|

पर्वत : ‘लौ छोरी सानी छौ, आजैबाट मोबाइलमा झुन्डिन थालेकी छौ, अब देवी दुर्गाले मोबाइल नझुन्डिने शक्ति प्रदान गरून्। देवी दुर्गा दाहिने हुन्। राम्रो पढ्न आओस्, ठूली होइन ज्ञानी मान्छे बन्नू।’

पर्वतको फलेवास नगरपालिका ३ शंकरपोखरीका बलबहादुर भण्डारीले आफ्नो घरमा टीका थाप्न पुगेकी ८ वर्षीया बालिका जेनी शर्मालाई टीका र जमरा लगाउँदै यही आशीर्वाद दिए। उनले आफ्नो घरमा टीका थाप्न पुगेका बालबालिकालाई मोबाइलको लतका बारेमा सुरुमै सोधे, अनि आवश्यकता अनुसारका आशीर्वाद दिए।

बल बहादुरले संस्कृतका श्लोकमा भनिएका आशीर्वाद त दिन्छन् नै थप आशीर्वादका रूपमा बालबालिकालाई कार्टुन हेर्न टिभिको पर्दा अगाडि नबस्न र युवा पुस्तालाई फेसबुकमा झुन्डिएर सबै थोक नबिर्सन पनि देवीसँग कामना गरे।

बलबहादुरले जस्तै अरूले दिने आशीर्वादमा पनि आजभोलि केही फरक भएको छ। आजभोलिका बालबालिका र युवा पुस्तालाई मोबाइलको लतले सबैभन्दा बढी असर गरेपछि यसको नकारात्मक असरको बारेमा थाहा पाएकाहरूले प्रविधिको दुरुपयोगमा नफस्न आशीर्वाद दिन थालेका छन्।

जिल्लाको कुस्मा नगरपालिकाका स्वास्थ्य संयोजक उमाकान्त सापकोटाले पनि आफ्नो घरमा टीका थाप्न आएका युवा र बालबालिकाहरूलाई प्रविधिको दुरुपयोगमा नफसुन भन्ने कामना गर्दै टीका र जमरा लगाइदिएको बताए।

‘आजभोलिका बच्चाहरूलाई मोबाइल र कार्टुनको लतले नराम्रोसँग गाँजेको छ। यसले नेपालका धेरै बलबालिकाहरुमा मानसिक र शारीरिक रूपमा गम्भीर असर गरिरहेको छ’उनले भने, ‘युवा पुस्ताको हालत पनि उस्तै छ। चौबिसै घण्टा फेसबुक, इमो, ट्विटरलगायतका सामाजिक सञ्जालमा व्यस्त हुँदा आफ्नै घरका सदस्यलाई भुल्न थालेका छन्।’

यदि देवी दुर्गा वा अन्य कुनै पूजामा हामीले विश्वास गर्छौँ र उनीहरूले हामीहरूको कामना पूरा गरिदिने सामर्थ्य राख्छन् भने, भगवानहरुले पनि यो समस्याको समाधान गर्दिनुपर्ने आम नागरिक नै बताउँछन्। दशैं मनाउनकै लागि नवलपरासीबाट आफ्नो पुरानो घर पर्वतकै आर्थरमा आएका अंग्रेजी विषयका शिक्षक संगम क्षेत्रीले अहिलेका बच्चादेखि युवा पुस्तासम्मलाई विद्युतीय खेलहरूले गम्भीर असर पारिरहेको बताए।

‘हामीले पठन पाठन गराउँदा कक्षामा त हरेक दिन यस्तो लतमा नलाग्नु भनेर आशीर्वाद दिएका छौँ, सुझाव दिएका छौँ, बच्चाहरूसँग बिलौना गरेका छौँ’उनले भने, ‘अब शिक्षकहरूले सम्झाएर मात्र पुगेन, अभिभावकहरूले बच्चाहरूलाई मोबाइलको दुरुपयोगबाट बचाउन कठोर निर्णय गर्नुपर्छ, बच्चा रोयो भनेर कमलो मन पारेर मोबाइललाई खेलौनाको रूपमा दिनु हुँदैन।’

सामाजिक सञ्जाल र मोबाइलको प्रयोगका कारण नै अहिलेका कतिपय युवायुवतीहरू कुलतमा फस्ने, गलत संगतमा लाग्ने, एकोहोरो बन्ने, आत्महत्या गर्ने वा अपराधमा संलग्न हुने गरेकाले अभिभावकहरू हैरानीमा परेका छन्। इन्टरनेटको माध्यमबाट चल्ने प्रविधि वा कुनै पनि उपकरणहरूको बारेमा अभिभावकहरू भन्दा बालबालिकाहरू बढी ज्ञान राख्छन्।

यही कारण नै अभिभावकका आँखा छलेर वा उनीहरूकै अगाडि पनि बच्चाहरू मोबाइलको दुव्यर्सनमा परेको मनोवैज्ञानिकहरू बताउँछन्। ‘आजभोलिका बच्चाहरू किताबका पानामा मोबाइलको चित्र देख्छन्, कलमको नीव कपीमा राख्दा मोबाइलको स्क्रिनमा औँला चलाएको अनुभूति गर्छन्’ मनोविज्ञान विषयका शिक्षक गोविन्द पोखरेल भन्छन्, ‘अर्को कुरा बच्चाहरूले यो कुरा अभिभावकबाटै सिकेका छन्। घरमा बुबा आमा आपसमा कुरा नगरी आ–आाप्mना फेसबुकमा च्याट गर्दै बसिरहेका छन्। अनि त्यही घरका सन्तानले सिक्ने चाहिँ के हो?’

प्रविधिको बढ्दो प्रयोगको सदुपयोग भन्दा त्यसलाई मनोरञ्जनको साधनको रूपमा मात्र उपयोग गर्दा यसले बालबालिका देखि युवा पुस्तालाई प्रभाव पारेको सबैलाई थाहा नै छ। यही कारण पनि बर्सौँ पहिलेका दशैं वा अन्य चाडमा दिइने आशीर्वादमा केही फरक पन आएको छ। आजभोलिका दसैँमा टीका लगाइदिँदा संस्कृतको श्लोक भन्दा पहिले यस्तै यस्तै विकृति र असरका बारेमा आशीर्वाद दिन थालिएको छ।

चिकित्सक, शिक्षाविद्, मनोवैज्ञानिक लगायतका व्यक्तिहरूले पनि पछिल्लो समय नेपालमा प्रविधिको उच्च विकास भएकोमा खुसी मनाउँदै त्यसले सामाजिक रूपमा पारिरहेका प्रभावहरूको विषयमा भने चिन्ता व्यक्त गर्न थालेका छन्। बच्चा तथा युवा पुस्ताहरू मोबाइल लगायतका प्राविधिक उपकरण र सामाजिक सञ्जालमा व्यस्त रहँदा मानसिक अवस्थामा पर्ने असर अन्तर्गत एकोहोरो बन्ने, टोलाउने, एक्कासि रिसाउने, सामाजिक रुममा घुलमिल हुन नसक्ने, आज्ञाकारी नबन्ने तथा जिद्दी बन्ने लगायतका लक्षणहरू देखा पर्छन्। यस्तै, शारीरिक स्वरूपमा पनि विभिन्न नकारात्मक परिवर्तनहरू देखा पर्ने उनीहरूको भनाई छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.