|

पर्वत : आइतबारको कोजाग्रत पूर्णिमापछि यस वर्षको दशैं सकिँदै छ। दशैंका केही दिन अगाडिबाट भरिभराउ बनेका गाउँहरू फेरि रित्तो भइसकेका छन्।

दशैं मान्नका लागि गाउँमा रहेका आफ्ना जन्मघर तथा पुर्ख्यौली घरमा पुगेकाहरू पनि सधैँको दैनिकी धान्नकै लागि गन्तव्यमा फर्किएका छन् त कोही फर्किने क्रममा छन्। दशैंका कारण सुनसान बनेका सहरहरू फेरि उही रमाइलोको लयमा फर्किएका छन्। पर्वतको फलेवास नगरपालिका स्थित ठानामौलाकी ६३ वर्षीया कलावती पौडेललाई दशैं गएपछि रमाइलो र खुसी पनि सँग-सँगै गएको जस्तो लागेको छ।

दशैं मनाउनकै लागि सहरमा बस्दै आएका छोराछोरी, आफन्त, इष्टमित्र गाउँमा गएको भए पनि दशैं लगत्तै उनीहरू गन्तव्यमा फर्किएका छन्। यही कारण कलावतीलाई दशैं गएपछि गाउँमा एक्लै बस्दा नरमाइलो लाग्न थालेको छ। ‘दशैं मनाउन छोराछोरी, बुहारी, नाति नातिना सबै घरमा आए, घरै उज्यालो भको थियो। कति रमाइलो थियो’ कलावती भन्छिन्, ‘दशैं गयो। उनीहरू पनि गए। मेरो त घरै सुनसान भयो। अब तिहारमा आउन के गर्छन् कुन्नि? नत्र एक वर्ष पर्खेर बस्ने हो। दशैं जाँदा, सन्तान गए। त्यसैसँग मेरो खुसी पनि जान्छ सधैँ।’

गाउँमा बस्दा दूध र घीउ खाँदै सबैसँग रमाइलो गर्न पाइए पनि आफ्नो दैनिकी धान्ने ब्यपार, व्यवसाय वा पेसा अँगाल्नकै लागि सहर फर्किनै पर्ने बाध्यता छ। गाउँमा रोजगारी र आम्दानीका अवसर नभएका कारण गाउँ छोड्नेहरू धेरै छन्।

दशैं मनाउनकै लागि पर्वतको बिहादीमा रहेको आफ्ना पुर्ख्यौली घरमा पुगेका यमलाल पुरी पनि अब बजार फर्किने सुरसार छन्।

‘सदरमुकाम कुस्मामा किराना पसल राखेको छु। परिवारको खर्च धान्ने त्यही पसल छ। अब त गाउँ छोडेर बजार जानै पर्छ’, यमलालले भने, ‘गाउँमा बसेर गाई भैँसीको ताजा दूध र दही खाने रहर त हुन्छ। बा आमा र परिवारसँग सँगै रहने पनि त मन छ। तर बाध्यता हो, घर बसेर खान पुग्दैन। आमाको आशीर्वाद थाप्न गाउँमा आइयो। अब फर्किने हो।’

शिक्षा, रोजगारी, सुविधालगायतका कारणले बजारमा बस्दै आएकाहरू बडा दशैं मान्नकै लागि गाउँ जाँदा नवदुर्गाको अष्टमीका दिनदेखि बजार पूर्ण रूपमा सुनसान बनेको थियो। बजारका सबै सटरहरू बन्द थिए भने मान्छेको आउजाउ पनि शून्यमा झरेको थियो। दशैं सकिए लगत्तै आउजाउ गर्नेहरूको भीड बढेको र बजार पुरानै लयमा फर्किएको ब्यपारी सञ्जय नेपालीले बताए।

सदरमुकाम कुस्मामा झोला उद्योगको साथै सो रुम पनि सञ्चालन गर्दै आएका उनले टीकाको दिनसम्म सुनसान रहेको बजार एकादशीकै दिनबाट पुरानै लयमा फर्किन थालेको जानकारी दिए।

दशैंमा बजारबाट घर फर्किनेहरूका कारण भरिभराउ भएका सवारी साधनहरू अहिले गाउँबाट सहर फर्किनेका कारण भरिभराउ भएका छन्। यात्रुको चापका कारण अघिपछि खाली दौडिने गरेका सवारी साधनमा यात्रुहरू भरिएको र सवारीहरू नै अपुग भइरहेको ट्राफिक प्रहरीका रूपमा कार्यरत प्रहरी सहायक निरीक्षक राजेन्द्र पौडेलले बताए।

‘दशैं आउने बेलामा देश र विदेशबाट गाउँ फर्किने र सदरमुकाम भित्रिनेहरूको चाप धानी नसक्नुको थियो’, उनले भने, ‘दशैं लगत्तै फेरि बाहिरिनेको भीड थामी नसक्नुको छ। पहिले पहिले रित्तै हिँड्नुपर्ने सवारीमा अहिले यात्रु नै अटेका छैनन्। सवारी साधनकै कमी भएको छ।’

दशैंलगत्तै गन्तव्यमा फर्किने यात्रुको चापका कारण सडकमा खटी रहनु परेको उनले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.