कोरला नाका खुल्ने खबरले मुस्ताङ्गी र म्याग्देली उत्साहित

|

म्याग्दी : विश्व अर्थतन्त्रमा बलियो पकड जमाउन सफल नेपालको उत्तरी छिमेकी मुलुक चीनका राष्ट्रपति सी चिनफिङको भोलिदेखि हुने दुई दिने नेपाल भ्रमणका क्रममा हुने उच्चस्तरीय वार्तामा कोरला र किमाथांका नाकाको स्तरोन्नतिसहित सञ्चालन गर्ने कार्यसूची समावेश भएको खबरले मुस्ताङ र म्याग्दीका वासिन्दा उत्साहीत भएका छन्।

२३ वर्ष पछि हुन थालेको चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणले दुई देश बीचको  भौतिक निर्माण र आर्थिक सम्वन्ध विस्तार गर्ने प्रयासलाई प्राथमिकता दिनुका साथै कोरला र किमाथांक नाकाको स्तरोन्नतिसहित संचालनमा ल्याउने कार्यसूची समावेश भएपछि दुई जिल्लाका जनता उत्साहित भएका हुन्।

म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तमकुमार कर्माचार्यले चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणमा कोरला नाका संचालनको एजेण्डा पनि समावेश गरिएकोमा खुसी व्यक्त गर्दै यो नाका संचालन भएमा म्याग्दीसहित गण्डकी प्रदेशका सवै जिल्ला लाभान्वित हुने बताए।

‘कोरला नाका मुस्ताङ र म्याग्दीको विकासको मेरुदण्ड सावित हुनेछ', उनले भने ‘तर, कामको गति र नेपालतर्फको तयारी हेर्दा छिटै सञ्चालन होला भनेर विश्वस्त हुने ठाउँ भने छैन।' त्यस्तैगरी मुस्ताङ उद्योग वाणिज्य संघका अध्यक्ष खगेन्द्र तुलाचनले उच्च स्तरीय एजेण्डामा कोरला नाका संचालनको विषय समावेश गरिनुले नाका संचालन हुनेमा मुस्ताङीहरु विश्वस्त भएका प्रतिक्रिया दिए।

त्यसैगरी कोरला नाकामा चीनले गरेको तयारी र नेपाल सरकारले वार्ताका लागि तयार पारेको कार्यसूचीमा कोरला नाकाले प्राथमिकता पाएकामा गण्डकी प्रदेशका सांसद इन्द्रधारा विष्टले खुशी व्यक्त गरे। ‘मित्रराष्ट्र चीनका राष्ट्र प्रमुखको राजकीय भ्रमणले सीमावर्ती क्षेत्रका बासिन्दालाई उत्साहीत बनाएको छ’, सांसद विष्टले भने ‘दुई देशबीचको वार्ताको क्रममा कोरला नाका सञ्चालन गर्ने विषय समावेश हुनु अझ खुशीको कुरा हो।’

यसैगरी सांसद प्रेमप्रसाद तुलाचनले चिनियाँ राष्ट्रपतिको भोलिदेखि हुने भ्रमण दुई देशबीचको व्यापारिक, आर्थिक र पूर्वाधार विकासका हिसाबले कोशेढुंगासावित हुने विश्वास व्यक्त गरे। त्यस्तै नेपाल र चीन दुई देशका राष्ट्र प्रमुखको विचमा हुने सहमति पछि कोरला नाका सञ्चालन हुने कुरामा ढुक्क हुन सकिने धेरैको प्रतिक्रिया रहेको छ।

कोरला नाका संचालन भएमा भारतसँगको व्यापारिक परनिर्भरता हट्ने, धौलागिरी क्षेत्र व्यापारिक केन्द्रको रुपमा विकास हुने मात्र नभइ कालीगण्डकी करिडोरमा जलविद्युत् र पर्यटन विकासमा पनि महत्वपूर्ण योगदान पुग्ने नेपाल उद्योग वाणिज्य महासंघका पूर्व उपाध्यक्ष प्रमोद श्रेष्ठले बताए।

यस्तो छ नेपालको तयारी 

कोरला नाका संचालनका लागि चीनले लगभग सम्पूर्ण तयारी पूरा गरिसकेको छ। चीनको स्वासाशित क्षेत्र तिब्बत्को ढोङ्वासेनमा पर्ने कोरला नाका क्षेत्रमा चीनले भन्सार, सुरक्षा, सडक पहुँचलगायतको भौतिक निर्माण पुरा गरिसकेको छ। तर,नेपालको तयारी भने अत्यन्त न्यून देखिएको छ। गत असारमा मात्र भन्सारका लागि आवश्यक जग्गाको व्यवस्थापन वाहेक नेपालको तर्फबाट भने अरु कुनै काम हुन सकेको छैन।

नेपाल र चीनबीच व्यापारिक सम्बन्धका लागि सबै भन्दानजिक र उत्तम मानिएको कोरला नाका सञ्चालनका लागि सरकारले २०७३ देखि बेनी जोमसोम कोरला सडक आयोजनामार्फत पहुँच मार्ग निर्माण गरिरहेको छ।

चुपचाप कालीगण्डकी गर्ज

नेपालका ठूला जलविद्युत आयोजनामा चीनले चासो बढाइरहेको भएपनि म्याग्दीमा निर्माणाधिन १६४ मेघावाट क्षमताको काम भने कछुवा गतिमा अघि बढेको छ। चाइना न्यू क्लियर पावर गु्रपको संलग्नतामा काम भैरहको कालीगण्डकी गर्ज नेपालका हाइडो सलुसनले काम गरिरहको छ। तर कार्यसूचिमा कालीगण्डकी गर्ज भने समावेश गरिएको छैन।

सुस्त गतिमै छ कालगण्डकी करिडोर 

गण्डकी प्रदेशको लाइफलाइन मानिएको कालीगण्डकी करिडोरको बेनी-जोमसोम-कोरला सडक खण्डको निर्माण कार्य पनि सुस्त गतिमा अघि बढेको छ। 
नवलपरासीको बर्दघाटदेखि मुस्ताङको कोरला जोड्ने ४०६ किलोमिटर दूरीको कालीगण्डकी कोरिडोर भारत र चीन जोड्ने नेपालकै छोटो सडक हो।

म्याग्दीको बेनीदेखि मुस्ताङको जोमसोमसम्मको ७६ किलोमिटर दुरीको सडक दुई लेनको कालोपत्रे गर्न सञ्चालित आयोजनाको हालसम्म ५० प्रतिशत भौतिक प्रगति भएको छ। जोमसोमदेखि ११० किलोमिटर उत्तरतर्फ अवस्थित कोरला नाकामा सहज रुपमा यातायातको पहुँच पुर्‍याउन सात वटा प्याकेजमा दुई लेनको ग्राभेल सडक निर्माण भइरहेको छ।

छोसेरदेखि चीनको स्वशासित क्षेत्र तिब्बतको सिमानामा पर्ने कोरला नाकाको २४ नम्बर पिल्लरसम्मको १६ किलोमिटर सडक स्तरोन्नति भइसकेको आयोजना प्रमुख मुकुन्द अधिकारीले बताए। ‘जोमसोम-कोरला खण्डका सात वटा प्याकेजमा भइरहेको सडक स्तरोन्नति अन्तिम चरणमा छ’ आयोजना प्रमुख अधिकारीले भने, ‘ट्याक मात्र खोलिएको अवस्थामा रहेको सडकलाई ११ मिटर फराकिलो, नाली, ग्याबिन पर्खाल, मेसिनरी पर्खाल निर्माण र ग्राभेल गर्न लागिएको छ।’

खम्पा बिद्रोहको ह्याङओभर

२०७२ सालको महाभूकम्पले क्षति पुर्‍याएपछि बन्द भएको तातोपानी र रसुवागढी नाका संचालनमा चीनले देखाएको तत्परता र मुस्ताङसँग सीमा जोडिएको कोरला नाका संचालनमा देखाएको उदासिनता यहाँका जनताका लागि शंकाको विषय बनेको छ।

विसं २०३२ मा शुरु भएको कोरला नाकामा खम्पा विद्रोहपछि समस्या सिर्जना भएको थियो। एक चीन नीति विरोधी गतिविधिलाई रोक्न पछिल्लो समय चिनियाँ पक्षले आवत-जावतमा कडाइ गर्दै आएको छ। 

मुस्ताङमा भारतीय पक्षको पनि नजर रहने गरेको छ। चीनलाई खम्पा विद्रोह जस्तै सम्भावित अन्य कुनै समस्या आइपर्ने हो कि भन्ने ह्याङओभरका कारण पनि कोरला नाका संचालनमा त्यति धेरै चासो नभएको वुद्धिजीवीको भनाइ रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.