|

तनहुँ : भानु नगरपालिकाको विभिन्न ठाउँमा आतंक मच्चाउँदै आएको नरभक्षी चितुवालाई समातिएको चार दिनपछि फेरि एक बालकलाई चितुवाले आक्रमण गरेको छ।

चितुवाको आक्रमणबाट मृत्यु हुनेमा भानु नगरपालिका-१ जामुने गैह्राका ३ वर्षीय आशिष बानियाँ रहेका छन्। दशैंको टिकापछि रमाउँदै टौवामा बनाइएको पिङ खेल्दै गरेको छोरामाथि चितुवाले आक्रमण गरेको बालकका बाबु विष्णु बानियाले बताए। उनका अनुसार चितुवाले छोरालाई मंगलबार साँझ करिव साडे पाँच बजे पिङ खेल्दै गरेको अवस्थामा आक्रमण गरेको हो।

चितुवाको आक्रमणबाट घाइते भएका बालकको लक्ष्मी अस्पताल डुम्रेमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक लिलाराज लामिछानेले जानकारी दिए। अस्पतालमा उपचारको क्रममा करिव सातबजे बालकको मृत्यु भएको चिकित्सकले जानकारी दिएको लामिछानेले बताए। उनका अनुसार चितुवाले बालकमाथि आक्रमण गरेको एक घण्टा पछि डुम्रे प्रहरी चौकीमा खबर गरिएको थियो।

खबर पाउनासाथ घटना स्थलमा गएको उनले बताए। चार दिन अघि मात्रै एउटा चितुवा समातिएको भए पनि भानु क्षेत्र पूर्ण रुपमा सुरक्षित नरहेको डिभिजन वन कार्यालय तनहुँका प्रमुख केदार बरालले बताए।

‘एउटा चितुवालाई नियन्त्रणमा लिइएको भए पनि उक्त क्षेत्र सुरक्षित नरहेकाले स्थानीयलाई सचेत रहन सुझाव दिइएको थियो’ बरालले भने, ‘समातिएकै चितुवा मान्छेलाई आक्रमण गर्ने हो भन्ने एकिन गर्न सकिएको थिएन।’ 

भानु नगरपालिकाको १, २, ३ र ४ नम्वर वडामा डेढ वर्षको अवधिमा चितुवाको आक्रमणबाट पाँच बालबालिकाको ज्यान गएको छ। साडे एक वर्षको अवधिमा चितुवाले भानुका आशिष बानियासहित चार जनाको ज्यान लिएको छ भने तीन जना घाइते भएका छन् र भालुको आक्रमणबाट तीनजना घाइते भएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.