|

पर्वत : ‘मन्त्री ज्यू, हाम्रो घरमा जाउँ, हामीले पकाएको चिया खुवाउँला। एक पटक मेरो घरको खेतीपाती र खाद्यान्न राख्ने आँटीमा हेरिदिनुहोस के हालत छ’ पर्वतको फलेवास नगरपालिका ३ शंकरपोखरीको सिसाठाँटीका शालिग्राम अधिकारीले भने, ‘घरमा भएको अनाज जति बाँदरले खान्छ, नगरपालिकाले कर मात्र लिन्छ, म त बुढेसकालको मान्छे, टाउको पनि होचो होचो हुँदै गएको छ। त्यहीँमाथि करले थिचेर झन् सानो भो। भएको अन्न बाँदर खाएसी पालिकालाई कहाँबाट पैसा ल्याएर कर तिरौँ?’ शालिग्रामको यो प्रश्न आफ्नै नगरपालिकाको वडा नं. ५ खानीगाउँबाट गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री बनेका विकास लम्साललाई हो।

प्रदेश सरकारले सांसद विकास कोषका लागि सांसदलाई दिएको दुई करोड रुपैयाँ खर्च गर्ने योजनाको छनोट गर्न फलेवास नगरपालिका ३ शंकरपोखरीको वडा कार्यालयमा आयोजना भएको अन्तरक्रिया कार्यक्रममा स्थानीय जनताले यस्तै खालका थुप्रै गुनासा र सुझाव मन्त्री लम्सालसँग राखे।

सामान्यतः निर्वाचनपछि नेताहरू गाउँ फर्किँदैनन्, त्यसमा पनि लम्साल भने मन्त्री पदमा रहेकै बेला जनताको सुझावकै आधारमा विकासको कोषको रकम खर्च गर्ने शीर्षक खोज्दै आफ्नो क्षेत्रका २९ वडामा अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्ने गरी डुलिरहेका छन्। गाउँका सामान्य नागरिकसँग मन्त्रीले प्रत्यक्ष अन्तरक्रिया गर्ने भएपछि बालबालिकादेखि युवा र प्रौढ उमेरकादेखि जेष्ठ नागरिकसम्म पनि छलफलमा सहभागी भए।

स्थानीय नागरिकको सुझावको आधारमा दुई करोड बाँड्ने योजना बनाउन वडामा पुगेका मन्त्री लम्साललाई स्थानीयले गाउँमा सुरु गर्न सकिने योजना र त्यसका लागि आवश्यक पर्ने बजेटका कुरा भन्दा पनि निर्वाचनपछि भोगेका पिडा र गुनासा धेरै व्यक्त गरे। दलित बस्तीका एक जना समाजसेवी पूर्ण बहादुर दर्जीले निर्वाचनको बेलामा धेरै नेताले बजाउने बाजा अनुदानमा दिउँला भनेको सम्झिँदै त्यही कुरा मन्त्री लम्साललाई सम्झाए।

‘धनीको होइन गरिब, पीडित र दलितको टोलमा छिर्नुपर्‍यो मन्त्री ज्यू,’ उनले भने, ‘हराएका बाजा ब्युँताउन बाजा सहयोग गर्ने भनेर पटक पटक भनियो, अहिलेसम्म कसैले केही गरेन। लौन! हामीलाई बाजा मिलाईदिनुपर्‍यो।’ पूर्ण बहादुरलाई बाजाको माग गरिरहँदा अन्तरक्रियामा बोल्ने अन्य केहीले भने गएको वैशाख र जेठ महिनामा हावाहुरीसहित आएको असिना र बार्षाले मकै बाली सखाप पारेको क्षतिपूर्ति दिन प्रदेश सरकारले पहल गर्नुपर्ने माग गरे।

वडाध्यक्ष अर्जुन बहादुर कार्कीले दलित, गरिब तथा विपन्न परिवारहरू धेरै रहेको शंकरपोखरीमा लगाइएको मकै बाली पूर्ण रूपमा असिनाले सखाप पारेपछि कृषकको हालत नै खराब भएको बताउँदै मन्त्री लम्सालसँग प्रदेशबाट राहत मिलाइदिन अनुरोध गरे। नेपाली कांग्रेसबाट वडाध्यक्षमा विजयी बनेका कार्कीले तत्कालीन एमालेबाट विजयी बनेका लम्साललाई अब देशमा राजनीतिक मुद्दा हराएर विकासको मुद्दा अगाडि आएको बताउँदै मत दिएको आधारमा योजना पार्ने काम नगर्न सचेत पनि गराए।

अन्तरक्रिया कार्यक्रममा सहभागी भएकाहरूले शंकरपोखरी पुर्कोट र लिमिकोटलाई समेटेर पर्यटन विकासको कार्यक्रम अगाडि सार्न सकिने, सामाजिक सुरक्षा भत्ता बैंकबाट दिने प्रणालीले ज्येष्ठ नागरिकलाई सास्ती भएको, मोटर बाटोको लागि आवश्यक बजेट नआएको, खानेपानीको अभावले सधैँ समस्यामा परेको, घर नबनाएकाहरूले पनि भूकम्प पीडितले पाउने अनुदान लिएर बैंकमा राखेको, वडामा प्राविधिक विद्यालयको आवश्यकता रहेको, ल्याब र एक्स रे सेवा सहितको अस्पताल आवश्यक रहेको लगायतका माग राखेका थिए।

पत्रकार बिभू भुसालले भने सांसद विकास कोषमा रहेको पैसाले नगरपालिकाभित्र रहेको बोकेझारको प्रशोधन गर्न सकिने योजना तयार पारेर कामको सुरुवात गर्न सकिने बताए। ‘पोखरा विश्वविद्यालयले दश वर्ष अगाडि नै बोकेझारको फूलबाट इन्धन निकाल्न सकिन्छ भनेर सफल अनुसन्धान गरेको थियो’ उनले भने, ‘विश्वविद्यालयसँग सहकार्य गरेर त्यो पैसा खर्च गर्न सकियो भने, आम्दानी हुन्छ, औद्योगिक विकास हुन्छ, किसानलाई हैरान पारेकोले उखेलेर फाल्नुपर्ने झारबाट पैसा कमाउन सकिन्छ।’

पर्वतको प्रदेश सभा ख बाट निर्वा्चित भएका मन्त्री लम्सालले आफ्नो क्षेत्रमा रहेका २९ ओटै वडाहरूमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेर ती कार्यक्रमहरूमा सङ्कलन भएका सुझावका आधारमा विकासको योजना तयार पारेर सांसद विकास कोषको रकम विनियोजन गर्ने बताएका छन्।

उनले शंकरपोखरी कृषि र पर्यटनका हिसाबले प्रचुर सम्भावना बोकेको क्षेत्र रहेको भन्दै गाउँलेहरूले विकासको अनुभूति हुने गरी योजना तयार पारेर आफैँसमक्ष पेस गरेमा त्यस्ता योजनाको लागि कोषबाट मिल्ने र सक्ने जति बजेट छुट्ट्याउने बताए। तर विकासको अनुभूति हुनका लागि कम लगानीमा धेरै प्रतिफल निस्कने खालका योजनाहरूको छनोट गर्नुपर्ने मन्त्री लम्सालको सुझाव छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.