स्थानीय तहले बीउ दिँदैन, विज्ञ केन्द्रले वास्ता गर्दैन

|
फाइल फोटो

बागलुङ : सदरमुकाममा गाई पालन गरेर बसेका नन्दलाल सापकोटाले तीन वर्षअघि जिल्ला पशुसेवा कार्यालयबाट घाँसको बीउ पाउँथे। लगेर गाउँमा लगाएर गाईभैँसीलाई हिउँदमा खुवाउँथे।

स्थानीय तह गठनपछि पशु विकास कार्यालय विज्ञ केन्द्रको रूपमा रुपान्तरण भयो। पशुसेवाको अधिकार स्थानीय तहमा पनि पुगेको छ। तर, नगरपालिकाले उनी जस्ता किसानलाई घाँसको बीउ दिन छाडेको छ। जसको कारण पोखरा वा अन्य बजारमा पुगेर बीउ खोजेर ल्याउन बाध्य भएको सापकोटाले बताए।

स्थानीय तहले नदिने, विज्ञ केन्द्रले पनि वास्ता नगर्दा हिउँदको समयमा पशुवस्तुलाई खुवाउने जै घाँस उत्पादन घटेको छ। यसअघि उत्पादनले जिल्लामा पुगेर बिक्री गर्ने किसान अहिले घरघरमै खपत गर्न नपाएर चिन्तित भएका छन्।

यहाँका किसानले तीस वर्ष अघिदेखि जै घाँसको व्यावसायिक उत्पादन थालेका थिए। घाँस उत्पादन गरेर पोखरा, भैरहवा र धौलागिरीका सबै क्षेत्रमा पठाउने समेत गर्थे। तर केही वर्ष यता प्राविधिक सहयोग नपाएको र किसानले पाउने अनुदान नभएपछि उत्पादन घटेको अगुवा किसान गोबिन्द पौडेलले बताए।

बागलुङ नगरपालिका ४ कुँडुले र अमलाचौरलाई घाँस उत्पादनको पकेट क्षेत्र मानिन्थ्यो। यहाँका नरहरी सापकोटा, डिल्ली सापकोटा र शशिधर आचार्यलगायतले व्यवसायिक घाँस उत्पादन गर्दै आएका थिए। २०४७ देखि हरेक वर्ष १० मेट्रिकटनसम्म घाँस बिक्री हुने गरेको थियो। दुई वर्षदेखि जिल्लामा प्रविधि, मल र उपचारका लागि साथ दिने कोही नपाएको उनले गुनासो गरे। हरेक वर्ष उत्पादन क्षमता र दर कम भएको पौडेलले बताए।

जिल्ला पशु सेवा कार्यालयमा बजेट र कार्यक्रम आउन छाडेपछि उनीहरूले प्राविधिक सहयोग पनि नपाएका हुन्। ‘काम त गरिरहेका छौँ, तर पहिला प्राविधिक सहयोग पाइन्थ्यो, अहिले वास्तै हुँदैन’ पौडेलले भने, ‘नगरपालिकाले कृषि क्षेत्रलाई वास्तै गरेको छैन।’ अघिल्लो वर्ष बजेट शून्य हुँदा किसानले पशुहरूको कृतिम गर्भाधानसमेत गराउन पाएका थिएनन्।

यो वर्ष पनि कृषि क्षेत्र हेर्ने गरी बजेट र कार्यक्रम नभएको उनीहरूले गुनसो गरे। तत्कालीन पशुसेवा कार्यालयमा हाल भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र स्थापना भएको छ। चालु वर्षको चार महिना सकिँदासम्म कार्यक्रम र बजेट नआएपछि काम के गर्ने भन्ने अन्यौल भएको पशुस्वास्थ्य प्राविधिक केशब पौडेलले बताए। ‘किसानले राम्रो गरेका छन्, प्राविधिक सहयोग गर्न सकिएको छैन’ पौडेलले भने, ‘उत्पादन खस्केकोले निरास किसानलाई स्थानीय तहले सहयोग गर्नुपर्छ।’ समन्वय अभावमा घाँसको बीउसमेत बिचौलीयाले खरिद गरेर किसानलाई ठगेको उनले आरोप लगाए।

कार्यालयले व्यवस्थित रुपमा बिक्री र बजारीकरणको व्यवस्थापन गरिदिएको थियो । अहिले किसानको घरघरबाट बिक्री हुन्छ। घरघरबाट बिक्रीगर्दा मूल्य पाउन नसकेको किसानले गुनासो गरेका छन्। यहाँ जै र भेज घाँस उत्पादन हुन्छ। भेज घाँसको मूल्य राम्रो पाउने भए पनि उत्पादन घटेको छ। जै घाँसको बीउ प्रतिकेजी ६० र भेजको प्रतिकेजी २ सय रुपैयाँ पर्छ। भेज घाँसमा प्रोटिनको मात्रा बढी पाइने भएकोले दूध उत्पादन पनि बढी हुन्छ। व्यावसायिक गाई र भैँसी पालेका किसानले घाँसको खोजी गर्छन्।

यसअघि बागलुङको अमलाचौर घाँस बिकास केन्द्र र मुक्तिनाथ घाँस विकास समितिमार्फत जिल्लालाई पुर्‍याएर लाखौं रुपैयाँको बाहिर पठाउने गर्थे। युवा पलायनले कामदार अभाव भएपछि उत्पादन गर्न नसकिएको शसिधर आचार्यले बताए। ‘काम गर्ने कोही छैन, बूढाबूढीले कति गर्न सकिन्छ र?’ आचार्यले भने, ‘युवाले काम सिकेनन् भने केही वर्षमा पहिचान बनेको घाँस उत्पादन घटेर हामी नै किनेर ल्याउनेमा पुग्छौँ।’ पशुपालनको संख्या पनि घटेपछि घाँसको माग घटेको हो। पर्वतको पाङमा समेत यहाँका किसानले जमिन खरिद गरेर उत्पादन गरेको घाँस अहिले शून्यमा झरी सकेको उनले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.