|

तनहुँ : दशैंको अवधिमा तनहुँमा ७५४ सवारी साधनलाई कारवाही गरिएको छ।

नेपालीको महान पर्व वडादशैंमा मात्रै माधक पदार्थ सेवन, बढी यात्रु राख्ने, भाडा बढी लिने गरी सवारी साधनलाई कारवाही गरिएको जिल्ला ट्राफिक कार्यालय तनहुँले जनाएको छ। यस अवधिमा सबैभन्दा बढी बस कारवाहीमा परेको जिल्ला ट्राफिक कार्यालय तनहुँका प्रमुख प्रहरी नायव निरीक्षक पूर्णबहादुर अधिकारीले जानकारी दिए।

अधिकारीका अनुसार गत वर्षको तुलनामा यसवर्षको दशैं अवधिमा मापसे गरी सवारी चलाउन कम भएको र दुर्घटना समेत कम भएको छ। बढी यात्रु राख्ने, सवारी भाडा बढी लिने, सामग्री बोक्ने सवारीले मानिस बोक्ने र मापसे गर्ने सवारी चलाएका गरी ७५४ सवारीसाधनलाई कारवाही गरिएको अधिकारीले बताए। 

२४० बसलाई कारवाही गर्दा एक लाख ५४ हजार रुपैयाँ राजश्व संकलन भएको छ भने २०८ मोटरसाइकललाई कारवाही गर्दा एक लाख ५७ हजार पाँच सय रुपैयाँ राजश्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले जनाएको छ।

कार्यालयका अनुसार १६९ जीपकारलाई कारवाही गर्दा ९९ हजार, १२० ट्रकलाई कारवाही गर्दा ६२ हजार पाँच सय, २७ ट्याक्टरलाई कारवाही गर्दा १८ हजार रुपैयाँ राजश्व संकलन भएको छ। 

२३ सवारीले बढी भाडा लिए

त्यस्तै जिल्ला ट्राफिक कार्यालय तनहुँले यात्रुसँग बढी भाडा लिने २३ सवारीसाधनलाई कारवाही गर्नुका साथै यात्रुलाई बढी भाडा फिर्ता गरेको छ। छतमा यात्रु राख्ने र बढी भाडा लिने सवारी साधनले लिएको भाडा सम्बन्धित यात्रुलाई फिर्ता गरिएको ट्राफिक प्रमुख अधिकारीले बताए। उनका अनुसार सामान बोक्ने सवारीमा यात्रु बोकेको दुई वटा सवारीलाई समेत कारवाही गरिएको छ।

बेलचौतारा, भिमाद, थर्पु, पुर्कोट, डुम्रे र आँबुखैरेनीमा चेक पोष्ट राखी बढी भाडा लिएको थाहा पाउनासाथ सवारीको नम्बर ट्रयाप गरी कार्यालयमा बोलाएर वा नजिकको चेक पोष्टमा रोकी कारवाही गरिएको उनले बताए। 

‘कम यात्रु भएको खण्डमा सवारी रोकेका छौं, बढी यात्रुलाई अर्को सवारीमा पठाउने गरेका छौं, यात्रुको चाप भएको खण्डमा भने कारवाहीका रुपमा जरिवाना लिएर पठाएका छौं,’ उनले भने, ‘यात्रु पनि सचेत हुन जरुरी छ, बढी यात्रु चढेको सवारीमा नजाने गरेमा दुर्घटना कम हुन्छ।’

विभागमा कारवाहीको लागि पठाएमा सजाय हुनुका साथै ५ लाख रुपैयाँ सम्मको जरिवाना हुने प्रावधान रहेको छ। दशैंमा यात्रुको चाप बढेकाले बढी यात्रु बोक्ने सवारीलाई एक हजारदेखि एक हजार पाँच सय रुपैयाँसम्म जरिवाना लिएर चलाउन दिएको अधिकारीले बताए। 

सवारी दुर्घटनामा चार जनाको मृत्यु

त्यसैगरी दशैंको १५ दिन अर्थात् घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्ममा चार वटा सवारी दुर्घटना भएका छन्। दुर्घटनामा परी चार जनाको मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय तनहुँले जनाएको छ।

असोज १८, २२, २५ र २६ गते भएको दुर्घटनामा परी चार जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएको ट्राफिक प्रमुख पूर्णबहादुर अधिकारीले जानकारी दिए। उनका अनुसार सडकको दुरावस्था, नयाँ चालकका कारणबाट जिल्लामा दुर्घटना बढी हुने गरेका छन्। 

स्थानीय भन्दा अन्य जिल्लाबाट आउने सवारी बढी दुर्घटनामा पर्ने गरेको उनको भनाई छ। सडकको अवस्था थाहा भएको भन्दा यस सडकखण्डमा पहिलो पटक सवारी चलाउने चालकबाट दुर्घटना बढी हुने गरेको उनले बताए।

विगतका वर्षहरूमा भन्दा यसवर्ष सडकमा दुर्घटना, बिना लाइसेन्स सवारी चलाउने र बढी स्पीड सवारी चालउन कम भएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.