|

म्याग्दी : जिल्लाको बेनी नगरपालिका २ ज्यामरुककोटमा अवस्थित ऐतिहासिक तथा सामरिक महत्वले युक्त खड्गभवानी कोतमा समृद्धि र सहकालको कामना गर्दै सामुहिक रुपमा मौलो पूजा गरी टीका ग्रहण गरिएको छ।

घटस्थापनादेखि वडादशैंको दिनसम्म दुर्गा भवानीको पूजा अर्चना गरी कोत परिसरमा रहेको शक्तिको प्रतीक मौलोमा दही र अक्षता चढाई, समृद्धि र सहकालको कामना गर्दै प्रसाद स्वरुप टीका ग्रहण गरिएको हो। मौलोमा कोट पूजा तथा गुठी व्यवस्थापन समितिका अध्यक्ष रामकृष्ण घिमिरे, स्थानीय ज्येष्ठ नागरिक, स्थानीयवासी, पूजारी, उपासु तथा सर्वसाधारणले दही र अक्षता चढाउँदै सहकाल र समृद्धिको कामना गरे।

नेपाल एकीकरण हुनुपूर्व तत्कालीन पर्वत राज्य अन्तरगत पर्ने ऐतिहासिक तथा सामरिक दृष्टिकोणले अत्यन्त महत्वपूर्ण मानिएको खड्गभवानी कोतमा परम्परादेखि नै दुर्गा भवानीको पूजा आराधना हुनुका साथै सप्तमीको दिनदेखि नवमीको दिनसम्म वलीसहित शक्तिस्वरुपा नवदुर्गा भवानीको विशेष पूजा अर्चना गर्ने परम्परा रही आएको छ।

कोतको अगाडि रहेको मौलो र हतियार रहेको कोत घर खड्ग भवानी मन्दिरका विशेषता रहे पनि बली दिएका राँगो र खसीको शिर कुन दिशातर्फ फर्कन्छ र घटस्थापनाको दिनमा बालिएको वत्ति दशमीका दिनसम्म निभ्छ की निभ्दैन भन्ने विषयले निकै महत्व पाउने स्थानीय बृद्धबृद्धाको भनाइ रहको छ।

तत्कालीन राजा भर्तिवम मल्लको दरवारलाई उनको मृत्युपछि कोत वनाइ राजाले प्रयोग गरेका हातहतियार, ढाल, तरवार लगायतका सामानहरू राखिएको खड्ग भवानी कोत ऐतिहासिक दृष्टिकोणले मात्र नभै प्राकृतिक सौन्दर्य र पर्यटकीय दृष्टिकोणले समेत महत्वपूर्ण रहेकोले यसको विकासका लागि वडा कार्यालयालले पहल गरिरहेको  र पदमार्ग लगायतका केही पूर्वाधारहरू निर्माण भैसकेका बेनपा २ का वडाअध्यक्ष हिरावहादुर थापाले बताए ।

वडाअध्यक्ष थापाका अनुसार खड्गभवानी कोतसँग म्याग्दी जिल्लाकै इतिहास  र वाइसे-चौविसे राज्यको वास्तविकता गाँसिएकोले कुरिलाखर्क महारानी, बेनीको शिवालय मन्दिर,निरयघाट, ढोलठान र ताकमकोटसँग ज्यामरुककोटको ऐतिहासिक सम्बन्धको वारेमा खोजीनीति समेत भइरहेको छ। 

वडादशैंको शुभकामना दिँदै वडाअध्यक्ष थापाले गौरवमय इतिहास रहेको ज्यामरुककोटलाई देश विदेशमा परिचित बनाउन र यसको विकास गर्न सवैले आ-आफ्नो ठाउँबाट सक्दो सहयोग गर्न आग्रह समेत गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.