|
फाइल फोटाे

बुटवल : पाल्पाली फौजले अङ्गे्रजलाई परास्त गरेको बुटवलको जीतगढीमा बिहीबार सराय नाच प्रदर्शन गरिएको छ। गुल्मी, अर्घाखाँची र पाल्पा जिल्लामा बडादशैंको अवसर पारेर नाचिने सराय नाच लोप हुने खतरा रहेको भन्दै ती जिल्लाबाट बसाइँ सरेर तराई झरेका स्थानीयवासीले यहाँ प्रदर्शन गरेका हुन्।

स्थानीयवासीले खुडा, तरबार, खुकुरीसहितका हतियार प्रदर्शन गर्दै सराय नाचेका हुन्। यो नाच कोत वा मन्दिर नजिकैको समथर भू–भागमा मात्र नाच्ने गरिएकाले जीतगढीमा पनि दुर्गा मन्दिरको आँगनमा आयोजना गरिएको थियो। गुल्मीको धुर्कोट र चोएङ्गा, अर्घाखाँचीको अर्घाभगवती र भण्डारथुम, पाल्पाको भैरवस्थान लगायतका ठाउँमा यो नाच विशेष किसिमले सयाैं  स्थानीयको उपस्थितिमा नाच्ने गरिन्छ। 

 तरबार, खुडालगायतका हतियारसहित पञ्चेबाजाको तालमा नाचिने यो नाचमा देवीहरूका प्रतिकका रुपमा लिइने आलमलाई समेत लिएर नाच्ने प्रचलन छ। शक्तिपीठका अगाडि आलम स्थापना गरिएको स्थानमा पूजारीको हातबाट टीका लगाएर हतियार पूजा गरी नाच्ने गरिन्छ। गोल घेरामा सराय नाचेपछि हतियार नचाउने कौशल प्रदर्शन समेत गरिन्छ।

संस्कृतिविद् राजेन्द्रकुमार आचार्यका अनुसार यस क्षेत्रमा सरायको अर्थ चुचुरोमाथिको समथर भाग भन्ने बुझिन्छ। चुचुरोमाथि कोतमा शक्ति पीठका मन्दिर हुने र ऐतिहासिक हतियारको भण्डारण पनि कोतको मन्दिरमा हुने भएकाले कोत नजिकैको समथर भागमा हतियारसहित नाच्ने परम्परा भएकाले यसलाई सराय भनिएको हो।

सराय शब्दलाई वृहत नेपाली शब्दकोषमा यात्री बस्न वा विश्राम गर्न बनाइएको सत्तल, पाटी वा विशेष घर भनिएको छ। साथै विशेष पर्वका दिन मन्दिरभित्रका खुडा, तरबार, खड्क आदि हतियार हातमा लिएर गुल्मी, अर्घाखाँचीतिर बाजाको तालमा नाचिने एक प्रकारको जात्रा भन्ने उल्लेख छ।

भुरे टाकुरे राजाहरूको पालादेखिनै यो नाच प्रदर्शन हुँदै आएका विभिन्न मान्यता छन्। त्यस बेलाका राजाहरूले भगवान् रामले रावण लगायतका राक्षस बध गरी मानवजातिलाई मुक्ति दिलाएको खुशीयालीमा विजयादशमीको दिनदेखि कोजाग्रत पूर्णिमाको दिनसम्म सराय नाच्ने परम्परा चलाएको मान्यता छ।

अर्को मान्यता अनुसार ५६५ वर्षअघि जाँट राजाको शासनको पालामा दानवीय स्वभाव भएका ती राजालाई मारेको सम्झनामा सराय नाच्ने परम्परा थालिएको किंबदन्तीसमेत छ। जांट वंशीय राक्षसी स्वभाव भएका ती राजाले चाहेका बेला स्थानीयले बालबालिकाको बली दिनुपर्ने प्रचलनका कारण आक्रान्त भएकाले उनकै भारदार र श्रीमतीकै योजनामा डल्ले भन्ने स्थानमा मारिएको खुशीयालीमा यो नाच नाच्ने प्रचलन चलेको मान्यतासमेत छ। 

युद्ध जित्न सहयोग पुर्‍याएका हतियारको सम्मानमा ‘वाख्खै’ शब्द उच्चारण गर्दै यो नाच नाचिन्छ। ‘वाख्खै’ शब्दको अर्थ ‘त्यसलाई नछोड’ भन्ने रहेको उनको भनाइ छ। हातमा खुकुरी, खुडा, तरवार,ढाल र लठ्ठी हातमा लिएर दमाहा, नरसिंहा, ट्याम्को, सनही र झ्यालीको तालसँगै सराय नाच नाचिन्छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.