|

रौतहट : समाजसेवा नसा हो जो भित्रैबाट भिज्न सके सफल भइन्छ भन्ने उदाहरणको लागि रौतहटका चन्द्रपुर नगरपालिका वार्ड नं. ४ चन्द्रनिगाहपुर निवासी सपूतबहादुर कार्कीलाई लिन सकिन्छ। समाजसेवा यस्तो अतभूत चिज हो जसले मानिसलाई समाजमा स्थापित गर्न सहज बनाउँछ र त्यति मात्र नभई आफूले नसोचेका कुराहरु समेत अनुभूत तथा देख्न पाइन्छ भन्नेको पनि उनलाई एउटा सफल उदाहरणको रुपमा लिन सकिन्छ।

समाज सेवाको कारण उनीले देशभरीका ७७ वटै जिल्ला र दर्जनौ देशको संस्कृतिसमेत साटासाट गर्न भ्याएका छन्। २०२३ साल साबिक पौराई गाविस हाल चन्द्रपुर नगरपालिका -१ मा जन्मिएका कार्की २०४० सालदेखि चन्द्रपुर नगरपालिका-४ चन्द्रनिगाहपुरका स्थायीबासिन्दा हुन्। २०३४ सालदेखि नव दुर्गा बाल क्लब चन्द्रनिगाहपुरबाट समाजसेवा सुरु गरेका कार्की गत भदौ १९ गते नेपाल सरकारबाट प्रदान गरिने जनसेवा श्री पदक समेतबाट विभूषित भइसकेका छन्।

कार्कीलाइ राष्ट्रपति विद्यादेवी भण्डारीले विभूषित गरेकी थिइन्। आफ्नो जीवनको ३५ वर्ष समाजसेवा गरेका कार्की भन्छन् ‘समाजसेवाले नै मलाई देशभरिका ७७ वटै जिल्ला र विभिन्न दर्जनभन्दा देशको संस्कृति साटासाट गर्ने अवसर दिएको छ।’

उनी भन्छन्, ‘समाजसेवा भन्ने चिज मनको भावनाबाट आउनुपर्छ,जसले स्वतस्फूर्त रूपमा गर्न सकोस्।’ २०३८/०३९ सालतिर देशभक्त युवा क्लब खोलेर सक्रिय समाजसेवा गर्दै आएका कार्कीले भने, ‘समाजिक कार्यले नै मलाई विश्वका ११ देश र नेपालका ७७ वटै जिल्ला घुमाएको छ जुन अवसर अरू कार्यबाट पाइँदैन।’

कार्कीले २०४४ सालबाट नेपाल रेडक्रस सोसाइटीको सदस्यता लिएर विभिन्न कमिटी हुँदै हाल रेडक्रसको केन्द्रीय सदस्यसमेत छन्। उनी जुनियर युवा समितिको केन्द्रीय सभापति पनि हुन्। रेडक्रसको केन्द्रीय समितिअन्‍तर्गत सहकोषाध्यक्षको पदसमेत सम्हालीसकेका कार्कीले गत वर्ष रौतहटलगायत मधेशमा आएको महाविपत्तिको रुपमा आएको बाढीपीडित जनतालाई रेडक्रसमार्फत ठूलो सहयोग गरेका छन्।

उनी समाजको आर्थिक,समाजिक तथा बौद्धिक विकाशका लागि पनि उत्तिकै तल्लीन भएर लागिपरेका छन्। २०५१ सालमा सेभ द इन्भारोमेन्ट गैरसरकारी संस्थाको संस्थापक अध्यक्षसमेत रहेका कार्कीले मध्ये तराईकै अर्थात् प्रदेश नं. २ मै पहिलो साबिक गाविसको रूपमा रौतहटको जुडिबेला गाविसलाई खुल्ला दिसा मुक्त घोषणा गर्न सफल भएका थिए।

उनले भने, ‘मधेशमा सरसफाइको ठूलो चुनौतीको बाबजुद पनि २०६६ सालमा जुडिबेलालाइ मधेशको पहिलो गाबिसको रुपमा खुला दिसामुक्त घोषणा गर्न सफल भइयो जुन युद्ध जितेको भन्दा पनि बढी खुसी लागेको थियो।’

खुला ठाउँमा शौच गर्नु हुँदैन भन्दा समाजले उल्टै गाली गर्ने अवस्थामा पनि सबै अस्त्र प्रयोग गरेर भए पनि आम नागरिकको घरमा शौचालय बनाउन लगाएर पहिलो गाविसका रूपमा जुडिबेलालाई खुला दिसामुक्त बनाएको कहिल्‍यै बिर्सन सकिँदैन’ कार्कीले भने।

मधेशमा ‘बुहारी गएको शौचालयमा ससुरा जानु हुँदैन’ भन्ने गलत परिपाटीलाइ चिरेर पनि पछिल्लो पटक बिश्रामपुर लगायतका क्षेत्रमा खुला दिसामुक्त क्षेत्र घोषणा गरेको कार्कीले सुनाए। पछिल्लो समय गत वर्ष पनि जिल्लाको विश्रामपुर गाविसलगायत विभिन्न गाविसहरू खुला दिसामुक्त बनाउने जिम्मा कार्कीकै काँधमा आएको थियो।

आफूमा आएको जिम्मा सहज रूपमा पूरा गरेको कार्कीले बताए। सरसफाइको हिसाबले देशै सबैभन्दा तल्लो तहमा रहेको रौतहटमा सरसफाइको काम गर्न ठूलो चुनौती रहेको उनको भनाइ छ।

यति मात्र हैन उनको यो संस्थाले नवलपरासी र सुनसरीमा आर्सनिक न्यूनीकरणसम्बन्धी पनि काम गरेको थियो। २०७२ सालमा आएको भूकम्पबाट पीडित परिवारको राहतका लागि पनि ३६ दिन विभिन्न जिल्लामा काम गरेको अनुभव पनि सुनाउँछन्। 

स्‍नातकोत्तर सम्मको अध्ययन पूरा गरेका समाजसेवी कार्कीले २०४५ सालमा ‘पागल’ कथा संग्रहसमेत प्रकाशित गरेका थिए। कार्कीका राष्ट्रियस्तरका विभिन्न पत्रपत्रिकाहरुमा समसामयिक विषयमा लेख रचना,कथा लगायतका समाग्रीहरूसमेत प्रकाशन हुँदै आएका छन्। उनी विभिन्न संघ संस्थामार्फत पटकपटक

अमेरिका,स्वीजरल्याण्ड,फिनल्याण्ड,डेनमार्क,इटली,स्वीडेन,इन्डोनेसिया,थाइल्ण्ड,भारत,बंगालादेश लगायतका देशहरुमा विभिन्न सभा सम्मेलन घुमिसकेका छन्। खासमा उनी नेपाल रेडक्रस सोसाइटीको विभिन्न देशमा आयोजना हुने सम्मेलनमा बढी जाने गरेको बताउँछन्।

आफ्नो जLवन नै रेडक्रसमा बिताएको बताउँदै कार्की भन्छन्, ‘रेडक्रस त अब प्राणभन्दा प्यारो लाग्न थाल्यो।’ यी सबै निस्वार्थ रुपमा गरिएको समाजसेवाको कारण घुम्न पाएको कार्कीको प्रतिक्रिया छ।

वैदेशिक भ्रमणबाट धेरै कुराहरु सिक्न पाएको कार्कीको अनुभव छ। विदेश जस्तो हाम्रो देश सम्पन्न नभए तापनि विस्तारै समाजलाई विकाशोन्मुख बनाउँदै लैजान भने पक्कै सकिने उनको अनुभव छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.