्न सकिँदैन। तर त्यसबाहेक धार्मिक, सांस्कृतिक पर्यटकीय गन्तव्यहरूमा पर्यटक पुर्‍याउन सकिन्छ। कोशीटप्पु वन्यजन्तु आरक्ष, भेडेटार, कन्याम, श्रीअन्तु, वशन्तपुर जस्ता आकर्षक गन्तव्य पनि छन्। योसँगै यहाँका आदिबासी बस्तीहरूमा होम स्टे निर्माण तथा सञ्चालनले तिव्रता पाएको छ। जसरी चितवनका थारु होम स्टेमा आन्तरीक र बाह्य पर्यटकको आकर्षण छ। त्यसै गरि यहाँ बसोबास गर्ने धिमाल, राजवंशी, सन्थाल, आठपहरीया, लेप्चालगायतका समुदायमा होम स्टे प्रवर्द्धन गर्न सकिन्छ। यो केवल लहड होइन, सामाजिक जीवनबाट अनुसन्धान गर्न चाहने बाहय पर्यटकका लागि पनि आकर्षणको बिषय बन्न सक्छ। यसै गरि जसरी थकाली र नेवारी खानाका परिकारले व्यवसायिक रुप लिएका छन्। त्यसै गरि यहाँका रैथाने जात जातिका परिकारलाई व्यवसायिक रुपमा प्रवर्द्धन गर्न सकिन्छ। चिया, अर्लैची, अदुवा जस्ता नगदेबालीको अध्ययन गर्ने, हेरेर रमाउनेका लागि त प्रदेश १ भन्दा बलियो गन्तव्य अन्त छैनन् पनि। केही साथीहरू रक क्लाइम्बिङ, प्याराग्लाइडिङ् पनि शुरु गर्नु भएको छ। र्‍याफ्टिङका लागि प्रशिद्ध तमोर पनि हामीसँगै छ। त्यसैले हामीसँग अहिले जे सम्भावना छ। त्यसैको प्रवर्द्धन गर्‍याै  भने पनि प्रदेश १ को पर्यटकीय जीवनलाई बलियो बनाउन सकिन्छ। 

    तपाइँले नै भनेको कुरा मान्दा पनि यहाँ बिदेशी पर्यटक सोझै आउने वातावरण छैन, आन्तरिक पर्यटकको रुपमा पिकनिक, विद्यालयका शैक्षिक भ्रमण टोली यस्तैले मात्र धान्छ त यहाँको पर्यटन?

    यति मात्रै होइन। भारतबाट आउने पर्यटकलाई पनि हामीले आकर्षित गर्न सकिरहेका छैनौं नि। नेपाल र भारतमा मनाइने संस्कार, पूजा गरिने देवी-देवता, मनाउने पर्व धेरै कुराहरू मिल्छन्। यस्तैले भारतको आसाम, मणिपुरदेखि सिक्किम, दार्जिलिङ पनि पश्चिम बंगालका पर्यटक मात्र पनि भित्र्याउन सक्यौ भने यहाँको पर्यटनले अर्कै उचाई लिइहाल्छ। यस तर्फ हामी लागेका पनि छौं। भारतका बिभिन्न सहरमा जाने। त्यहाँ नेपाली गन्तव्यका बारेमा जानकारी गराउने, निम्ता दिने लगायतका कामहरू गरिरहेका छौं। त्यसैले तेस्रो देश भन्दा पनि केही वर्षका लागि प्रदेश १ ले बढी आशा गरेका पर्यटकहरू भनेका भारतीय नै हुन्। 

    हलेसी, पिण्डेश्वर, पाथिभरा जस्ता धार्मिक गन्तव्यहरू भारतीय पर्यटकका आकर्षण बन्न सक्छन्। यस्तै झापाको ३६ डिग्री तापक्रमबाट पाँचथर तथा धनकुटाको ६ डिग्री तापक्रममा केही घण्टाको दूरीमा पुर्‍याउन सक्छौं। त्यसैले सरकार र निजी क्षेत्र यसतर्फ पनि लाग्नु पर्छ भन्ने हाम्रो धारणा हो।

गोपाल झापाली

झापाली थाहा खबरका झापाको दमकस्थित समाचारदाता हुन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]