|

- विमला ढकाल

बर्दिया : आज विजया दशमी अर्थात दशैंको टीका। देशभर हर्षउल्लासका साथ दशैंको टीका तथा जमरा थापेर मनाइँदै छ। तर, विदेश कमाउन गएको आफ्नो छोरा यसपाली घर नआएपछि कतिलाई दशैं, दशैं जस्तो लागेको छैन। मनमा खल्लो लागिरहेको छ, बर्दियाको ठाकुरबाबा नगरपालिका २ कि पानसरी थापालाई।

'२ वर्षअघि विदेश गएको छोराले आमा म यो दशैंमा घर आउन पाउँदिन है, मन नदुखाए, अहिले दशैं पनि छैन, अर्को वर्ष म घर आउछु अनि खुसी साथ दशैं मनाउला नी भन्दै फोन गर्‍यो' पानसरीले भनिन्' छोराको कुराले मन सारै छोयो।'

७० कटिसकेकी पानसरीलाई अर्को वर्ष दशैं मनाउन पाइन्छ कि पाइँदैन के भर। उनी विगतमा छोरा बुहारी, श्रीमान सबैसँगै बसेर दशैं मनाएको सम्झिन्छिन्। उनले भनिन् 'पहिले छोरा सानै थिए, श्रीमानले आफ्नै गाउँठाउँका काम परेर परिवार पालिरहेकै थिए। अहिले छोरा ठूला भए अनि विदेश पसे, चाडपर्व पनि सँगै मनाउन नपाइने भयो।'

पानसरीका श्रीमानको स्वर्गवास भइसकेको छ। अहिले घरमा बुहारी र सानी नातिनीहरू मात्रै छन्। उनका तीनवटै छोराहरू देश बाहिरै छन्। दशैं पनि नमनाउने भएका कारण परिवारमा खासै रमाइलो पनि छैन। विदेशबाट पैसा त कमाएका छन तर परिवारसँगै बस्न पाउँदैनन्।

बुढेसकालमा परिवारको माया के हुन्छ, बैदेशिक रोजगारीले त्यो अनुभव गर्न पाइँदैन। बाहिर दशैं र तिहारमा बत्ती बलिरहेका बेला बाबुआमाको मनमा अध्यारो भएको हुन्छ। पानसरीलाई सबै परिवार घरमै बसेर रुखो सुखो खाएर रमाउने मन त छ। तर, अहिले पहिलाको जस्तो छैन्।

'पैसा नभएसम्म कसैले मान्छे नै गन्दैनन्' उनले भनिन् 'त्यसैले पनि छोराहरू बाबुआमा छोडेर मन दुखाउँदै विदेश पस्छन्। यो रहर होइन बाध्यताजस्तै भइसकेको छ।'

नेपालमा रोजगारी पाइदैन् पाइए पनि परिश्रम अनुसारको ज्याला हुँदैन्। परिवार पाल्नुपर्ने हुन्छ। त्यसकार धेरै नेपालीहरू विदेशिने गर्छन्। वैदेशिक रोजगारीका कारण देशमा रेमिट्यान्स त भित्र्याएको छ तर यसले पछिल्लो समय धेरै समस्यासमेत निम्त्याएको देखिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.