अनुमति पाए तामा झिक्‍न तयार छौँ : विदेशी कम्पनी

|

 म्याग्दी : पश्चिम म्याग्दीको मालिका गाउँपालिका–४ ओखरबोटको भीरखानीमा रहेको विशाल  तामाखानी अलपत्र अवस्थामा रहेको छ।

२०३० सालमा तत्कालीन राजा वीरेन्द्रले अवलोकन भ्रमणमा नेपालकै उत्कृष्ट तामाखानी घोषणा गरी सञ्‍चालनमा ल्याउन हुकुम गरेको सो तामाखानी अझसम्म पनि सञ्‍चालनमा आउन नसक्दा राज्यले वार्षिक करोडौंको राजस्व गुमाएको छ भने स्थानीयहरु रोजगारीबाट वञ्चित भएका छन्।

वि.सं २००९ सालदेखि २०२८ सालसम्म नियमित सञ्‍चालनमा रहेको र त्यसपछि खानी खन्ने सुरुङमा पानी भरिएपछि प्रविधिको अभावमा खानी खन्न बन्द गरिएको २०१७ सालदेखि २०२८ सालसम्म नियमित खानी खनेर तामा निकालेका ओखरबोटका ७९ वर्षिय दलबहादुर पटेलले बताए।

२०२८ सालसम्म यस तामाखानीमा दैनिक २ सयभन्दा बढी कामदरले काम गर्नुका साथै प्रत्येक दिन ७/८ धार्नीसम्म तामा निकाल्ने गरिएको पटेलले बताए।

२०२६ सालमा भारतको विडला कम्पनीबाट प्राविधिक झिकाइ खानीको अवस्था बुझ्दा प्राविधिकहरूले त्यहाँ सुन खानी पनि हुनसक्ने बताएका तामाखानीका तत्कालीन ठेकेदार हाल मालिका गाउँपालिका ४ ओखरबोटका वडाअध्यक्ष दिलीप शेरचनले जानकारी दिए।

त्यसको ४ वर्षपछि स्व. राजा वीरेन्द्र रानी ऐश्वर्यसहित २०३० साल मंसिर ७ गते तामाखानी अवलोकनका लागि ओखरबोटमा आएका र खानीलाई व्यवस्थित रुपमा संचालन गर्न हुकुम भएको उनको भनाइ छ।

प्रविधि र उपकरण अभावमा खानी बन्द : वडाध्यक्ष

त्यसपछि २०४२ सालसम्म फाट्टफुट्ट स्थानीयले खानी खनेर तामा निकाली बिक्री गर्दै आएकोमा : २०४२ सालमा  सरकारले कर वृद्धि गरेपछि कर तिर्नसक्ने अवस्था नहुँदा र तामाखानीबाट तामा निकाल्ने प्रविधि तथा उपकरणको अभावमा खानी बन्द गर्नुपरेको वडाअध्यक्ष शेरचनको भनाइ छ। त्यतिबेला अहिलेका वडाअध्यक्ष शेरचनले नै लाइसेन्स लिई खानी सञ्‍चालन गर्ने ठेक्का लिएका ओखरबाटका ८३ वर्षीय दिलबहादुर घर्तीमगरले जानकारी दिए।

घर्तीमगरका अनुसार तामाखानीमा दुईवटा मुहान रहेका छन्। ती मुहानहरुको लम्बाइ २५० देखि ५ सय मिटरसम्म रहेको छ। त्यहाँ अझैसम्म पनि तामाका धाउहरु देख्‍न सकिने घर्तीमगरले बताए।

स्थानीय तहको निर्वाचन पछि वडाअध्यक्ष शेरचनले गाउँपालिकाको सिफारिससहित ५ पटकसम्म काठामडौंस्थित खानी विभागमा गई खानी सञ्‍चालनको लागि अनुमति माग्दा सरकारले अनुमति नदिएका कारण खानी सञ्चालनमा आउन नसकेको बताए। ‘खानी संचालनका लागि मैले धेरै प्रयास गरें, अध्यक्ष शेरचनले भने ‘तर, सरकारले खानी सञ्‍चालनको अनुमति दिएन।

तामाखानीलाई राजनीतिक दलका नेताले स्थानीय तह, प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनमा आफ्नो चुनावी एजेन्डा बनाए। गाउँमा चुनावी भाषण गर्न गएका जिल्लादेखि स्थानीय नेताहरुले एउटै स्वरमा तामाखानीका बारेमा गरेका प्रतिबद्धता पूरा नहुँदा स्थानीय निराश छन्।

ओखरबोट गाउँबाट २० मिनेटको दूरीमा  २ वटा तामाखानी रहेका छन्। दुईवटा खानीको करिब दुई किलोमिटरको सुरूङ खनेर २०२८ सालसम्म नियमित सञ्चालन गरिए पनि सरकारी उपेक्षा र आधुनिक प्रविधिको अभावमा कारण बन्द भएको तामाखानीका बारेमा एकबर्ष यता धेरै बोले पनि काम नभएको स्थानीय बुद्धिजीवि एवम् शिक्षक नविन पुनले बताए।

सरकारी निकायबाटै असहयोग

खानी उत्खननका क्रममा प्रयोग गरिएका सामाग्री, पुराना काठका साथै खानीलाई बलियो बनाउन पुराना ढुंगाहरू समेत खानीभित्र रहेका छन्। यता, मालिका गाउँपालिकका अध्यक्ष श्रीप्रसाद रोकाले प्रयास भए पनि सरकारी निकायबाट असहयोग रहेको बताए। खानी तथा भूगर्भ विभागबाट प्रक्रियालाई व्‍यवस्थित बनाउन प्रदेश सरकारले खानी सम्बन्धित कानुन बनाउनुपर्ने जवाफ दिएको अध्यक्ष रोकाले बताए।

चुपचाप स्थानीय तह

स्थानीय तहको निर्वाचनताका खानी सञ्‍चालनको विषयमा निकै जोडतोडको साथ उठाइएको मुद्धा निर्वाचनबाट  चुनिएका जनप्रतिनिधिले खासै चासो नदिएको स्थानीयको भनाइ छ। स्थानीय संचारकर्मी जगदीश रसाइलीले खानी सञ्‍चालनका लागि स्थानीय जनप्रतिनिधिले दबाबमूलक कुनै काम गर्न नसकेको बताए।

उसो त वडा अध्यक्ष दिलीप शेरचन तामा खानीका पुराना ठेकेदार पनि भएकाले त्यसवाट प्राप्त आम्दानीको उनलाई राम्रैसँग थाहा छ। व्यक्तिगत रुपमा वडाअध्यक्ष शेरचनले खानी संचालनका लागि पहल गरिरहेको बुझिए पनि वडावासी र  गाउँपालिकाका अन्य जनप्रतिनिधिसँग समन्वय भने नगरिएको आरोप लाग्दै आएको छ।

वडाअध्यक्ष शेरचनकै भनाइलाई आधार मान्ने हो भने पनि यो तामाखानीबाट वार्षिक करोडौं मूल्यको तामा उत्खनन गर्न सकिने सम्भावना रहेको छ। अहिलेसम्म पनि खानी खन्न बनाइएको ५ सय मिटर सुरुङभित्र तामाका धाउहरु प्रशस्तै देख्न सकिन्छ।

मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले ओखरबोटको तामा खानी सञ्‍चालन गर्न प्रविधि र जनशक्तिको आवश्यकता रहेको बताए। ‘स्थानीय तह खानी सञ्‍चालन गर्न तयार छ, तर सरकारी अनुमति र प्रविधि नै मुख्य समस्याको रूपमा रहेको छ, उनले भने।

विदेशी कम्पनीहरू आकर्षित

 पछिल्लोपटक म्याग्दीस्थित थाहा सम्वाददाता रिपोर्टिङका लागि असोज २६ गते ओखरबोटको तामाखानीमा पुग्दा दुईसाता अघि चिनियाँ कम्पनीका ६ जना व्यक्ति खानीको निरीक्षण गरी फर्किएका थिए। स्थानीय बुद्धिजीवि नवीन पुनका अनुसार उनीहरूले दुई दिनसम्म खानीको निरीक्षण गरे र दोभाषेमार्फत खानीको इतिहास र  खानी रहेको ठाउँको भूगोलको बारेमा जानकारी लिएर फर्किए।

गत मार्चमा नर्वेबाट पनि एक टोली खानीको अवलोकनका लागि आएको पुनले जानकारी दिए। उनीहरूले प्रक्रिया पुर्‍याएर स्थानीय सरकारले खानी खन्न अनुमति दिए आफूहरु तयार रहेको प्रतिक्रिया दिएका पुनले बताए।

चिनियाँ टोलीले खानीबाट निकालिएको तामा लगेर परीक्षण गर्दा सो तामा उत्कृष्ट देखिएको र केही समयपछि तामा उत्खननका लागि नेपाल आउने बताएको चिनियाँ टोलीलाई सहयोग गर्दै आएका व्यवसायी डम्मर सापकोटाले जानकारी दिए।

यस्तो छ तामाखानी

यातायातका साधनमार्फत म्याग्दीको सदरमुकाम बेनीबाट करिब ४ घण्टाको यात्रापछि पुगिन्छ ओखरबोट गाउँ। गाउँको सिरानमा भीरखानी  जंगल छ। जंगलको फेदीमा नै चिस्यानयुक्त ठाउँको करिब २ किलोमिटर क्षेत्रमा तामाखानी छ।

तत्कालीन समयमा तामा उत्खननका लागि निकै ठूलो मिहिनेत गरेको तामा खन्न प्रयोग गरेको सुरुङ देख्दा नै स्पष्ट हुन्छ। छिना र मार्तलको प्रयोग गरेर तामा निकाल्न त्यतिबेला कसरी सम्भव भयो होला भन्ने प्रश्न उब्‍जन्छ।

सुरुङभित्र टाउको निहुराएर, खुट्टा खुम्चाएर हिँड्नुपर्छ। सुरुङको दायाँबायाँ तामाको धाउहरु प्रशस्तै भेटिन्छन्। करिब ५० मिटरको अन्तरमा दुईवटा सुरुङहरु रहेका छन्। माथिल्लो सुरुङको तुलनामा तल्लोपट्टि रहेको सुरुङ अत्यन्तै कठिन र जोखिमयुक्त छ।

सुरुङ प्रवेश गरेपछि पानीको ताल, चमेरा र विभिन्न किसिमका जलचर प्राणीको आक्रमण सुरु हुन्छ। जतिजति सुरुङको अघि बढ्दै गयो त्यति नै सुरुङमा तामाको धाउहरु भेटिन्छन्।

स्थानीय पाँच जना व्यक्तिहरु तामा खानीभित्र प्रवेश गर्दा त्यहाँ तामाको टुक्रा र धाउहरु प्रशस्तै भेटिएका थिए। तामा खनेल स्थानीय दलबहादुर पटेलले सुरुङभित्र रहेका तामाका धाउहरु देखाउँदै भने, ‘यहाँ अझै पनि प्रशस्त स्तरीय तामाको खानी छ।'

खानीभित्र चमेराको राज

भिल्लाको देशमा मणिको नियति भोग्न बाध्य भएको ओखरबोटको तामा खानीमा चमेराको रजाइँ छ। व्यवस्थित रुपमा उत्खनन गर्ने हो भने अर्बौंको तामा निकाल्न सकिने सम्भावना रहेको अमूल्य खजानामा चमेरो र जलचर प्राणीहरु रमाइरहेका छन्।

खानीको सुरुङभित्र प्रवेश गरी अघि बढ्दै जाँदा चमेराको आक्रमण पनि बढ्दै जान्छ। अँध्यारो सुरुङमा टर्च लाइट बालेर अगाडि बढ्दै गर्दा चमेरोको आक्रमण तीव्र हुँदै जान्छ।

खानीभित्र तालै ताल

खानी खनेल दलबहादुर पटेलले सुरुङभित्र पानीको सतह बढ्दै गएपछि तामा उत्खननमा समस्या भएको भनाइ पुष्टि गर्न खानीभित्र रहेका तालहरु पर्याप्त छन्। पाँच सय मिटर लम्वाइको सुरुङको १ सय ५० मिटरभित्र पुगेपछि पानीको तालै ताल भेटिन्छन्। कम्मरसम्मको भाग पानीमा डुबेपछि त्यसभन्दा अघि बढ्ने आँट आउँदैन।

थाहा सम्वाददातासँग सुरुङभित्र प्रवेश गरेका स्थानीय दलबहादुर पटेल, नवीन पुन, दिलबहादुर घर्ती मगर, जगदीश रसाइली लगायतका स्थानीय उपल्लो खानीमा करिब दुई सय मिटर र तल्लो खानीमा २ सय ५० मिटरभित्र प्रवेश गरेको थियो। उपल्लो खानीको तुलनामा तल्लो खानीमा जोखिम पनि धेरै र तामाको सम्भावना पनि बढी रहेको पटेलले बताए।

आधुनिक प्रविधिको प्रयोगविना सम्भव छैन

भनिन्छ ‘जहाँ जोखिम हुन्छ,त्यहाँ फाइदा पनि उत्तिकै हुन्छ। ओखरबोटको तामा खानी पुरानै प्रविधि र जनशक्तिबाट अव सम्भव छैन। किनभने, सम्भव हुने र पुरानो प्रविधि (छिना, मार्तल आदि) को प्रयोग गरेर तामा निकाल्न सकिने ठाउँसम्मको तामा निकालिसकिएको छ। अब आधुनिक प्रविधिको प्रयोग गरेर तामा खानीलाई व्यवस्थित रुपमा सञ्‍चालन गर्नुको विकल्प छैन।

खानी भएको ठाउँसम्म मेसिनेरी सामानहरुको सहज पहुँच पुग्ने गरी सुविधा युक्त मोटरबाटो पहिलो आवश्यकता देखिएको छ। चिनियाँ प्रयोगशालामा परीक्षण गरिएको नतिजा यदि सत्य हो भने यहाँको खानीबाट निकालिएको  तामा विश्वकै उत्कृष्ट तामा ठहर भएको छ।

खानी सञ्‍चालन गर्न विदेशी (विशेष गरी चिनियाँ)हरु तयार देखिएका छन्। उनीहरुलाई प्रक्रिया पुर्‍याएर देशलाई फाइदा पुग्ने गरी ठेक्कामा दिने हो भने यहाँबाट वार्षिक करोडौं रुपैयाँ देशलाई राजस्व प्राप्त हुने बलियो सम्भावना रहेको स्थानीयवासीहरुको भनाइ रहेको छ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.