|

काठमाडौं : गत बिहीबार त्रिभुवन विमानस्थल बाहिरबाट ३३ किलो सुन बरामद गरेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) ले आठ महिनाअघि छ किलो सुन बरामद गरेको थियो। सुनको व्यापार घट्दै जाँदा कारोबारी पनि सुस्ताउने र व्यापार बढ्दा सक्रिय हुने गरेको अनुभव प्रहरीसँग छ। 

भारततर्फ लगिने अवैध सुनको ट्रान्जिट प्वाइन्ट नेपाल भएपनि पछिल्लो समय भारत र नेपालमा सुनको मूल्यमा अन्तर नभएपछि तस्करीको सुन अहिले नेपालमा नै प्रयोग हुने गरेको छ। दुई वर्षदेखि भारतबाट सुन आयात गर्दा लाग्ने भन्सार दर घटाएकाले नेपाल र भारतमा सुनको मूल्यमा अन्तर छैन। त्यसैले नेपालको बाटो हुँदै तस्करी गरिएको सुन भारत जान छाडेर नेपालमा नै प्रयोग हुन थालेको नेपाल सुनचाँदी व्यवसायी महासंघका निवर्तमान अध्यक्ष मणिरत्न शाक्य बताउँछन्। 

‘नेपालमा सुनको भन्सार दर प्रति तोला चार हजार नौ सय रुपैयाँ छ’, उनले भने ‘अवैध रुपमा सुन ल्याउँदा एक किलो सुनमा चार लाख ४२ हजार रुपैयाँ नाफा कमाउन सक्छन्, ब्यापारीले पनि एक तोलामा पाँच हजार रुपैयाँ कम गरेर सुन पाउने भएपछि तस्करीको सुनमा आकर्षित भएका छन्।’

कसरी हुन्छ सुनको तस्करी?

दुबईबाट अवैध रुपमा सुन नेपाल ल्याएर बिक्री गर्दा एक किलोमा झण्डै साढे चार लाख रुपैयाँ नाफा हुन्छ। त्यसैले दुबईमा रहेका नेपालीहरुले हुण्डीमार्फत पठाएको रकमले सुन किनेर नेपाल पठाएको पाइएको सिआईबीका एक अनुसन्धान अधिकृतले भने। ‘एकातिर हुण्डी र अर्कोतर्फ अबैध सुन बिक्रीबाट दोहोरो फाइदा लिइराखेका छन्’, उनले भने ‘हुण्डीमा पनि रेट मिलाएर खान्छन्, सुनमा त झन् धेरै नाफा भएपछि अवैध धन्दामा लाग्ने भइहाल्ने भए नि।’

तस्करीमा संलग्नहरुले दुबईमा रहेका कामदारले घर पठाउने पैसा मनी ट्रान्सफरबाट पठाउँदा भन्दा बढी दिने प्रलोभनमा आफूले लिन्छन्। दुबईमा उठाएको पैसा दुबईमा नै राख्छन् र नेपालमा रहेको एजेन्टमार्फत कामदारका परिवारलाई भुक्तानी गर्छन् र दुबईको रकमले सुन किनेर तस्करी गरी नेपाल ल्याउँछन्।  

नेपाल राष्ट्र बैंकले तोकेको अमेरिकी डलरको दररेट भन्दा बढी रकम पाउने भएपछि त्यही प्रलोभनमा कामदारहरुले तस्करलाई पैसा सुम्पिने र त्यही रकमले सुन किनेर नेपालमा अवैध रुपमा भित्र्याउने गरेका छन्। अवैध रुपमा नेपाल भित्र्याएर सुन व्यापारीहरुसँग सेटिङमा बिक्री गर्ने गरेको पनि अनुसन्धानमा संलग्न प्रहरी अधिकृतले जानकारी दिए।

‘दुबईमा रहेका तस्करहरुले विदामा रहेका नेपालीहरुलाई प्रलोभनमा पारेर सुन नेपाल पठाउने गर्छन्’, उनले भने ‘सुन किन्न नसक्ने कामदार नेपालीलाई कोटा अनुसारको सुन बोकाई पठाउने र नेपालमा आफ्नो एजेन्टलाई सुन जिम्मा लगाई निश्चित रकम लिने गरेको पाइन्छ।’

सुन कारोबारमा संलग्न तस्करहरूले सुनको सिक्रीदेखि औंठीसमेत बनाएर लगाइदिने, सुन बोकाएर पठाएको व्यक्ति र उसको जहाजको फोटो खिचेर तुरुन्त नेपालका एजेन्टलाई पठाउने गर्छन्। काठमाडौं विमानस्थलको आगमन क्षेत्रमा बसिरहेका ती एजेन्टले सुन ल्याउने व्यक्ति आउने बित्तिकै सामान लिने र ५० ग्राम सुन ल्याइदिए वापत ५ हजार रूपैयाँ लिने गर्छन्। तर, ठूलो परिमाणमा आउने सुन भने सबैतिरको सेटिङ बिना नेपाल भित्रन गाह्रो हुन्छ।  

किन हुन्छ तस्करी?

नेपालमा सुनको आयात नेपाल राष्ट्र बैंकले मात्र गर्न पाँउछ। दैनिक २० किलो सुन राष्ट्र बैंकले बाणिज्य बैंकहरुमार्फत खरिद गरेको सुन ब्यापारीहरुले बैंकबाट किनेर लिनुपर्छ। नेपालमा दैनिक ५० किलो सुनको माग छ। यसैले माग अनुसारको पूर्ति गर्नका लागि व्यापारीहरुले नै यसरी आएको अवैध सुन सस्तो मूल्यमा किनेर मंहगोमा बेच्ने गर्छन्। 

‘नेपालमा सात–आठ किलोसम्म सुनको बिक्री गर्ने व्यापारीलाई सरकारले नै कारोबार गर्नको लागि दिने गरेकोले पनि चाँडै पैसा कमाउन खोज्ने व्यापारीले अवैध सुनलाई वैध बनाउने गर्छन्’, महासंघका निवर्तमान अध्यक्ष शाक्यले भने ‘एक किलो सुनको भन्सार शुल्क नै पाँच लाख २० हजार रुपैयाँ लाग्छ, त्यसमा फाइदा हुन्छ, अर्कोतर्फ सस्तोमा किन्न पाइन्छ।’

सरकारले सुनको कोटा बढाउदा राजस्व पनि बढ्ने र तस्करी पनि घट्ने भएकोले कोटा बढाउनका लागि सरकारलाई अनुरोध गर्दै आएको भएपनि कुनै कदम नचालेकोले तस्करी मौलाइरहेको उनको भनाइ छ। 

प्रहरी सक्रियता

खाडी मुलुकबाट आठ महिनापछि ठूलो परिमाणमा सुन आएको फेला परेपनि सडकमार्गबाट पनि अवैध सुन आइरहेको छ। चीनसँगको सीमा नाका तातोपानीबाट आएका सुनहरु बेला बेलामा प्रहरीले बरामद गरेकाले त्यहाँबाट सुन तस्करी हुने पुष्टी हुन्छ। 

तर भूकम्पपछि तातोपानी नाका ठप्प भएपछि केरुङबाट रसुवा हुँदै सुन तस्करीको नयाँ रुट तस्करहरुले प्रयोग गर्न थालेका छन्। मोटरसाइकलको सिट मुनि पाँच किलो सुन ल्याउदै गर्दा रसुवागढीमा सशस्त्र प्रहरीले रसुवा टिमुरेका कुङजाङ तामाङलाई पक्राउ गरेको थियो। 

पछिल्लो पटक १० किलो र सात किलो सुन प्रहरीले रसुवाको बाटो हुँदै काठमाडौं आउँदै गर्दा बरामद गरिसकेको छ। पटक पटक अवैध रुपमा सुन भेटिएपछि प्रहरीले अवैध सुन भित्र्याउन व्यापारी नै संलग्न त छैनन् भनेर पनि सोधपुछ अघि बढाएको थियो।

प्रहरीले २०७१ मंसिरमा भक्तपुरमा फेला परेको २३ किलो सुनको बारेमा व्यापारीहरुलाई नै केरकार गरेको थियो। महानगरीय प्रहरी अपराध महाशाखाले अवैधानिक रुपमा सुन भित्रिन थालेपछि न्युरोड, विशालबजार, बांगेमुढा क्षेत्रमा रहेका ठुला सुन व्यवसायीलाई नै सोधपुछ गरेको थियो। 

इतिहास के छ?

पञ्चायत शासन व्यवस्थामा पनि नेपालमा सुन तस्करी हुने गरेको इतिहास छ। २०४२ सालमा सुर्खेतबाट निर्वाचित राष्ट्रिय पञ्चायत सदस्य चन्दबहादुर बुढालाई अवैध रुपमा सुन भित्र्याउदै गरेको अवस्थामा पक्राउ गरेको थियो। त्यसलगत्तै २०४३ सालमा पनि लमजुङबाट निर्वाचित नरबहादुर गुरुङ पनि पक्राउ परेका थिए। 

यो क्रम त्यत्तिबेला देखि चलेको भएपनि २०५१ सालपछिको सरकार परिवर्तका खेलहरु तीब्र रुपमा हुन थालेपछि सुन तस्करीको क्रम फैलिएको थियो। २०५५ सालमा एक सय ३३ टन सुन वैध रुपमा भित्रिएको भएपनि सबै सुन भारतमा खपत हुने भएपछि नेपालमा सुन तस्करी त्यत्तिखेर मौलाएको थियो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.