|

पर्वत : पर्वतको कुस्मा नगरपालिका ९ कटुवाचौपारीका महोदत्त अधिकारी (विष्णु) लाई सुरक्षा फौजमा भर्ती भएर राष्ट्रको सेवा गर्ने धोका सानैदेखि जागेको थियो। बच्चा उमेरबाट नै प्रहरीमा भर्ती हुने सोच पाल्दै आएका उनी नेपाल प्रहरीमा भर्ती पनि भए। तर सुरक्षा निकायमा रहेर लामो समय देशको सेवा गर्ने उनको चाहना भने पूरा हुन सकेन।

२०५२ सालमा नेपाल प्रहरीको सिपाही पदबाट जागिर सुरु गरेका उनले २०५८ सालमा प्रहरीको जागिर छाडे। तत्कालीन द्वन्द्वको समयमा तत्कालीन माओवादीले छोरालाई प्रहरीको जागिर छोड्न घरमा रहेका आमा र श्रीमतीलाई पट्क पट्क दबाब दिए। प्रहरीको जागिर नछोडेमा त्यसको परिणाम राम्रो नआउने धम्की आएपछि आमा र श्रीमतीकै बलमा घरका एकल सन्तानका रूपमा रहेका अधिकारीले जागिर छाडे।

उनी भर्ती हुँदाका बखत घरको आर्थिक अवस्था निकै दयनीय थियो। बिहान बेलुकाको छाक कसरी टार्ने? भन्ने सम्मको पिडा हुने गरेको बेलामा भएको जागिर पनि छोड्न बाध्य भएपछि उनलाई जीवनले आर्थिक उपार्जनको लागि नयाँ सङ्घर्षको बाटो सिकायो। कहिले गाई पालन, कहिले लेयर्स कुखुरा पालन, कहिले ब्रोइलर कुखुरा पालन गर्दै उनले जसोतसो जिन्दगीको रथलाई तानिरहे।

आफ्ना दुई सन्तान सहित श्रीमती र आमालाई पाल्नकै लागि आर्थिक अवस्थालाई मजबुत पार्नुपर्ने बाध्यता बस उनले तरकारीको उर्वर भूमिको रूपमा चिनिएको कटुवाचौपारीमै तरकारी खेती पनि सुरु गरे। त्यही बिचमा घर जग्गाको कारोबार गर्न पनि सुरु गरे। उनको आर्थिक अवस्थामा पहिलेको भन्दा निकै सुधार आयो।

हरेक काममा कडा परिश्रम गर्दै आएका उनले हरेक कामबाट सफलता पनि पाउँदै गए। पछिल्लो समयमा किराना पसल, तरकारी खेती, कुखुरा पालन र गाई पालन गर्दै आएका उनले अब स्थानीय र विकासी जातका पाडा पाल्न पनि सुरु गरेका छन्।

विष्णुले हालै मात्रै तीस ओटा पाडा खरिद गरेर भैँसी पालनलाई बिस्तार गर्ने गरी व्यावसायिक रूपमा पाडा पालन सुरु गरेका छन्। गोठमा बाँधिएका गाईको दूध मात्र बिक्री गर्दै आएका उनले पालेका पाडाबाट तत्कालै दूध उत्पादन भने हुने छैन। आगामी दुई वर्ष भित्रमा दैनिक दुई सय लिटर भन्दा बढी उत्पादन गरेर बिक्री गर्ने लक्ष्यका साथ विष्णुले झन्डै पन्ध्र लाखको लगानीमा पाडा÷पाडी खरिद गरेका छन्।

‘सकेसम्मको काम अहिले नै गर्नुपर्छ, मिहिनेत गर्न सकेमा हरेक काममा सफलता मिल्छ भन्ने विश्वास मलाई छ।’ उनले भने, ‘पसल सँगसँगै कुखुरा पालन, गाई पालन र तरकारी खेती त भएको नै छ, अब पाडा हुर्काएर दुई वर्षभित्रमा ठुलो परिमाणमा दूध उत्पादन गर्ने लक्ष्य राखेको छु।’ अधिकारीका गोठमा बाँधिएका अधिकांश पाडा भने बुटवलबाट खरिद गरेर ल्याइएका हुन्।

स्थानीय जातका भैँसीले भन्दा उन्नत जातका भैँसीबाट दूध उत्पादन बढी हुने भएकोले बुटवलबाट पाडा खरिद गरेर ल्याएको उनले बताए। उनको गोठमा बाँधिएका अधिकांश पाडाका उमेर डेढ देखि दुई वर्ष सम्मको छ। यही कारण अबको दुई वर्षभित्रमा ती सबै पाडाबाट दूध उत्पादन सुरु भइसक्ने छ।

नजिकै रहेको सदरमुकाम कुस्मा बजारलाई प्रमुख र आप्mनै घर रहेको कटुवाचौपारी क्षेत्रलाई शाखा बजार बनाएर उनले दूध बिक्री गर्ने योजना बनाएका छन्। अधिकारीले पाडाहरु ब्याएपछि अबको दुई वर्षमा दैनिक एक लाख असी हजार रुपैयाँ बराबरको दूधको मात्र कारोबार गर्ने लक्ष्य राखेका छन्।

‘मुर्रा जातका भैँसीले धेरै दूध दिन्छन्, यही कारण बुटवल पुगेर लिएर आएको हो।’ विष्णुले भने, ‘यी सबै पाडाहरु ब्याउँदा दैनिक दुई सय लिटर दूध बजारमा पठाउँदा एक दिनमा करिब एक लाख असी हजार रुपैयाँको कारोबार हुने छ।’ उत्पादित सबै दूधले बजार पाउन नसकेमा दूधबाट बनाइने अन्य परिकारहरू तयार गरेर बजार पठाउने विष्णुको योजना छ।

कटुवाचौपारी धान उत्पादनको लागि पनि जिल्लाकै उदाहरणणिय ठाउँ हो। यही कारण भैँसी पालनका लागि घाँस र परालको समस्या नहुने उनले बताए। ‘मोदीको तीरमा रहेको बौरमा धेरै नै जग्गा छ, त्यहाँबाट घाँस मात्र ल्याउने हो। अरू बालीनाली लगाएका छैनौँ।’ उनले भने, ‘कटुवाचौपारीमा पराल प्रशस्तै मात्रामा पाइने भएका कारण समस्या हुँदैन्। घाँस परालले अप्ठ्यारोमा पार्दैन, पाडाको स्याहार सुसारको लागि हामी कति खट्न सक्छौँ भन्ने कुरा महत्त्वपूर्ण हो।’

प्रहरीको जागिर छोडेपछि धेरैले विदेश जानको लागि सुझाव दिएको भए पनि बाह्य देशमा गएर पसिना बगाउनुले देशको सेवा हुन नसक्ने महोदत्तको भनाई छ। देशको सेवा गर्न चहानेहरुले स्वदेशमा नै जागिर वा अन्य कुनै पेसा, व्यवसाय अङ्गालेर सफल बन्न सक्नुपर्ने उनको सुझाव छ। विदेशमा गएर अर्कैको आदेशमा घण्टौँसम्म बिना आराम काम गर्न तयार हुने नेपाली युवाहरूले त्यही शैलीमा आफ्नै गाउँ ठाउँमा केही न केही गर्ने हो भने त्यसमा धेरै सुख र शान्ति मिल्ने महोदत्तको भनाई छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.