वातवरण बन्दै गएकाले लगानी ल्याउने प्रतिवद्धता

|

काठमाडौं : गैरआवासीय नेपाली संघको आगामी नेतृत्व हत्याउन दुई समूह सक्रिय भएका छन्। यी दुई समुहले प्यानल नै बनाएर नवौँ विश्व सम्मेलनका प्रतिनिधिहरूको ध्यान तान्ने कोशिश गरिरहेका छन्। एनआरएनएको नवौँ अन्तराष्ट्रिय सम्मेलनले आगामी नेतृत्व छनोट गर्ने छ। अध्यक्षका लागि दुई वर्तमान उपाध्यक्षहरू मैदानमा उत्रिने करिब पक्का पक्की छ।

अध्यक्षका उम्मेदवारहरूले एनआरएनएको उचाइ थप माथि पुर्‍याउने, नेपालमा लगानी ल्याउने र संगठनलाई व्यवस्थित गर्ने योजना ल्याएका छन्। उनीहरूले पुँजी मात्रैले देश समृद्ध नहुने बताउँदै ज्ञान र सीप बढाउने योजना पनि अघि सारेका छन्।

एनआरएनलाई बलियो बनाउने सवालमा अध्यक्षका उम्मेदवार कुमार पन्त भन्छन् ‘गैरआवासीय नेपाली संघको सदस्यतालाई व्यापाक बनाउनु पर्नेछ, पञ्जीकृत सदस्य ल्याउँदा तिर्नुपर्ने दस्तुर इत्यादि कारणले सदस्यता घटेको छ। अब 'फ्री अफ चार्ज' पञ्जीकृत सदस्य दिन सदस्यता विस्तार गरिन्छ, त्यसपछि संस्था बलियो हुन्छ।’

अध्यक्षका अर्का उम्मेदवार कुल आचार्य सबैले अपनत्व महसुस गर्न सक्‍ने साझा संस्थाका रुपमा एनआरएनएलाई अघि बढाउन सक्नुपर्ने प्रतिक्रिया दिन्छन्। ‘सबैले अपनत्व महसुस गर्न सक्ने साझा संस्थाका रूपमा विकास गर्नुपर्छ। यदाकदा एनआरएनए व्यापारीहरुको संस्था बन्यो भन्ने पनि चिन्ता सुनिएको छ,’ आचार्यले भने।

दुवैले वैदेशिक रोजगारीलाई व्यवस्थित गराउनुपर्ने बताएका छन्। ‘वैदेशिक रोजगारीलाई सुरक्षित र मर्यादित बनाउन जरूरी छ। त्यसका लागि सीप विकास केन्द्र खोल्नेदेखि लिएर खाडी लगायतका जुनसुकै ठाउँका गैरआवासीय नेपालीले संस्थामाथि सुखदु:खमा भरोसा गर्न सक्नुपर्छ’ आचार्यले भने, 'यसै उद्धेश्‍यले ‘पसिना फण्ड बनाउने घोषणा मरो तर्फबाट गरिसकेको छु।’

यसबारे अध्यक्षका अर्का उम्मेदवार पन्तले भएकै फण्डलाई बलियो बनाउने नीति लिएका छन्। ‘यति ठूलो संख्यामा श्रमिक साथीहरू विदेशी बजारमा हुनुहुन्छ, दैनिक अंग-भंग र मृत्यु हुने संख्या बढी छ', उनी भन्छन्, 'साथीहरूको उद्वार कसरी गर्ने? मृत्यु भएकाको शव कसरी लिएर स्वदेश फर्काउने? यही चिन्ताले श्रमिक कल्याणकारी कोष स्थपना गरेका छौँ। त्यसलाई ठूलो बनाइने छ,’ पन्तले भने।

आचार्यले  विदेशमा रहेको सीप र पुँजीलाई नेपालको अधिकतम् विकासमा लगाउने, विदेशका दोश्रो पुस्ताका नेपालीलाई नेपालसँग जोडने लगायतका कार्यक्रम प्रभावकारी बनाउन संघको भूमिका थप उच्च बनाउन सकिने बताए। पन्त यस्ता कामको थालनी गरिएकाले थप विस्तार गरिँदै जाने योजना सुनाउँछन्।

नेपालमा लगानी गर्न कति सहज?

अध्यक्षका दुवै उम्मेदवारले नेपालमा लगानीको वातवरण बनेको बताएका छन्। ‘नेपालमा अहिले लगानी ल्याउन केही गाह्रो छैन,’ पन्त भन्छन् ‘ केही समस्या छन् भने नेपाल सरकारले समाधान गर्ने भनेको छ। गैर-आवसीय नेपाली संघ लगानी ल्याउन सरकार पोजेटिभ छ भन्ने अर्थमा बुझेका छौँ। भएका समस्या पनि सामधान गर्न सरकार तयार छ भन्ने पाएका छौँ।’

तुलनात्मक रुपमा लगानीको वातवरण बनेको आर्चाय पनि बताउँछन्। तर अपेक्षित सुधार हुन नसकेको आचार्यको बुझाइ छ। ‘तुलनात्मकरूपमा नेपालमा लगानीको वातावरण सुधारात्मक छ, तर पर्याप्त छैन। अहिले म नेपालमै बसेर २ मिनेटमा बेलायतमा कम्पनी खोल्न सक्छु', उनी भन्छन्, 'तर नेपालमा आउने लगानीकर्ताले प्रशासनिक र प्रक्रियागत झमेला भोग्नुपर्छ।‘

आचार्यले लगानी गर्दा राम्रो हुन्छ भन्ने नहुन्जेल लगानी नभित्रिने सुनाए। ‘नेपालमा लगानी गर्दा राम्रो हुन्छ भन्ने लगानीकर्तामा विश्वास नभएसम्म लगानी भित्रिँदैन। त्यसकारण पहिले समस्या हटाउनुपर्छ', उनी भन्छन्, 'बढीभन्दा बढी मुलुकहरुसँग द्विपक्षीय लगानी प्रवर्द्धन तथा परियोजना सहमतिका साथै दोहोरो करमुक्ति सम्झौता गर्ने, नेपालका सबै नियोगहरुमा एनआरएनए आइसीसीलाई समावेश गरि स्थायी प्रकृतिको आर्थिक-कुटनीतिक समिति बनाएर नेपालमा लगानी प्रवर्धन सहितका काम गर्नुपर्छ।‘

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.