|

म्याग्दी : जिल्लाको आर्कषक पर्यटकीय गन्तब्य टोड्केको पूर्वाधार विकास तथा प्रचार-प्रसार गर्न बिस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरिने भएको छ।

बेनी नगरपालिका, मंगला र रघुगंगा गाउँपालिकाको संगममा अवस्थित टोड्के (२,५०० मिटर) मा अवस्थित टोड्केलाई जिल्लाकै उत्कृष्ट मध्येको पर्यटकीयस्थल बनाउन आवश्यक पूर्वाधारसहित विभिन्न योजनामा तीनवटै स्थानीय तहले प्राथमिकता दिएर अगाडि बढ्ने भएका छन्।

प्राकृतिको अनुपम उपहार, वरिपरि लालीगुराँसको जंगल, स्वर्गद्धारीको शाखा आश्रम, मनोरम दृष्यावलोकन गर्न सकिने टोड्के पर्यटकीय हिसाबले महत्वपूर्ण सम्भावना बोकेको क्षेत्र हो। राज्यको कम प्राथमिकतामा परेकाले घुम्न जाने आन्तरिक तथा बाह्य पर्यटकलाई निकै सास्ती हुने गरेको अवस्थामा शनिबार टोड्के क्षेत्र विकास कोषले बेनीमा आयोजना गरेको कार्यक्रममा स्थानीय सरकारको लगानीमा टोड्के क्षेत्र विकास कोषको संयोजनमा डिपिआर तयारी गरेको हो।

डिपिआर तयार भएपछि सरकारी जग्गालाई कानुन अनुसार भोगचलन गर्न दिन स्थानीय समुदायसँग छलफल गर्ने निर्णय भएको छ। विगत, वर्तमान र भविष्यको टोड्के विषयक सरोकारवाला निकायसँगको अन्तरक्रिया कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समितिका सभापति देबेन्द्रबहादुर केसीले पर्यटकीय क्षेत्रको पूर्वाधारलाई प्राथमिकता दिनुपर्ने बताए।

सभापति केसीले पूर्वाधारको अभावका कारण सम्भावना भएका क्षेत्रहरू समेत ओझेँलमा परेको बताउँदै नेपाल भ्रमण वर्षमा समेत म्याग्दीसम्म पर्यटकलाई तान्ने गरी प्रचार-प्रसार गर्नुपर्ने बताए। सोही अवसरमा बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले नगरपालिका भित्रका पर्यटकीय गन्तब्यलाई लक्षित गरी पूर्वाधार विस्तार भइरहेको बताउँदै स्थानीय तहको बजेटले मात्रै प्रयाप्त नभएको बताए। 

रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्ढारीले गाउँपालिकाभित्र र छिमेकीसँग जोडिएका पर्यटकीयस्थलको विकासमा संयुक्त अभियान सञ्चालन गर्न तयार रहेको बताए। उनले भ्यू टावर, धार्मिकस्थलको पूर्वाधार विकास लगायतमा केन्द्रित भएर योजना बनाएको बताए।

 त्यस्तै मंगला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले पर्यटन र अर्गानीक खेतीलाई जोडेर अगाडि बढेको बताउँदै पूर्वाधार विना कुनै पनि काम सम्भव नभएको बताए। उनले प्राथमिकतामा परेका पर्यटकीयस्थलमा स्थानीय, प्रदेश र संघीय सरकारबाट समेत बजेट ब्यवस्था गरी पूर्वाधारमा जोड दिएको बताए।

कार्यक्रममा मंगला गापाका उपाध्यक्ष सिर्जना केसी, प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद गौतम, मंगला गापा १ कुहुँका वडा अध्यक्ष डेकबहादुर राम्जाली, रघुगंगा गापा ५ मन बहादुर शेरपुञ्जा, म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तमकुमार कर्माचार्य, टोड्के रिसाेर्ट प्रालिका अध्यक्ष मिनबहादुर पाइजा, निर्देशक भिम शेरचन, धौलागिरी पर्यटन परिषद्का अध्यक्ष अमर बानियाँ लगायत सरोकारवाला निकायको उपस्थिति रहेको थियो। 

कार्यक्रममा टोड्के क्षेत्र विकास कोषका अध्यक्ष ताराप्रसाद आचार्यले डेढदशक यता टोड्केमा गरिएका गतिविधि सहित भावी योजनाका बारेमा जानकारी गराएका थिए। सोही अवसरमा उपाध्यक्ष देवराज सुबेदीले डिपिआरसहित पश्चिम म्याग्दीको पर्यटनको क्षेत्रमा खेल्न सक्ने सम्भावनाका बारेमा जानकारी गराएका थिए भने सचिव टेक राम्जालीले घौलागिरी सेञ्चुरी पदमार्गसहित विश्वकै सातौ आग्लो धौलागिरी हिमालसम्म जान सकिने पर्यटनको रुट सहितको योजना प्रस्तुत गरेका थिए।

समुद्री सतहदेखि झण्डै २ हजार ४०० मिटरको उचाइमा अवस्थित पर्यटकीयस्थल टोड्के आसपासको क्षेत्रबाट मनोरम हिमश्रृंखलाहरू देखिन्छन्। पछिल्लो समय मंगलाको कुहुँ, पूर्णगाउँ र रघुगंगाको झीँ गाउँबाट सडक सञ्जाल जोडिएसँगै टोड्के रिङरोड बनेपछि थप आकर्षणको क्षेत्र बनेको छ। माघ र फागुन महिनामा लाली गुराँसले राताम्मे हुने टोड्केमा विभिन्न समयमा पिकनिक खानका लागि स्थानीय त्यहाँ पुग्ने गरेका छन्।

टोड्के कृषि उत्पादन तथा धार्मिक हिसाबले महत्वपूर्ण छ। टोड्केमा रहेको स्वर्गाश्रममा देशका विभिन्न जिल्लाबाट समय समयमा ऋषिमुनिहरू आएर तपस्या गर्ने गरेका छन्। टोड्केलाई गण्डकी प्रदेशकै सुन्दर पर्यटकीय गन्तब्य बनाउने अभियानमा स्थानीय सरोकारवाला सक्रिय भएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.