नमीठो हारपछि मीठो बराबरी

|

काठमाडाैं : नेपालले सन् २०२२ को कतार विश्वकप छनोटको आफ्नो चौथो खेलमा मंगलबार बलियो टोली जोर्डनसँग उसकै मैदानमा प्रतिस्पर्धा गर्दैछ। यी २ टोली आमनेसामने भइरहँदा सबैको ध्यान ८ वर्षअघि अर्थात् २४-२८ जुलाई २०११ तर्फ मोडिएको छ।

विश्वकप छनोटमा सहभागिता जनाएको २६ वर्षको अवधिमा नेपालले खराब र उत्कृष्ट नतिजा निकाल्यो, त्यो पनि एउटै टोलीविरुद्ध ५ दिनको अन्तरमा। पहिलो लेगमा अम्मान रंगशालामा ९-० ले हारेको नेपाली टोलीले गृह मैदान दशरथ रंगशालामा बराबरी निकाल्ने कल्पना तत्कालीन समयमा नेपाली फुटबल विश्लेषकहरूले पनि गरेका थिएनन्।

म्याच फिक्सिङका कारण खस्कँदो नेपाली टोलीले निकालेको त्यो नतिजाले नेपाली फुटबलमा उतार-चढावको संकेत दिएको थियो। ब्राजिल विश्वकपका लागि दोस्रो चरणको छनोट खेलमा वरियताक्रममा ४५ स्थानमाथिको जोर्डनसँग नेपालले १-१ गोलको बराबरी खेल्यो।

जुन भरत खवासका लागि भाग्यशाली सावित बन्यो। राष्ट्रिय टोलीबाट खेलेको ११ वर्षको अवधिमा उनको त्यो नै सबैभन्दा अविस्मरणीय गोल बन्‍न पुगेको छ। 

पाँच दिनअघि अर्थात् २३ जुलाई २०११  नेपालले जोर्डनसँग उसको घरेलु मैदान अम्मान रंगशालामा भोगेको पराजय सन् १९९० को विश्वकप छनोटमा कोरियासँग एउटै खेलमा व्योहोरेको गोलसँग बराबरी पनि थियो।

१७ हजार जोर्डनी दर्शकमाझको पराजयले नेपाली फुटबलप्रेमीमा निराशा पैदा गरिदिएको थियो। एकपछि अर्को गर्दै नेपालको जाली चुम्दा खेल बाघ र बाख्राको लडाईं झैं देखिन्थ्यो।

अधिकांश समय गोलरक्षक किरण चेम्जोको गोल रोक्नमै व्यस्त थिए। तर २० हजार घरेलु दर्शकमाझमा पाँच दिनपछि जे भयो, त्यसको कल्पना न त तत्कालीन कप्तान सागर थापाले नै गरेका थिए, न प्रशिक्षक ग्राहम रोबर्टसले नै। अकल्पनीय बराबरीका नायक थिए भरत खवास। नेपाललाई मौसम र मैदानले पनि साथ दिएको थियो। वर्षाले हिलाम्मे बनेको मैदानमा भरतले ८० औँ मिनेटमा बराबरी गोल फर्काए। 

बैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका उनको गोलले नेपाललाई विश्वकप छनोटको तेस्रो चरणमा नपुर्‍याए पनि अवे मैदानको फराकिलो पराजयमा मल्हम लगायो। नवप्रवेशी इस्ट टिमोरमाथि दुवै लेगमा गरेर ७-१ गोल अन्तरको जित निकालेर पहिलो पटक नेपालले दोस्रो चरणमा प्रवेश पाएको थियो।

यसरी भएको थियो त्यो गोल

पहिलो हाफमा गोलरहित बराबरीमा रोकिएको जोर्डनले ६२ औं मिनेटमा फितलो मार्किङको फाइदा उठाउँदै सहिद मोहम्मद मुरजानको हेडर गोलबाट अग्रता बनाएको थियो। एक गोलले पछि परेको नेपाली टोलीमाथि जोर्डनले दबाब बढाइरहेको थियो। तर हिलाम्मे मैदानको फाइदा नेपाली टोलीले उठायो।

मैदानका कारण जोर्डनका खेलाडीले बललाई आफ्नो पकडमा राख्‍न असफल भइरहँदा नेपालले त्यसको फाइदा उठाइरहेको थियो। ६६ औं मिनेटमा बिराज महर्जन र भोला सिलवालको स्थानमा जुमानु राई र भरत मैदान प्रवेश गरेका थिए।

८० औं मिनेटमा सन्दीप राईले फ्री किकमार्फत सन्तोष साहुखललाई पास दिएका थिए। सन्तोषले पेनाल्टी बक्स बाहिर रहेका सुजल श्रेष्ठलाई क्रस पास दिए। तर सुजलभन्दा पहिला अनमार्क रहेका भरतले प्रहार गरिदिए। उनको प्रहार गोलरक्षक इलामैरेलाई बिट गर्दै जाली चुम्दा दर्शकको तालीले दशरथ रंगशाला गुञ्जयमान भएको थियो। 

यसरी सम्झन्छन् भरत

‘जोर्डनको मैदानमा ९-० को फराकिलो अन्तरले हाम्रो मनोबल गिरेको थियो। घरेलु मैदानमा बराबरी वा कम गोल खाने रणनीति थियो’ भरत भन्छन्, 
‘घरेलु दर्शकको साथले मनोबल बढेको थियो। मैले पाएको त्यो अवसरलाई पूर्ण सदुपयोग गरिदिएँ।’ दुवै लेगको खेलमा भरत सब्स्टिच्युट खेलाडीको रुपमा बेञ्चमा थिए।

‘सन्दीप दाइ (सन्दीप राई) को फ्री किकमा सन्तोष साहुखलले सुजल भाइ (सुजल श्रेष्ठ) लाई पास दिएका थिए। तर मैले भाइ छाड्दे भनेर कल गरेपछि उसले छाडयो, स्पिडमा थिएँ मार्क नै नरहेको अवस्थामा आएर हानेको गोल भयो’ उनी सम्झन्छन्, ‘त्यो गोल गरेपछि हजारौं दर्शकबीचको खुशीको म वर्णन नै गर्न सक्दिनँ।’

जोर्डनविरुद्धको ऐतिहासिक नतिजाका नायक भरत ८ वर्षपछि अम्मान रंगशालाको बेञ्चमासमेत देखिने छैनन्। केही समस्या र फिटनेसका कारण भरतलाई राष्ट्रिय टोलीबाट केही समय आराम दिइएको छ। जोर्डनविरुद्ध सुरुवाती ११ मा स्थान बनाएका पूर्वकप्तान बिराज मर्हजन पनि नेपाली टिमबाट देखिने छैनन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.