​प्रहरी भन्छ- क्षमताभन्दा तेब्बर यात्रु बोक्दा भयो दुर्घटना

|

सिन्धुपाल्चोक​ : इन्द्रावती गाउँपालिका–१० भोटसिपामा शुक्रबार बिहान बस दुर्घटना हुँदा १२ जनाको मृत्यु भयो। दुर्घटनामा १०० भन्दा धेरै घाइते भएका छन्।

दशैँ मनाएर कर्मथलो फर्किएकाको दुर्घटनामा परी मृत्यु भएपछि पुरै गाउँ शोकमा डुबेको छ। दशैँको रौनक हट्न नपाउँदै गाउँमा सन्नटा छाएको छ। अत्यधिक यात्रुको चापको कारण भार थाम्न नसकेपछि ब्रेक फेल भएर बस पल्टिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी माधव काफ्ले बताउँछन्।

सिन्धुपाल्चोकबाट काठमाडौँका लागि छुटेको हेलम्बु यातायातको बा २ ख २७१५ नम्बरको बस दुर्घटना भएको हो। दुर्घटनमा पाँचजनाको घटनास्थलमै मृत्यु भएको थियो। पाँचजनाको धुलिखेल अस्पतालमा र एकको धुलिखेल ल्याउँदै गर्दा बाटैमा ज्यान गएको डिएसपी काफ्ले जनाकारी दिए। ११ जनाको मृत्यु भए पनि मृतक एक महिलाको पेटमा रहेको बच्चालाई गणना गर्दा १२ को मृत्यु हुन पुगेको उनले बताए।

मृत्यु हुनेमा बसचालक काभ्रेको बनेपा–३ का केदारनाथ महाजू, पाँचखाल ३ की संगीता मिजार र ललितपुरकी सविता श्रेष्ठको मृत्यु भएको छ। यस्तै, सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–९ का हीरा श्रेष्ठ, विनोद लम्साल, जुनादेवी लम्साल छन् । सोही गाउँपालिका वडा नम्बर १० का रीतेश आचार्य, सुभाष अधिकारी, बिना मगर, सुमिता पुर्कोटी, मेलम्ची नगरपालिका–१३ का गणेश तामाङ रहेका छन्। घाइतेमध्ये ३५ जनाको उपचार भइरहेको छ। अन्य उपचारपछि डिस्चार्ज भैसकेको डिएसपी काफ्लेले जनाए। उपचार गराइरहेका ३५ को अवस्था पनि खतरामुक्त रहेको उनको भनाइ छ। घाइतेको धुलिखेल, बनेपा र काठमाडौँका विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

दुर्घटना लगत्तै उद्दारको लागि प्रदेश ३ का सामाजिक विकासमन्त्री युवराज दुलाल नेपाली सेनाकोे एमआई १७ हेलिकोप्टर लिएर घटनास्थल पुगेका थिए। मन्त्री दुलाल र इन्द्रावती गाउँपालिका अध्यक्ष वंशलाल तामाङसहित राजनीतिक दलका स्थानीय नेता उद्धारमा खटेका थिए। 

यसरी भयो दुर्घटना 

क्षमताभन्दा धेरै यात्रु बोक्दा बस दुर्घटना भएको हो। ओभरलोडकै कारण टायर पन्चर भएपछि ब्रेकफेल भएको प्रहरीले जनाएको छ। कच्ची सडकको मोडबाट २०० मिटर तल खसेको हो।

टायर पन्चरपछि पनि चालकले बस गुडाएको र मोडमा पुगेपछि ब्रेकफेल भएर भीरमा खसेको प्रत्यक्षदर्शीहरु बताउँछन्। दशैँ मनाएर कर्मथलो फर्कने क्रममा सिटबाहेक उभिने यात्रु खचाखच थिए। छतमा समेत यात्रु थिए। दुर्घटनामा चौतारा, मेलम्ची, नवलपुर र भीमटारबाट प्रहरी, स्थानीयको सक्रियतामा उद्दार गरिएको थियो।

आर्थिक सहयोग

दुर्घटनामा मृत्यु भएका परिवारलाई इन्द्रवती गाउँपालिकाले जनही २५ हजार रुपैयाँ सहयोग दिने गाउँपालिकाका अध्यक्ष वंशलाल तामाङले जानकारी दिए। किरिया खर्चको रुपमा सो रकम उपलब्ध गराउन लागिएको उनको भनाइ छ।

‘किरिया खर्चको रुपमा २५ हजार उपलब्ध गराउँने भएका छौँ, बिरामीको उपचारलाई लागि यातायात समितिले बेहोर्छ,’ अध्यक्ष तामाङले भने, ‘त्यस्तो केही अवस्था सिर्जना भएको खण्डमा बिरामीको उपचारका लागि गाउँपालिकाले जिम्मा लिन्छ।’

घाइतेहरुको उपचारका लागि पूर्वसञ्चार मन्त्री तथा नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले सहयोग गरेका छन्। बस्नेतले घाइतेको उपचारको लागि ५० हजार आर्थिक सहयोग गरेका हुन्।

बस्नेतले शुक्रबार राष्ट्रिय ट्रमा सेन्टरमा उपचार गराइरहेका घाइतेलाई भेटेर रकम वितरण गरे। साथै, दुर्घटनामा अभिभावक गुमाएका बालबालिकालाई निःशुल्क शिक्षा प्रदान गर्ने प्रतिवद्धता जनाएका छन्। 

छानविन गर्न कांग्रेसको माग

बस दुर्घटनाको छानविन गर्न प्रमुख प्रतिपक्ष नेपाली कांग्रसले माग गरेको छ। कांग्रेस सभापति शेरबहादुर देउवाले शुक्रबार विज्ञप्ति जारी गर्दै दुर्घटनाको छानविन गर्न माग गरेको हुन्।

पछिल्लो समय बढ्दै गएको सडक दुर्घटना कम गर्ने उपाय खोज्न समेत माग गरेका छन्। दुर्घटनाको छानविन गर्न एक कार्यदल गठन गर्न सरकारलाई विज्ञप्तीमार्फत ध्यानाकर्षण समेत गराए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.