अर्थ

डडेल्धुराको भित्रीमधेसमा व्यवस्थित हुँदै ‘दुग्ध उत्पादन’
SHARES

असोज २८, २०७६

    डडेल्धुरा : डडेल्धुराको भित्रिमधेश क्षेत्रमा उत्पादन हुने दुग्ध उत्पादन पछिल्लो समयमा व्यवस्थित हुँदै गइरहेको छ। परशराम नगरपालिका र आलिताल गाउँपालिकाका विभिन्न समुदायमा उत्पादन हुने गरेको दूधको व्यवस्थित बजारीकरणपश्चात किसान तथा दूध संकलकले राहत महसुस गरेका हुन्।

    यस क्षेत्रमा व्यक्तिगत एवं सामूहिक रूपमा उत्पादन गरिएका दूध संकलन गर्नको लागि परशुराम नगरपालिका र आलिताल गाउँपालिकामा विगत ३ वर्षदेखि ४ वटा दुग्ध संकलन केन्द्र सञ्चालन भएकोमा यो वर्ष थप २ स्थानमा दुग्ध संकलन केन्द्र स्थापना भई जम्मा ६ वटा दुग्ध संकलन केन्द्र सञ्चालनमा रहेका छन्।

    करिब २५० घरधुरीले उन्नत जातका गाइभैँसी पालन गरी दुग्ध उत्पादन सुरु गरेकोमा हाल प्रत्येक दिन २५०० देखि तीन हजार लिटरको हाराहारीमा दूध संकलन हुने गरेको छ। गाईपालन तथा दूध संकलन केन्द्र सञ्चालनका लागि मर्सिकोर नेपाल, नेपाल रेडक्रस सोसाइटी, एकीकृत विकास समाज र तत्कालीन जिल्ला पशुसेवा कार्यालय, डडेल्धुराको आर्थिक तथा प्राविधिक सहयोग उपलब्ध गराइएको हो।

    करिब ७ वर्ष पहिले ६ वटा समुदायबाट सुरु गरिएको उन्नत गाइभैँसी पालन अहिले यस क्षेत्रका करिब २५ समुदायमा फैलिएको छ भने यहाँ उत्पादन गरिएको दूध यस क्षेत्रमा मात्र नभई छिमेकी कैलालीको विभिन्न डेरीमार्फत बजारसम्म पुग्ने गरेको गोदाम संकलन केन्द्रका सञ्चालक जयबहादुर बोहराले बताए।

    दूध संकलनलाई व्यवस्थित गर्नका लागि मर्सिकोर नेपाल, एकीकृत विकास समाज, पशु अस्पताल तथा विज्ञ केन्द्र, स्थानीय वडा, गाउँपालिका तथा नगरपालिका, पशु विकास शाखा तथा अन्य संघसंस्थाहरुले सहयोग गरिरहेको उनको भनाइ छ। दुग्ध संकलन केन्द्रमा संकलन भएको दूध कैलालीमा रहेका खप्तड डेरी तथा दुग्ध विकास संस्थानले खरिद गर्ने गरेको उनले जानकारी दिए।

    हाल भित्री मधेस क्षेत्रको आलिताल गाउँपालिका-६ को धिमडा, वडा नं. ४ घरेलु बजार, वडा नं. ८ को गोदाम बजार र मौरी बजार, परशुराम नगरपालिकाको वडा नं.१० गाईबाधे र वडा नं.१२ को तुलाभाडीमा दुग्ध संकलन केन्द्रले दैनिक किसानको दूध संकलन गरिरहेको छ। निकट भविष्यमै आलिताल गाउँपालिका-७ भाडीमा पनि दुग्ध संकलन केन्द्रको स्थापना गरिने जनाइएको छ। यसले यस क्षेत्रका दुग्ध उत्पादन किसानलाई थप सहज पुग्ने अपेक्षा लिइएको छ।

    यस क्षेत्रमा उत्पादन हुने दूधको सहज आपूर्तिको लागि आलिताल गाउँपालिका, युनडिपी, सिड्स नेपाल, मर्सिकोर नेपाल, एकीकृत विकास समाज, दुग्ध विकास संस्थानको साझेदारी तथा संयुक्त लगानीमा ६ हजार ५ सय लिटर क्षमताको दूध बोक्ने टयांकर खरिद प्रक्रिया अगाडि बढाइएको छ। दूध बोक्ने टयांकर खरिद गरिएपछि जुनसुकै सिजनमा पनि किसानको दूध बिक्री हुनेमा आफू ढुक्क रहेको आलिताल गाउँपालिका-५ का किसान कलावती नाथले बताइन्।

    किसानको हकहितका लागि विभिन्न निकायसँगको साझेदारीमा सुदूरपश्चिम प्रदेशमा पहिलो पटक दूध टयांकर खरिद गर्न लागिएको आलिताल गाँउपालिकाका अध्यक्ष बलबहादुर गुरुङले बताए।

प्रकाश पार्की

पार्की थाहा खबरका डडेल्धुरा समाचारदाता हुन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]