प्रहरीले पनि उमेर घटाएर फाइल बनायो

|

वीरगन्ज : अन्तर्राष्ट्रिय मुद्दा बनिसकेको पर्साकी मुस्कान खातुनमाथि तेजाव प्रहारमा संलग्न युवाहरुको उमेर घटाउने चलखेल भएको खुलेको छ। 

वीरगन्जस्थित नारायणी क्षेत्रीय अस्पतालका ४ जना डाक्टरहरुले तेजाव प्रहारमा संलग्न समसाद मिया र मजिद मियाको उमेर १८ र २० वर्ष रहेको मेडिकल रिपोर्ट दिएका छन्। तर आफन्तहरु उनीहरुको उमेर घटाउन शक्तिकेन्द्र धाउन थालेको खुलेको हो । 

समसादको उमेर १८ वर्ष र मजिदको उमेर २० वर्ष रहेको मेडिकल रिपोर्टमा उल्लेख छ। तर परिवारजनले दुवैको उमेर क्रमशः १४ र १५ वर्ष भनेर प्रहरीमा दाबीसहित नाबालिक भएकोले त्यही अनुसारको सजायको लागि लबिङ गरिरहेका छन् ।

पर्सा क्षेत्र नं १ का सांसद प्रदीप यादवले मुस्कान खातुन माथि भएको तेजाव प्रहारको घटनाबारे प्रहरीले गरिरहेको अनुसन्धान र मुद्दाको प्रकृयाबारेमा प्रहरीसँग जानकारी लिएका छन्।

पर्साका सञ्चारकर्मीहरुको रोहबरमा सोमबार पर्साका प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरसँग भेटेर उनले मुस्कान घटनाको अनुसन्धानबारे चासो देखाउँदै दोषीमाथि कानुन बमोजिम कारवाही गर्नेु पर्ने माग राखेका छन्।

गत भदौ २० गते घरबाट विद्यालय गइरहेको अवस्थामा वीरगन्ज-२ छपकैयाका दुई युवकले मुस्कानमाथि तेजाव प्रहार गरी गम्भीर घाइते बनाएका थिए । हाल मुस्कानको उपचार काठमाडौंको कीर्तिपुर अस्पतालमा भइरहेको छ । मुस्कानको अवस्था सधारोन्मुख छ । 

पछिल्लो पटक मुस्कान घटनाका अभियुक्तद्वय समसाद मिया र मजिद मियालाई सजायको सवालमा परिवारजनले चलखेल सुरु गरेपछि सासद यादवले प्रहरीसँग मुद्दाबारे जानकारी लिएका हुन् ।

पर्सा प्रहरीले पनि प्रारम्भिक अनुसन्धानको क्रममा समसादको उमेर १७ र मजिदको उमेर १६ वर्ष मात्र तोकेकोमा सांसद यादवले चिन्ता व्यक्त गरेका छन् । नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदनकुमार उपाध्याय, डेटिस्ट सोनी झा, अर्थोपेडिक डा. राजदेव कुशवाहा, रेडियोलोजिस्ट डा. विजयराज खनाल लगायतले मेडिकल रिपोर्टमा उमेर प्रमाणित गरिसकेका छन्। 

पर्सा प्रहरीले दशैँ विदालाई देखाउँदै अनुसन्धानमा ढिलाइ भएको जनाएर पर्सा जिल्ला अदालतमा मुद्दाको फाइल पेश नगरेको स्पष्टीकरण दिएको छ । पर्साका प्रहरी उपरीक्षक राठौरले पक्राउ परेका अभियुक्तलाई कानुन बमोजिम कारबाही गरिने आवश्वान दिए । 

उनले २२ देखि २५ दिन भित्र जुन पनि मुद्दा अनुसन्धान गरेर अदालतमा पेश गर्नु पर्ने नियम रहे पनि चाडपर्वले केही दिन ढिलाइ हुँदै ३७ दिन पुगेको बताए । आजभोलीमै मुद्दाको फाइल पेश हुने उनले जानकारी दिए ।

यससँगै स्कुल-क्याम्पसका छात्राहरुमाथि हुने गरेको दुर्व्यवहारका घटना तथा यौनजन्य हिंसा नियन्त्रणको लागि पर्सा प्रहरीले ठोस कदम चाल्नु पर्ने प्रहरी उपरीक्षक राठौरलाई सांसद यादवले आग्रह गरेका छन्। 

विर्तामा सञ्चालित हार्डवेयर पसले मनीषप्रसाद मण्डलको नाममा पक्राउ पुर्जी जारी भइसकेको प्रहरीले जनाएको छ। उनको खोजी भइरहेको प्रहरीले जनाएको छ। बिना स्वीकृति तेजाव तथा रसायनिक पदाथ बिक्री गरेको आरोपमा उनीमाथि ज्यानसम्बन्धी मुद्दा र तेजाव खुल्ला रुपमा बिक्री गरेको मुद्दा लगाइएको पर्सा प्रहरीले जनाएको छ। ज्यानसम्बन्धी मुद्दामा १० वर्ष कैद सजाय हुने व्यवस्था छ ।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.