|
फाइल फोटो

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारी बुधबार म्यान्मारको भ्रमणमा जाँदैछिन् । राष्ट्रपति भण्डारीले म्यान्मार गणतन्त्र सङ्घका राष्ट्रपति ऊ विन मिन्तको मैत्रीपूर्ण निमन्त्रणामा असोज २९ देखि कात्तिक ३ सम्म त्यहाँको राजकीय भ्रमण गर्नेछिन्।

राष्ट्रपतिको प्रतिनिधिमण्डल बुधबार बिहान १०ः४० बजे  थाइ एयरलायन्सबाट बैंकक हुँदै म्यान्मारको राजधानी नेपित जाने राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए। 

भ्रमणका अवसरमा राष्ट्रपति भण्डारीले आफ्ना समकक्षी मिन्तसँग द्विपक्षीय वार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ। राष्ट्रपति भण्डारीसँग म्यान्मारका स्टेट काउन्सिलर आङ सान सु चीले भेट गर्ने कार्यक्रम रहेको छ। 

राष्ट्रपति भण्डारी र उनको प्रतिनिधिमण्डलको सम्मानमा म्यान्माली राष्ट्रपति मिन्तले राजकीय भोजको आयोजना गर्ने कार्यक्रम रहेको छ। म्यान्मारमा रहँदा राष्ट्रपति भण्डारीले नेपाली मुलका नागरिकसँग पिन ओ लिनमा भेटघाट गर्नाका साथै युनेस्कोको विश्व सम्पदा बगान र यङ्गोनको भ्रमण गर्ने जनाइएको छ । यङ्गोनमा उनले ऐतिहासिक एवं सांस्कृतिक महत्वका स्थानको भ्रमण गर्नेछिन्।

राष्ट्रपति भण्डारीको प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, परराष्ट्र मन्त्रालय र  राष्ट्रपति कार्यालयका सचिव, राष्ट्रपति कार्यालय र परराष्ट्र मन्त्रालयका उच्चपदस्थ अधिकारी तथा सञ्चारकर्मी रहने मन्त्रालयले जनाएको छ। 

दक्षिण एसियाको नेपाल र दक्षिणपूर्वी एसियामा पर्ने म्यान्मार र दुवै बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)का सदस्य हुन्। नेपालसँग म्यान्मारको सम्बन्ध १५० वर्ष पुरानो छ। बौद्धधर्मले दुवै देशलाई अझै निकट बनाएको छ। दुई देशबीच सन् १९६० मार्च १९ (२०१६ चैत ६) राजदूतस्तरमा कूटनीतिक सम्बन्ध स्थापना भएको हो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.