१५ दिनभित्र काम सुरु गर्नुपर्ने
१५ दिनभित्र काम सुरु गर्नुपर्ने
काठमाडौं : सिंहदरबारको पश्चिमी मोहडाको प्रबलीकरणका लागि ठेक्का सम्झौता भएको छ। सरकारले देशको मुख्य प्रशासनिक केन्द्रका चारै मोहडा प्रवलीकरण अघि बढाइरहेको छ।
प्रबलीकरण कार्यान्वयनको जिम्मेवारी लिएको प्राधिकरणअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन) र शर्मा-गौरी पार्वती-न्यू टेक्निकल जेभीबीच सोमबार सम्झौता भएको हो।
सम्झौतामा इकाईका तर्फबाट आयोजना निर्देशक नवराज प्याकुरेल र जेभीका तर्फबाट लक्ष्मीप्रसाद सुवेदीले हस्ताक्षर गरेका छन्। जेभीले भ्याटबाहेक ४१ करोड ७९ लाख रुपैयाँमा प्रबलीकरणको ठेक्का पाएको छ। सम्झौताअनुसार जेभीले १५ दिनभित्र प्रबलीकरण कार्य सुरु गर्नेछ।
आयोजना निर्देशक प्याकुरेलले सिंहदरबारको मौलिक स्वरुप कायम राखी भूकम्पअघिको भन्दा मजबुद हुने गरी प्रबलीकरण गरिने जानकारी दिए।
ठेक्का कम्पनीका प्रतिनिधि सुवेदीले तोकिएको गुणस्तरमा समयभित्रै प्रबलीकरण गर्ने प्रतिबद्धता गरे। प्रबलीकरणको परामर्शदातामा आइआरसी-इकोकोड नेपाल जेभी छनौट भएको छ।
राणा प्रधानमन्त्री चन्द्रशमशेरको पालामा निर्माण गरिएको सिंहदरबारको यो खण्ड २०३० को आगलागीबाट बचेको भाग हो। उक्त आगलागीबाट उत्तर, पूर्व र दक्षिण मोहडा जलेर नष्ट भएको थियो, जसको पुनर्निर्माण गरिएको थियो। सिंहदरबारको उत्तर, पूर्व र दक्षिण मोहडाको प्रबलीकरणको ७० प्रतिशत काम सकिएको पुनर्निर्माण प्राधिकरणले जनाएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।