|

डडेल्धुरा : डडेल्धुराको अमरगढी नगरपालिका–३ डोटी खेलाको पुछारमा रहेको सुदूरपश्चिमको प्रमुख धार्मिक शक्तिपिठ नजिकैको अशिग्राम मन्दिरमा लाग्ने दशैं जाँत (मेला) सम्पन्न भएको छ। हरेक वर्ष बडा दशैंको अशिग्राम मन्दिरमा दशै जाँत धुमधामसँग धार्मिक आस्थाका साथ मंगलबार सम्पन्न भएको हो।

डोटीखोला आसपासका गाउँबस्तीसँगै सदरमुकाम खलंगा र छिमेकी जिल्लाबाट पनि ठूलो संख्यामा भक्तजन दशैं जाँतका बेला घटाल बाबाको पूजाआजासँगै यो विशेष अवसरमा काम्ने घटालका धामीबाट आशिषसहित अक्षता र प्रसाद ग्रहण गरेर घर फर्किन्छन्। मेला भर्न सुदूरपश्चिमका विभिन्न जिल्ला लगायत छिमेकि देश भारतबाट पनि भक्तजन आउने गर्दछन्। मेलामा धामीले निहुरिएर मुखभरी बालुवा लिएर खाने गर्दछन्।

धामीले पहिले-पहिले ६० घडा बालुवा र ६० घडा पानी खाने गर्थे भने अहिले पनि १०/१२ मुठि जति मुखभरीको बालुवा पानीसँगै घुटुघुटु खाने गरेको स्थानीयहरुले बताउँछन। घटाल बाबासँग कसैले केही मागेमा मनोकामना पूरा हुने जनविस्वास रहँदै आएको छ। यहाँ मनोकामना पूरा भएपछि बोकाको बलि दिने चलन अहिले पनि रहिआएको छ।

किंवदन्तीअनुसार डोट्याली राजा नागी मल्लकी पुत्रविहीन रानीले भारतको गढवालबाट घटाल देउता दाइजोमा ल्याएको तर देउतालाई अहिले मन्दिर रहेको स्थानबाट दरबारसम्म लैजान नसकिएपछि त्यहीँ नै घटालबाबा स्थापना गरिएको बताइन्छ। पश्चिमी क्षेत्रमा आस्तिकहरू माझ घटालबाबाले मनोकामना पूरा गरिदिने जनविश्वास रहँदै आएको छ।

दशैं जाँतको ९ दिनअघि घटस्थापनाका दिन चम्सालमा रहेको देवघरबाट देउताको देउरो घटालस्थान नजिकै अशिग्राम मन्दिरमा पुर्‍याइन्छ बडादशैंको दिन मेला सकिएपछि  बेलुकी देउरो पुनः चम्सालमा रहेको देवघरमा ल्याइने गरिएको घटाल क्षेत्र विकास समाजका अध्यक्ष कृष्णप्रसाद बोहराले जानकारी दिए।

दशैंजातका बेला आफ्नो थातथलो छोडेर टाढा पुगेकाहरु पनि जाँतका बखत एकै दिनका लागि भए पनि घर फर्कने गरेका स्थानीय विमलप्रसाद बोहराले जानकारी दिए। द्वापरयुगमा कुरुक्षेत्रमा भएको कौरव र पाण्डव बिचको धर्मयुद्धमा भीमपुत्र घटोत्कचले ठूलो पराक्रम प्रदर्शन गरेका थिए। उनले कौरव सेना माथी धावा बोलेर ठूलो क्षति पुर्‍याएको धार्मिक ग्रन्थमा उल्लेख छ।

लडाइँ मैदान मैवीरगति प्राप्त गरेका घटोत्कचको पराक्रम देखेका श्रीकृष्णले उनलाई कलियुगमा ख्याति प्राप्त भगवानका रुपमा मान्यता पाउने वरदान दिएको परापूर्वकाल देखिको भनाइ रहेको छ। सदियौँदेखि त्यहि मान्यताअनुरूप घटाल बाबालाइ यसक्षेत्रका बासिन्दाले ठूलो धार्मिक आस्था र सम्मानका साथ पुज्ने गरेका स्थानीय बताउँछन्।

दशैं जातको अर्को आकर्षण आफन्तजनहरूसँगको भेटघाट केही समयका लागि भए पनि एकै थलोमा बसेर सुख दुख साँटासाँट गर्न पाउनु पनि हो। हालका बर्षमा बैदेशिक रोजगारी तिर जानेहरूको संख्या बर्सेनि बढन थालेको छ। त्यसैले विगतमा जस्तो पुरुषभन्दा मेलामा महिलाहरुको उपस्थिति बढदै गएको देखिन्छ। यस्तै घटाल थानमा हरेक वर्षको बैसाख २ गते पनि मेला लाग्ने गर्दछ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.