फिचर : फोटो फिचर

सखिया नृत्यमा झुम्दै थारू बस्ती (फोटो फिचर)
SHARES

असोज २२, २०७६

    कञ्चनपुर : मादलको तालसँगै कम्मर मर्काउदै थारू युवतीले नाच्ने सखिया नृत्यको कञ्चनपुरमा रौनकता छाएको छ। थारू गाँउमा दशैंका अवसरमा देखाइने सखिया नृत्य हेर्नेहरूको घुइँचो लागेको छ। परम्परागत आभूषण र पहिरनमा सजिएका थारू महिलाले सखिया नृत्य देखाउने गरेका छन्।

    धार्मिक अनुष्ठान र तान्त्रिक विधिबाट मात्रै  नृत्यको आरम्भ र अन्त्य गरिने भएकाले यस नृत्यमा थारू समुदायको अटुट आस्था र धार्मिक विश्वास रहेको छ। पहिला कम्तीमा एक महिनासम्म यस नृत्यको आयोजना गरिँदै आएकोमा खर्च बढी लाग्ने र बढी समय खेल्दा नाच्ने युवतीलाई पटयार लाग्ने भएपछि हाल सखिया नृत्यलाई छयोटयाएर १० दिनदेखि १५ दिनसम्म मात्रै नाच्ने गरिँदै आएको थारू अगुवाको भनाइ छ।

    थारू गाउँका भलादमी, बडघर, गुरुवा, केसौका आदिको बैठक बसी सखिया नृत्यको आयोजना गर्नका लागि छलफल गरेपछि नृत्यको व्यवस्थापनको चाजोपाँजो मिलाउने गरिन्छ। गुरुवा(झांक्री)ले तान्त्रीक विधिद्वारा नृत्यमा सहभागिता जनाउने युवा युवतीलाई दुष्टात्माको भवितव्यबाट बचाउनका लागि पूजा र अनुष्ठान गरेपछि यस नाचको प्रारम्भ गर्ने चलन रहेको झलारी पिपलाडी नगरपालीका ३ जोनापुर गाँउका थारू अगुवा मनिराम चौधरीले बताए।

    सखिया नृत्यमा भगवान कृष्णको जन्मलिला देखि मृत्यु सम्मको बर्णन गरिएको हुन्छ। नृत्यमा चार जना मादल बजाउने मदारीको व्यवस्था गरिएको हुन्छ। नृत्यको बीच-बीचमा गीतलाई फरक-फरक भाका हालेर गाउने गरिन्छ।

    मादल बजाउने कार्यको अगुवाई गर्ने व्यक्तिलाई अगुवा मदारी भन्ने गरिन्छ। अगुवा मदारीको तालमै ताल मिलाउँदै मादल बजाउनेलाई पछुवा मदारी भन्ने गरिएको चौधरीले बताए। नृत्यमा गीत गाउने महिलाको अगुवाइ गर्नेलाई “मोह्रिन्या” भन्ने गरिन्छ। मोह्रिन्याको सिको गर्दै नाच्ने युवतीलाई जेठ गोहिया र पछगोहिया भन्ने गरिन्छ।

    नृत्यमा मादलको तालसँगै विभिन्न मुन्द्रामा युवतीले नृत्य पस्कने गर्दछन। जसलाई थारू भाषामा खोट (पैंया) भन्ने गरिएको थारू अगुवा दानसिंह दहितले बताए। ‘पैंया २२ प्रकारको हुने गरेको भएपनि हाल मदारीहरूले आफैँ सृजना गरेर पैंयाको तरिकामा परिवर्तन ल्याएकाले यो बढी पनि हुन सक्छ’ उनले भने। 

    यस नृत्यमा मादलको ताल र गीतसँगै नृत्य गर्ने युवतीले खुट्टाको पैतलासँगै शरीरलाई मोडेर विभिन्न मुन्द्रामा पेश गर्नु पर्ने हुन्छ। यस पौराणिक मनमोहित गर्ने नृत्यलाई हेर्नेहरूको समेत थारू गाँउहरूमा निकै भीड लाग्ने गरेको छ। सप्तमीको दिनसम्म रातिको समयमा निश्चित स्थानमा गरिने यो नृत्य अष्टमीको रात भरी आयोजना गरिन्छ। अष्टमीको रातभरी आयोजना गरीने नृत्यलाई भेडुवा जगैना भन्ने गरिएको  छ।

    पञ्चमीको दिनअघि सादा पोशाकमा यस नृत्यलाई पस्किने भए पनि पञ्चमीका दिनदेखि मादल बजाउने मदारीहरूले सेतो धोती र कमिज लगाउने गर्दछन भने नृत्य गर्ने युवतीले रंगिविरंगि ऐना जडान गरेका लेहंगा, चोल्या, अंगिया, सेतो फरिया र गोन्या लगाउने गर्दछन।

    हातमा मैजरी लिएर मादलको तालसँगै महिलाले बजाउनेसमेत गर्दछन। अष्टमीको दिनपछि रातिमा नाचिँदै आएको सखिया नृत्यलाई दिउँसो नाच्ने गरिन्छ। दिउँसो पख् नाचिने सखिया नृत्यमा थारू युवतीले कृष्णको लिलाई यसरी आफ्नै भाषमा बखान गरी गीतमार्फत व्यक्त गर्ने गर्दछन। 

    बचपनसे कान्हा गुल्ली डण्डा(खेलनै रे हाँ)

    ओईसे तरपे जीया मोर हाई रे सँवारिया रे हाँ ।

    तिरछी बईठी कान्हा (बसिया बजाबै रे हाँ)

    ओइसे तरपे जीया मोरे साँबरीया  रे हाँ ।

    छतिया चिहुरी चिहुरी कान्हा (मामा मरनै रे हाँ)

    कन्सा मुवल भैनक हात हाई रे सँवरिया ।

    गीतमा कृष्णको जन्मदेखि राधिकासँग रासलिला गरेको र कंश बध गरिएको प्रसंग उल्लेख गरि परम्परागत तरिकाले आफ्नै लयमा गाइने गरिन्छ। यस नाचलाई दशैंका दिन धनी, गरीब, गाँउका मान्यजन सबैका घर-घरमा गएर देखाउने भएकाले विगतका रिसराग बिर्सिएर सबैले हेर्ने गर्दछन्। बडघरसँग टीका थाप्न जाँदासमेत सखियालगायतका परम्परागत नृत्य लगेर देखाउने चलन यस समुदायमा रहेको छ।

    दशैंपछि गाउँमा नृत्यमा सहभागि सबैजनालाई सहभागि गराई भोज खाने चलन समुदायमा विद्यमान रहेको छ। धार्मिक मान्यताअनुरूप यो नृत्यको आयोजना गरेमा गाउँमा अन्नबाली बढी फल्ने, रोगव्याधी हटने र वर्ष भरीका लागि अन्न खानपुग्ने विश्वास थारू समुदायमा रहेको छ। यसलाई अर्को शब्दमा थारू समुदायले धर्ती जाग्ना भन्ने गर्दछन्। सखिया नृत्यको आयोजना गरेमा धर्ती जागेपछि प्रशस्त अन्न फल्ने विश्वास यस समुदायमा रहेको छ।

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

राजेन्द्र पनेरु

पनेरु थाहा खबरका कञ्चनपुर समाचारदाता हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]