विचार

यो हो विजयादशमीको सन्देश
SHARES

असोज २१, २०७६

    त्रेतायुगमा भगवान् रामले विजयको कामना लिएर विधिपूर्वक नवरात्र व्रत गरेको प्रसंग पुराणहरूमा आउँछ। नवरात्रको विधानपछि दशमीका दिन पूजा विसर्जन गरी देवीको प्रसाद लगाएर उनी विजययात्रामा निस्केको देवीभागवतको पञ्चम स्कन्ध, ३० औँ अध्यायमा उल्लेख छ।  

    शरद् ऋतुको आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म नौ दिन नवदुर्गाका एक–एक स्वरूपको आराधना गर्ने र दशमीका दिन विसर्जन गरी प्रसाद लगाउने नवरात्रको विधि हो। नवरात्रको विधान पद्म, मार्कण्डेय आदि पुराणमा पनि पाइन्छन्। नवरात्रभरि शक्तिस्वरूपा भगवतीको आराधना गर्ने र दशमीका दिन बिहान अपराजिता, जया, विजयाको पूजा गरी विर्सजन गर्ने विधान छ। 

    दशैँ मनाउने सन्दर्भमा भारतीय र नेपाली सनातन धर्मावलम्बीबीचको परम्परामा केही भिन्नता पाइन्छ। यो चाड मनाउने सन्दर्भमा हाम्रै मुलुकमा पनि पहाड र तराईमा भिन्नता छ। १० दिनको अवधि नेपालमा दशैँ र भारतमा दशहरा वा दुर्गापूजा नामले परिचित छ। घटस्थापना गरे पनि जौलगायत अन्न छरी जमरा बनाउने र प्रसादका रूपमा लगाउने चलन भारतीयहरूमा कमै पाइन्छ। 

    नेपाली मूलका रहने दार्जिलिङ र सिक्किमतिर भने यो चलन पाइन्छ।  भारतीयले दशमीको दिन विसर्जन गरी ‘घट’ सोही दिन नदीमा सेलाउँछन्। हाम्रोमा भने पूर्णिमासम्म टीका प्रसाद लगाउने र पूर्णिमाका दिन विसर्जन गर्ने परम्परा छ। नौ दिनअघि शुक्ल प्रतिपदाको बिहान स्थापना गएिको घडाको जलले अभिषेक गर्ने परम्परा दुवैमा रहे पनि त्यसमा छरिएको वा पूजा गरेका जौ उम्रेर बनेका जमरा   (यवांकुर) र रातो अक्षता प्रसाद (टीका) लगाउने परम्परा नेपालीहरूको मात्र हो।  

    टीका राता अक्षताका 
    मातृशक्तिको आवाहन, आराधना गर्दै घडा र वेदीमा उम्रेको जमरा विजयादशमीका दिन कुल–इष्ट–ग्राम–पितृ देवताहरूलाई अर्पण गरी प्रसादस्वरुप टीकासहित जमरा लगाउने परम्परा छ।  विशेषगरी विजयादशमीमा रातो अक्षताको टीका लगाउने परम्परा छ। विशेष जातजातिमा सेता अक्षताको टीका लगाउने चलन नभएको होइन। अक्षता अर्थात् चामल। धानबाट बन्ने खाद्यान्न। अक्षता वा चामललाई संस्कृत भाषामा ‘तण्डुल’ भनिन्छ। मानिसको प्राण धान्नका लागि चामलको प्रयोग गरिन्छ। 
    खाद्यवस्तुको रूपमा मात्र नभई देवकार्य, पितृकार्य एवं यज्ञादिमा धान वा चामलकै प्रयोग गरिन्छ। यसैले सम्पूर्ण जगतकै प्राण रक्षा गर्ने भएकोले धानलाई प्राणेश्वरी अथवा ब्रह्म पनि भनिन्छ। संस्कृतमा ‘धान्य’ भनिने धानको बोटलाई लक्ष्मीको प्रतीक मानिन्छ।

    ‘जगतः ‘प्राणरक्षार्थं ब्रह्मणा निर्मितं पुरा। उमाप्रीतिकरं धान्यं तस्माद् रक्षतु सर्वदा।।’

    नवरात्रको प्रचलित पूजाविधिमा एउटा श्लोक छ, ‘जगतः ‘प्राणरक्षार्थं ब्रह्मणा निर्मितं पुरा। उमाप्रीतिकरं धान्यं तस्माद् रक्षतु सर्वदा।।’ अर्थात् विश्वको प्राण रक्षाका लागि ब्रह्माजीले धानको रचना गरेका हुन्, देवीको पनि प्रिय वस्तुको रूपमा रहेको यसले सबैको रक्षा गरोस्। बुझ्न गाह्रो छैन, यति महत्त्वको वस्तु भएकाले देवीलाई चढाउने र त्यसैबाट प्रसाद बनाउने गरिएको हो। रातोको अर्थ विजय वा उत्सव हो। निधारमा रातो अक्षताको टीकाले हर्ष वा उल्लासको अवस्था बुझाउँछ।  

    प्रसाद जौका आँकुरा
    जौलाई रोग दूर गर्ने, प्राण पुष्ट पार्ने, बल प्रदान गर्ने र यज्ञयज्ञादिमा उपयोगी ओज वस्तुको रूपमा लिइएको छ। सनातन संस्कारअनुसारका देवकार्यमा जौको प्रयोग प्रशस्त गरिन्छ। पौराणिक ग्रन्थहरूमा पनि यवोसि धान्यश.... अर्थात् जौलाई अन्नको राजा मानिएको छ। श्रीमद्भागवत महापुराणमा वामन अवताररूपी नारायणको पूजा गर्दा लोकपालहरूले जमरा चढाएको सन्दर्भ आउँछ।  
    नौ दिनसम्म सूर्यको किरण पर्न नपाएको पहेँलो जमरा लगाउने सनातन धर्मावलम्बी नेपालीहरूको पहिचान हो। आयुर्वेद विधामा सानादेखि दीर्घसम्मका रोग निको बनाउन जमराको रस प्रयोग हुन्छ। औषधीय रूपमा महत्त्वपूर्ण जमरामा रहेका अनेक गुणले गर्दा प्रसादस्वरूप कान वा शिरमा सिउरिने परम्परा चलेको बुझ्न सकिन्छ। 

    मान्यजनका आशिर्वचन

    नवदुर्गाको प्रसादसँगै मान्यजनले दिने आशीर्वाद विशेष मानिन्छ। मातापिता, गुरु, हजुरबुबा, हजुरआमालगायतले दिने आशीर्वादको ठूलो महत्त्व छ। सनातन धर्मअनुसार उनीहरू देवताका स्वरूप हुन्। उमेर र अनुभवले पाका भएकाहरूले दिएका आशीर्वादले मानिसको जीवनमा ऊर्जाको काम गर्छ र सत्मार्गमा चल्न प्रेरणा दिन्छ।

    वैदिक सनातन धर्मावलम्बीहरू संस्कार, श्राद्ध, पूजाआजा आदि गर्दा संस्कृत मन्त्रको प्रयोग गर्छन्। यस्ता अनुष्ठानमा शान्तिकामना र आशीर्वाद वचन पनि संस्कृत भाषामै पढिन्छ। वेद पढेकाहरूले वैदिक मन्त्रको प्रयोगद्वारा प्रियजनको कल्याणको कामना गर्छन्।

    ‘श्रीर्वर्चस्वमायुष्यम्...’ यो वैदिक मन्त्रको भावार्थ हुन्छ, ‘तिमीलाई श्री, आयु, आरोग्य, धन, धान्य र पशु–वाहन प्राप्त होस्। असल सन्तान प्राप्त होऊन्, सन्तानका सत्कर्मले तिम्रोसमेत कीर्ति फैलियोस्। सबै सुख भोग्दै सय वर्ष बाँच।’ 

    ‘श्रीर्वर्चस्वमायुष्यम्...’ यो वैदिक मन्त्रको भावार्थ हुन्छ, ‘तिमीलाई श्री, आयु, आरोग्य, धन, धान्य र पशु–वाहन प्राप्त होस्। असल सन्तान प्राप्त होऊन्, सन्तानका सत्कर्मले तिम्रोसमेत कीर्ति फैलियोस्। सबै सुख भोग्दै सय वर्ष बाँच।’ 

    विजयादशमीको सन्दर्भमा प्रचलित मन्त्र छ, ‘आयुद्रोणसुते श्रियो दशरथे शत्रुक्षयो राघवे। ऐश्वर्यं नहुषे गतिश्च पवने मानश्च दुर्योधने।। शौर्यं शान्तनवे बलं हलधरे सत्यं च कुन्तीसुते। विज्ञानं विदुरे भवन्तु भवतां कीर्तिश्च नारायणे।।’ अर्थात्, तिमीलाई ऋषि द्रोयाचार्यका छोरा अश्वत्थामाको जस्तो आयु प्राप्त होस्। दशरथको जस्तो श्री होस्। शत्रुनाश गर्ने भगवान् रामको जस्तो शक्ति प्राप्त होस्। नहुष राजाको जस्तो ऐश्वर्य पाऊ। वायुको जस्तो गति होस्।

    दुर्योधनको जस्तो सम्मान प्राप्त होस्। शान्तनुपुत्र भीष्मको जस्तो शूरता होस् वा सूर्यपुत्र कर्णको जस्तो दानशीलता होस्।, बलरामको जस्तो बल होस्। कुन्तीपुत्र युधिष्ठिरको जस्तो सत्यवादिता प्राप्त होस्। विदुर जस्तो ज्ञानी होऊ। नारायण(भगवान् विष्णु) को जस्तो कीर्ति संसारभर फैलियोस्। यो पुरुषलाई टीका लगाइदिँदा पढिने मन्त्र हो। 
    यो मन्त्रमा पौराणिक पात्रहरूका राम्राराम्रा एकएक गुण तिमीलाई प्राप्त होस् भन्ने कामना गरिएको छ, आशिष दिइएको छ। यसैगरी स्त्रीका लागि यी मन्त्र प्रयोग हुन्छन्, जयन्ती मङ्गला काली भद्रकाली कपालिनी। दुर्गा क्षमा शिवा धात्री स्वाहा स्वधा नमोऽस्तुते।। सर्वमङ्गलमाङ्गल्ये शिवे सर्वार्थसाधिके। शरण्ये त्रयम्बके गौरि नारायणि नमोऽस्तुते।। शरणागतदीनार्तपरित्राणपरायणे। सर्वस्यार्तिहरे देवि नारायणि नमोऽस्तुते।। यी तीन देवीको उपासना गर्ने मन्त्र हुन्। मन्त्रमा आएका देवीहरूले रक्षा गरुन् भन्ने अर्थमा यी मन्त्रको प्रयोग हुन्छ। 

    यसैगरी प्रियजनलाई आशिष दिन यी मन्त्रको पनि प्रयोग हुन्छ, मन्त्रार्थाः सफलाः सन्तु पूर्णाः सन्तु मनोरथाः । शत्रूणां बुद्धिनाशोऽस्तु मित्राणामुदयस्तव।। अव्याधिना शरीरेण मनसा च निराधिना। पूरयन्नर्थिनामाशास्त्वं जीव शरदां शतम्।। अर्थात् हरेक कार्यमा सफलता प्राप्त होस्। तिम्रो मनोकांक्षा सिद्धि होस्, तिम्रा कुभलो गर्नेको बुद्धि नाश होस्। मित्रहरू बढ्दै जाउन्। शारीरिक र मानसिक निरोगी भएर सय वर्षसम्म बाँच। 

    भद्रमस्तु शिवं चास्तु महालक्ष्मीः प्रसिदतु। तुष्यन्तु त्वां सदा देवाः संपदः सन्तु सुस्थिराः।। देवीदेवताले सधैँ कल्याण गरुन् भन्ने अर्थ यो मन्त्रले बोकेको छ। शिव, महालक्ष्मीलगायत देवीदेवताको कृपादृष्टि तिमीमा परिरहोस् भन्ने कामना गरिएको छ। विजयादशमीमा पनि सम्भव भएसम्म संस्कृत भाषामै आशिर्वाद दिइन्छ। संस्कृत भाषामा पहुँच नहुनेहरूले आफ्नै नेपाली भाषामा प्रियजनको कल्याणको कामना गर्छन्।  

    ईश्वरको कृपादृष्टि आफूमाथि नपरोस् भन्ने चाहना राख्ने को होला? विद्या, बुद्धि, श्री र दीर्घायु प्राप्त गर्न नचाहने को होला र! लौकिक रूपमा प्रियजनहरूको अवस्था हेरी आशीर्वाद दिने चलन छ।

    सनातन धर्मावलम्बीहरूका लागि संस्कृत वचन महत्त्वपूर्ण हुन्। यसैगरी यी आशिर्वचनहरू कहिल्यै पुराना र असान्दर्भिक हुँदैनन्। ईश्वरको कृपा आफूमाथि नपरोस् भन्ने अपेक्षा राख्ने को होला र! विद्या, बुद्धि, श्री र दीर्घायुको कामना नगर्ने को होला र! यसैगरी यी आशिर्वचनहरू कहिल्यै पुराना र असान्दर्भिक हुँदैनन्।

    ईश्वरको कृपादृष्टि आफूमाथि नपरोस् भन्ने चाहना राख्ने को होला? विद्या, बुद्धि, श्री र दीर्घायु प्राप्त गर्न नचाहने को होला र! लौकिक रूपमा प्रियजनहरूको अवस्था हेरी आशीर्वाद दिने चलन छ। ठाउँ र परिस्थितिअनुसार आशीर्वाद फरक फरक हुन सक्छन् तर उद्देश्य एउटै हो, आफ्ना प्रियहरूको भलो कामना। 

    त्रेतायुगमा रामले रावणमाथि विजयप्राप्ति गरेको असत्यमाथि हो। दुर्गुणमाथि हो। अँध्यारोमाथि हो । अधर्ममाथि हो। समग्रमा असत्यमाथि सत्यको, अँध्यारोमाथि उज्यालोको र अधर्ममाथि धर्मको विजयको कामना गर्ने दिन हो विजयादशमी। आफूभित्रै रहेका दुर्गुणहरूमाथि विजय पाई सद्गुणको विकास गर्ने दिन पनि हो यो।
     

रामप्रसाद धिताल

धिताल भाषा, धर्म, संस्कृति र विसंगतिविरुद्ध कलम चलाउँछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]