|

मोरङ : प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले शान्ति-सुरक्षा एवं सुशासन प्रदेश सरकारको पहिलो सर्त रहेको बताए। प्रदेश १ प्रदेश प्रहरी कार्यालय विराटनगर रानीद्वारा शुक्रबार यहाँ ६४ औँ प्रहरी दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले देश शान्तिको मार्गमा हिँडिरहेकाले विगतको जस्तो झमेला व्योहोर्नु नपर्ने विचार व्यक्त गरे।

मुख्यमन्त्री राईले अपराधमुक्त प्रदेश बनाउने सरकारको संकल्पलाई नेपाल प्रहरीले निष्ठावान् भएर काम गर्नुपर्ने धारणा राख्दै मुलुकमा उच्च छवि र समाजमा विश्वास आर्जन गरेको नेपाल प्रहरीलाई सुदृढ गर्दै लैजाने बताए। उनले आगामी दिनमा हुने लगानी सम्मेलनबाट पर्यटन, पूर्वाधार र जलस्रोतको क्षेत्रमा व्यापक परिवर्तन आउने भन्दै सुरक्षाबिना देशको विकास हुन नसक्ने भएकाले नेपाल प्रहरी यसमा दत्तचित भएर लाग्नुपर्ने उल्लेख गरे। उनले देश र जनताका निम्ति कर्तव्य पालना गर्ने क्रममा ज्यान गुमाएका प्रहरीप्रति हार्दिक श्रद्धाञ्जलि पनि अर्पण गरे। 

आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीले नेपाली जनता र राष्ट्रको सुरक्षामा अहोरात्र खटिने प्रहरी संगठनको कामलाई सराहना गर्दै प्रदेश प्रहरी ऐन ल्याएर प्रहरी संगठनलाई अझ बलियो बनाउने बताए। उनले सूचना र प्रविधिको विकाससँगै हुने नयाँ किसिमको अपराध र घटनालाई सामना गर्ने किसिमको प्रहरी संगठन बनाउन प्रदेश सरकारले कुनै कसर बाँकी नराख्नेमा दृढता व्यक्त गरे।

प्रदेश प्रहरी प्रमुख ठाकुरप्रसाद ज्ञवालीले सीमित साधन र स्रोतको उच्चतम प्रयोग गरी नेपाल प्रहरी सदैव नेपाली जनताका सेवा र सुरक्षामा खटिरहेको दाबी गरे।कार्यक्रममा अपराध र शान्ति-सुरक्षामा अहम् भूमिका निर्वाह गर्ने भोजपुरका प्रहरी जवान खेमनाथ भट्टराईलाई ५० हजार, भोजपुरकै प्रहरी जवान सुरेन्द्र माझीलाई २५ हजार र इलामका प्रहरी जवान मुकुन्द माझीलाई २५ हजार राशिको साधनादेवी प्रहरी पराक्रम पुरस्कार प्रदान गरियो।

एसइई परीक्षामा उत्कृष्ट हुने  प्रहरी परिवारका १० जना विद्यार्थीलाई जनही १० हजारको छात्रवृति पनि प्रदान गरियो। सोही कार्यक्रम खेलकूदतर्फ ब्याडमिन्टन र दौडमा विजयी हुने प्रहरीलाई पनि पुरस्कृत गरियो भने प्रदेश प्रहरी परिवार संगठनले अमर प्रहरीका परिवारजनलाई दोसल्ला ओढाएर सम्मान पनि गरेको थियो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.