|

सोलुखुम्बु : सीता एयरको विमान ठूलो दुर्घटनाबाट जोगिएको छ। शनिबार बिहान ८ः३० बजे रामेछापको मन्थलीबाट सोलुखुम्बुको तेञ्जिङ हिलारी विमानस्थल लुक्लातर्फ उडेको उक्त ट्विनअटर विमान दुर्घटनाबाट जोगिएको हो।

नागरिक उड्डयन कार्यालय रामेछापका प्रमुख अमितकुमार चौरसियाका अनुसार विमानको इन्जिनभित्र चरा पसेको थियो। उड्ने तयारीमा रहेको विमान धावन मार्गको करिब ७५ प्रतिशत भाग पार गरेपछि चरा ठोक्किएको र फरक आवाज आएको विमानस्थल कार्यालयले जनाएको छ।

चालक दललाई चरा ठोक्किएको विषयमा तत्काल जानकारी भएकाले सोही विमानस्थलमा आकस्मिक अवतरण गराइएको विमानस्थल प्रमुख चौरसियाले जानकारी दिए।

तीन जना चालक दलका सदस्यसहित १३ जना विदेशी पर्यटक यात्रु लिएर उडेको सीता एयरको ९ एन–आई–ई विमान सकुशल अवतरण सफल भएको बताइएको छ। यसरी विमानको इन्जिन भित्र चरा पसे पनि सकुशल अवतरण गराइएकाले यसलाई सामान्य रूपमा लिइने विमानस्थल कार्यालयले जनाएको छ। 

यहि असोज १४ गते देखी २ महिनाको लागि मन्थली विमानस्थलबाट लुक्ला उडान हुनथालेको छ। पर्यटकीय सिजनमा उक्त विमानस्थल प्रयोग गरिँदै आएको उक्त विमानस्थलबाट लुक्लाका लागि दैनिक ४० वटा सम्म उडान हुने गरेको विमानस्थल प्रमुख चौरसियाले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.