|

तनहुँ : जिल्ला प्रहरी कार्यालय तनहुँमा वर्षेनी मुद्दा दर्ताको चाप बढ्दै गएको छ । प्रहरी कार्यालयको त्रिवर्षीय मुद्दा दर्ताको विवरणले जिल्लामा वर्षेनी मुद्दा दर्ताको सङ्ख्यामा वृद्धि भएको देखाएको छ। पछिल्लो आर्थिक वर्षमा अभद्र व्यवहारका समेत  ३८ मुद्दा दर्ता भएका छन्।

आर्थिक वर्ष २०७३/७४ मा ३७९ जम्मा मुद्दा दर्ता भएको कार्यालयमा ०७४/७५ मा ३७८ र ०७५/७६ मा ४३२ वटा मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ । 

प्रहरी उपरीक्षक सिलवालका अनुसार चालू आर्थिक वर्ष ०७६/७७ मा पनि ८४ वटा मुद्दा दर्ता भइसकेको छ । दर्ता भएका मुद्दामध्ये आर्थिक वर्ष ०७३/७४ मा ३७८ फछ्र्यौट भइ १, ०७४/७५ मा ३०७ फछ्र्यौट भइ ७१ र ०७५/७६ मा ३६७ फछ्र्यौट भइ ५६ मुद्दा फछ्र्यौट हुन बाँकी रहेको छ भने चालू आर्थिक वर्षमा ५४ फछ्र्यौट भइ ३० मुद्दा फछ्र्यौट हुन बाँकी रहेको छ । कार्यालयमा कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, जबर्जस्ती करणी, जबर्जस्ती करणी उद्योग, जबर्जस्ती चोरी, लागुऔषध लगायतका मुद्दा बढिरहेको सिलवालले बताए ।

गत आर्थिक वर्षमा प्रहरी कार्यालयमा दर्ता भएकामध्ये सबैभन्दा बढी मुद्दा सवारी ज्यान र लागुऔषधको रहेको छ । उक्त अवधिमा सवारी ज्यानको ५१ र लागुऔषधको ४४ मुद्दा दर्ता भएको थियो । उक्त दुवै मुद्दा फछ्र्यौट भइसकेको सिलवालले जानकारी दिए । 

त्यस्तै सोही अवधिमा जबर्जस्ती करणीको २२, जबर्जस्ती करणी उद्योगको छ, कर्तव्य ज्यानको १०, नकबजनी चोरीको १५, अभद्र व्यवहारको ३८, सार्वजनिक उपद्रयाइको २० मुद्दा दर्ता भएको प्रहरी कार्यालयले जनाएको छ । कार्यालयले जिल्लाका विभिन्न ठाउँमा उम्रिएका गाँजा फँडानी, विद्यालयमा सचेतना अभियान, लागुऔषध नियन्त्रण लगायतलाई प्राथमिकता दिएको छ । 

साथै समुदाय–प्रहरी साझेदारी अभियानअन्तर्गत जिल्लास्तर समिति बैठक, पालिकास्तरीय बैठक, अभिमुखीकरण लगायतका कार्यक्रम सम्पन्न भएको प्रहरीले जनाएको छ ।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.