|

पर्वत : जिल्लाको फलेवास नगरपालिका ३ शंकरपोखरी रुग्दीकी ७० वर्षीया द्रुपता पौडेललाई आजभोलिको दशैं देख्दा केही कुरामा खुसी लाग्छ भने केही कुरामा दुःख पनि। पहिलेका धेरै असहज अवस्थाहरूमा अहिले सहजता आएको छ, तर त्यही सहजता सँगसँगै विकृति पनि भित्रिएका छन्।

पहिलेका भन्दा अहिलेका दशैं धूमधामका बन्ने गरेको उनको अनुभव छ तर धूमधाम सँगसँगै संस्कृतिलाई नै असर गर्ने गरी आजभोलिको पुस्ताले दशैं मनाएको देख्दा उनको मन चसक्क दुख्छ।

‘म बच्चा हुने बेलामा बटौली र स्याङ्जाबाट नुन ल्याएर बागलुङ लगेर बेचेर आएको चामलले दशैं टीका बनाउँथेँ।’ उनले भनिन, ‘आजभोलिको दशैं त धेरै सजिलो भएको छ, घर घरमा जिप आउँछ। सबैसँग पैसा पनि छ।’ उनको अनुभवमा अहिलेका युवालाई ‘मदिराको मात’ ले बढी असर गरेको छ। ‘पहिलेका जमानामा चाडपर्वका बेलामा मदिरा खाएको बेचेको त्यति थाहा पाइएन्’ उनले भनिन, ‘अहिलेको जस्तो गाउँ गाउँमा पसल नै थिएनन्।’

पहिले भन्दा अहिलेको जमानाले फड्को मारेकोमा भने पौडेललाई खुसी लाग्छ। पहिलेका मान्छे गरिब भएका कारण भात खाएर दसैं मनाउनु नै खुसीको कुरा थियो। मासु र नयाँ लुगा त धनीका घरमा मात्र हुन्थ्यो। 

‘अहिले घर घरै खसी बोका काटेका छन् धेरै खर्च गरेर चाडपर्व मनाउँछन्। गाउँमै पसल छन्, सुख छ।’ उनले भनिन, ‘अहिलेको दसैँ सुखको छ, सबैका घरमा पैसा पनि छन्। पहिलेका गरिबका भन्दा अहिलेका गरिबका घरमा अलि रमाइलो छ।’

अर्का स्थानीय नन्दलाल रेग्मीलाई पनि आजभोलि दसैँ, तिहार, तीज लगायतका पर्वहरूमा मदिराकै प्रयोग बढी हुने गरेको जस्तो लाग्छ। उनी जान्ने हुँदा न त गाउँमा कुनै पसल थिए, न त कुनै गाउँलेले मदिराको सेवन नै गर्थे।

‘आजभोलि दसैँका बेलामा रमाइलो गर्ने नाममा रक्सी खानुपर्ने जस्तो चलन आयो, तीजमा चेलीबेटी त खान्छन् रे भन्ने सुनेको छु।’ उनी अगाडि थप्छन्, ‘हाम्रा पालामा कसैले खाने भए पनि लुकेर खान्थे, लुकेर हिँड्थे। अहिले बाउ आमाकै अघिल्तिर हल्लेर हिँड्छन्। इजेत र बिजेतको त कसैलाई चिन्तै छैन।’

जिल्लाको कुस्मा नगरपालिका २ खुर्कोटका ९० वर्षीय रमाकान्त उपाध्यायलाई पनि अहिलेको पुस्ताले घाँटी हरेर हाड ननिलेकोमा चिन्ता लागेको छ। अहिलेको केही बचतले नै भोलिको लागि काम गर्ने भएकोले अहिले नै आफ्नो औकात अनुसार पर्वमा रमाइलो गर्नुपर्ने उनको सुझाव छ।

‘अहिलेका मान्छेले गक्ष भन्दा धेरै खर्च गर्ने गरेका छन्। भोलि के खाने रहेछन्?’ उनले भने, ‘हाम्रा पालमा त गाउँमै भएका कुराहरूको प्रयोग गरेर दसैँ मनाउने गरेका थियौँ। रोटी, केरा, काँक्रोको अचार हुन्थ्यो। अहिले सबै थोक बजारबाट किनेर ल्याएको मात्र छ।’ 

ऋणै खोजेर भए पनि गरिने रमाइलोले संस्कृतिमा नकरात्मक प्रभाव पारेको उनीहरूको अनुभव छ। दशैं मा रमाइलो गर्ने नाममा दशैं भड्किलो बनेको र समाजमा रहेका हुँदा खानेहरूलाई समस्या परेको उनीहरू बताउँछन्। त्यही कारण पनि दसैँमा घाँटी हेरेर हाड निल्नुपर्ने उनीहरूको सुझाव छ।

फलेवास नगरपालिकाकै चन्द्रकली रेग्मीलाई बर्सौँ पहिलेको भन्दा हिजोआजका चाडपर्वमा हुने रमाइलोको मज्जा लाग्छ। पहिले पहिले दशैंका बेलामा गाउँका मान्छे जम्मा हुन निकै समस्या थियो। यातायातको सुविधा नभएका कारण पैसा कमाउनकै लागि देश भित्र र बाहिर रहेकाहरूलाई गाउँमा आउन निकै सकस पर्ने गरेको थियो।

तर, आजभोलि सजिलो भएकोले अहिलेका चाडपर्वमा बढी रौनकता देखिने गरेको रेग्मीको भनाई छ। ‘छोराहरू दिल्लीबाट आउनै कति दिन लाग्थ्यो। अहिले साउदीबाट पनि सजिलै आउँछन्।’ चन्द्रकलीले भनिन, ‘रक्सीको कुरा गर्दा त मैले खासै खाएको देखेकी छैन। हुन त म ८५ वर्षकी मान्छे घरबाट बाहिर निस्कन सक्दिन, रक्सी खाएर कोही पनि मेरा घरमा आउँदैनन्।’ उनले भनिन, ‘आजभोलि धेरै खान्छन् रे भन्ने सुनेकी त छु। तर त्यस्ता चिज खान हुँदैन, नर्क गइन्छ।’

पाका पुस्ताले चाडपर्वमा मदिराको प्रयोग गरिनु गलत भएको बताएकै बेला युवा पुस्ताले भने अहिलेको चलन र शैली नै यस्तै आएको बताउँछन्। मदिरा सेवन गरेर नराम्रो काम गर्नु गलत हुने तर आफ्नो स्वास्थ्यलाई र सामाजिक रूपमा कुनै पनि असर नपार्ने गरी सेवन गर्दा त्यसले बेफाइदा नगर्ने उनको भनाई छ।

पाका पुस्ताको नजरमा आजभोलिका चाडपर्वमा गाउँमा फलेको विषादी रहित स्वस्थ खानेकुरा छाडेर तामसी भोजनको प्रयोग बढी हुने गरेको छ। मासु जन्य पदार्थको धेरै सेवन गर्दा शरीर पाचन क्षमतामा असर पर्ने र सकारात्मक सोचको विकास हुन नसक्ने कतिपय पाका पुस्ताको भनाई छ। 

चिकित्सकहरूले पनि चाडपर्वको नाममा गरिने मदिरा सेवनको बानी हटाउनुपर्ने सुझाव दिन्छन्। मदिरा सेवनले मानिसलाई उत्तेजक बनाउन सक्ने भएकोले त्यो बेलामा व्यक्तिले गर्ने निर्णयले उसको जीवनभरिलाई नै असर गर्नुको साथै स्वास्थ्यमा पनि गम्भीर असर पार्ने जिल्ला अस्पताल पर्वतका प्रमुख डा. शिशिर देवकोटाले बताए। अत्यधिक मात्रामा मासु जन्य पदार्थको सेवन गर्दा पाचन प्रणालीमा बढी भार पर्ने भएकोले स्वास्थ्य स्थिति कमजोर बन्ने उनको भनाई छ।

‘चाडपर्वमा यही बेला त हो नि माछा मासु खाने भन्दै सकी नसकी घाँटीसम्म आउने गरी खाने चलन छ।’ उनले भने, ‘त्यो बिलकुलै गलत हो। यस्तो कार्यले तपाईँको स्वास्थ्य दिनप्रतिदिन कमजोर बन्छ।’ डा. देवकोटाले चाडपर्वका बेलामा सेवन गरिने मदिराले सेवन कर्ताको व्यक्तिगत जीवन सहित सामाजिक रूपमा पनि खलबल ल्याउने भएकोले यसको सेवन नगर्नु नै उत्तम हुने बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.